हेटौँडामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु, एक घाइते

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

मकवानपुर । हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकलचालक र घरको जगबाट इँटा निकाल्ने क्रममा माटोले पुरिएर अर्का एकजनाको मृत्यु भएको छ। यस्तै, माटोले पुरिएर एकजना घाइते भएका छन्।

हेटौँडा उपमहानगरपालिका– ८, गुम्बाचोकनजिक पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा– ९, एचआइडीका ५५ वर्षीय श्यामकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान करिब साढे ७ बजे हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना.४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको ग.१ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। घाइते तामाङलाई हेटौँडा अस्पताल पुर्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले दुवै सवारीसाधन र ट्रकचालक सर्लाहीको धनकौल गाउँपालिका–१ का ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यसैगरी, हेटौँडा– १०, मेनरोडमा भत्काइएको घरको जगबाट इँटा निकाल्ने क्रममा माटोले पुरिएर हेटौँडा– १०, पूर्वेलीटोलका ४५ वर्षीय किरण रानामगरको मृत्यु भएको छ।

मंगलबार साँझ भत्काइएको घरको जगबाट इँटा निकाल्दै गर्दा माथिबाट खसेको माटोले मगर र मनहरी गाउँपालिका– ६ का २७ वर्षीय रोशन श्रेष्ठलाई पुरेको थियो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवैलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याएको थियो। मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, कम्मरमा चोट लागेका श्रेष्ठको अवस्था सामान्य रहेको र उनको उपचार भइरहेको छ ।

सुझावित समाचार