काठमाडौं । कुशल भुर्तेल र कप्तान सन्दीप लामिछाने चम्किएपछि दोहामा जारी एसिया कप राइजिङ स्टार्समा नेपालले युएईविरुद्ध ६ विकेटको जित निकालेको छ। १२२ रनको लक्ष्य नेपालले मात्र २२ ओभरमा पूरा गरेको हो। टोलीले चार विकेटको क्षतिमा १२३ रन जोड्यो।
टस हारेर पहिले ब्याटिङ गरेको युएईका लागि मोहम्मद साहदादले ७० बलमा सर्वाधिक ४० रन बनाए। हरप्रित सिंहले ४८ बलमा ३२ तथा नरुल्लाह अयोयबीले २४ बलमा १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले तीन मेडन राख्दै ११ रन मात्र खर्चिए। भुर्तेलले दुई मेडनसहित पाँच ओभरमा १५ रन दिए।
यसैगरी, नन्दन यादव, रसिद खान र ललित राजवंशीले समान एक विकेट हात पारे। ललितले पनि एक मेडन गराए।
जवाफी ब्याटिङमा नेपालका कुशल भुर्तेलले सर्वाधिक ५७ रन बनाए। ५६ बल सामना गरेका भुर्तेलले ६ चौका र एक छक्का प्रहार गरे। उनले ४९ बलमा ५० रन बनाएका थिए। यसैगरी, मयन यादवले २७ र बसिर अहमदले नटआउट १८ रन जोडे। २८ बल सामना गरेका यादवले चार चौका र एक छक्का प्रहार गरे।
युएईका मोहम्मद मोसिनले दुई तथा उद्दिस सुरी र अंश टन्डनले समान एक विकेट निकाले।