लागुऔषध मुद्दामा रास्वपा नगर सभापति पक्राउ

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

लहान/ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरीको सुरुंगा नगर सभापति लागुऔषध गाँजा मुद्दामा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय लहान र सप्तरीको भेडियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार बिहान करिब ११ बजे रास्वपाका नगर सभापति ४८ वर्षीय मोहम्मद साबिर अलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

लागुऔषध गाँजा मुद्दाको अनुसन्धानका क्रममा सिराहा जिल्ला अदालतबाट ०८१ फागुन १५ गते पक्राउ पुर्जी जारी भएका उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

सप्तरीको सुरुंगा नगरपालिका–५, कुसहा घर भएका अलीको खोजीका लागि प्रहरीले व्यापक प्रयास गरिरहेको भए पनि नगर सभापति बनेपछि उनी प्रहरी बिटनजिकै रहेको पार्टी कार्यालयमा आउजाउ गरिरहेको जनाइएको छ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेर रास्वपा प्रवेश गरेका उनले निर्वाचनपछि रास्वपाको सरकार बनेसँगै ‘हाम्रै पार्टीको सरकार छ, मलाई कसले के गर्न सक्छ’ भन्दै शक्तिको आडमा खुलेआम घुमफिर गर्दै आएको स्थानीय बताउँछन्।

०८१ मंसिर २९ गते साँझ करिब ६ बजे पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइल चोकमा मालवाहक ट्रक र कार ठोक्किँदा एक क्विन्टलभन्दा बढी गाँजा बरामद भएको घटनामा उनको संलग्नता रहेको बताइएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ३ ख ७५९१ नम्बरको मालवाहक ट्रक र उत्तरतर्फबाट आएको बा. ८ च ९९६३ नम्बरको कार जिरोमाइल चोकमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए। दुर्घटनापछि कारमा लुकाएर राखिएका पाँचवटा कालो प्लास्टिकका पोकामा प्याक गरिएको एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो। दुर्घटनालगत्तै कारचालक फरार भएका थिए।

सुझावित समाचार