नेपालले आफ्नो सय अन्तर्राष्ट्रिय एकदिवसीय खेल पूरा गरेको छ । कतारको दोहामा चलिरहेको एसिया कप राइजिङ स्टार्सअन्तर्गत आइतबार युएईसँगको प्रतिस्पर्धामा नेपालले सो सफलता चुमेको हो ।
१ अगस्ट २०१८ मा नेपालले आफ्नो पहिलो एकदिवसीय खेल नेदरल्यान्ड्ससँग खेलेको थियो । पहिलो एकदिवसीय प्रतिस्पर्धामा नेपाल ५५ रनले पराजित भएको थियो ।
आठ वर्षको यात्राका क्रममा नेपालले ५० जित र ४७ हारको सामना गरेको छ । यसक्रममा दुई खेल नो रिजल्ट र एक खेल टाई भएको थियो । नेपालले चालू सिजनमा १९ एकदिवसीय खेल खेल्यो ।
जसमध्ये १२ मा जित र सात खेलमा हारको नतिजा निकालेको छ । नेपालले चारपटक एकदिवसीय विश्वकप क्वालिफायर खेलेको छ । छनोट खेलमा नेपालले सन् २०१८ र ०२३ मा उत्कृष्ट रूपमा आठौँ स्थान हात पारेको थियो ।
भुर्तेलको अलराउन्ड प्रदर्शन
एसिया कप राइजिङ स्टार्समा नेपाल पहिलो खेलमा भारतको ‘ए’ टोलीसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । समूह ‘ए’बाट सेमिफाइनल आशा जीवितै बनाउन नेपालले युएईसँगको खेल जित्नुपर्ने थियो । पहिलो ब्याटिङ गरेको युएई ३९.५ ओभरमा १२१ रनमा समेटियो । प्रत्युत्तरमा नेपालका लागि कुशल भुर्तेलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर अर्जुन कुमाल ५ रनमा आउट भए ।
सो ब्याटिङ इनिङ्समा डेब्यु गरेका मयंक यादवले २८ बलमा २७ रन बनाउन चार चौका र एक छक्का प्रहार गरे । यसैगरी बसिर अहमदले ३१ बलमा १८ रन बनाए । नेपालले २२ ओभरमा चार विकेट गुमाएर १२३ रन बनायो । बलिङका क्रममा भुर्तेलले पाँच ओभरमा दुई मेडन राखी १५ रन खर्चेर तीन विकेट लिए ।
कप्तान लामिछानेको कसिलो बलिङ
पहिलो ब्याटिङ गरेको युएईले नेपालको कसिलो बलिङ सामना गर्न सकेन । इनिङ्सको कुनै पनि समयमा युएईका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । नेपालका कप्तान सन्दीप लामिछानेले आफ्नो १० ओभरको स्पेलमा घातक बलिङ गरे ।
उनले तीन मेडनसहित ११ रन दिएर सर्वाधिक तीन विकेट लिए । उनको इकोनोमी १.१० रहेको थियो । यसैगरी नन्दन यादव, रसिद खान र ललित राजवंशीले समान एक विकेट हात पारे ।
युएईको ब्याटिङमा हर्पित सिंहले ४८ बलमा चार चौकाको सहयोगमा ३२ रन बनाए । यसैगरी मुहमद सहदादले ७० बल खेलेर ४० रन जोडे । उनले आफ्नो ब्याटिङमा पाँच चौका प्रहार गरेका थिए ।