चुनाव घोषणा नहुँदै रास्वपाले खुलायो उम्मेदवारका लागि आवेदन

देशभरका २७६ नगरपालिकाका विभिन्न १६ हजार १४७ पदका लागि उम्मेदवार छनोट गरिने

शनिबार, १ कार्तिक, २०८३
प्रिन्ट संस्करण

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’का लागि आवेदन खुलाएको छ । स्थानीय तह निर्वाचनको घोषणा नहुँदै रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको हो । यससम्बन्धी जानकारी पार्टीको वेबसाइटमा राखिएको छ ।

आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यका रूपमा उम्मेदवारी दिन इच्छुकले आवेदन दिन सक्ने गरी रास्वपाले प्रक्रिया खुलाएको हो । प्रवक्ता जगदीश खरेलले शुक्रबारदेखि सुरु भएको आवेदन प्रक्रियामा इच्छुकले पार्टीको आधिकारिक मोबाइल एपमार्फत आवेदन दिन सक्ने बताए । 

स्थानीय तहमा इमानदार, सक्षम र स्पष्ट योजनासहित काम गर्न इच्छुक नयाँ नेतृत्वलाई अघि बढाउन पार्टीले क्यान्डिडेट क्लबमार्फत आवेदन खुलाएको महामन्त्री विपिन आचार्यले बताए । 

आवेदन प्रक्रियामार्फत देशभरका २७६ नगरपालिकाका विभिन्न १६ हजार १४७ पदका लागि उम्मेदवार छनोट गरिनेछ । नगरप्रमुख र उपप्रमुखमा २७६–२७६ जना, वडाध्यक्षमा तीन हजार ११९ जना र वडासदस्यमा १२ हजार ४७६ जनाले आवेदन दिन सक्नेछन् । यसअघि रास्वपाले १ भदौदेखि गाउँपालिका क्यान्डिडेट क्लबअन्तर्गत अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य पदका लागि पनि आवेदन खुलाइसकेको छ । 

रास्वपाका अनुसार आवेदन दिन चाहने व्यक्ति कानुनबमोजिम उम्मेदवार बन्न योग्य भएको, पार्टीको साधारण सदस्य रहेको तथा पार्टीको विचार, सिद्धान्त र नीतिलाई समर्थन गर्ने हुनुपर्नेछ । त्यसैगरी, आफू वा आफ्नो एकाघरको परिवारको सदस्य उम्मेदवार बन्न चाहेको पालिका वा वडामा विकास निर्माण, ठेक्कापट्टा वा सार्वजनिक आपूर्तिसम्बन्धी व्यावसायिक संलग्नता भए–नभएको खुलाउनुपर्नेछ । 

अदालत वा अन्य न्यायिक निकायमा कुनै फौजदारी, भ्रष्टाचार वा ठगीसम्बन्धी मुद्दा विचाराधीन भए त्यसको विवरण र वैवाहिक अवस्थासम्बन्धी कानुनी स्पष्टता पनि आवेदनमा उल्लेख गर्नुपर्नेछ ।

आवेदन दिएपछि आकांक्षीहरूले नेतृत्व एकेडेमीको प्रशिक्षण, आधारभूत योग्यता परीक्षण र पार्टीको आन्तरिक मूल्यांकन प्रक्रिया पार गर्नुपर्नेछ । यी प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम उम्मेदवार छनोट गरिने रास्वपाले जनाएको छ ।
 

सुझावित समाचार