कास्की/ प्रथम ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’को तयारी पूरा भएको छ। युनाइटेड किङ्स क्लब पोखराको आयोजना एवं फेवा मल्टी प्रोडक्ट्स प्रालिको मुख्य प्रायोजनमा पोखरा रंगशालामा ९ देखि १६ पुससम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
पोखरालाई राष्ट्रिय खेलको महत्त्वपूर्ण गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न खेल संघसँगै अन्य संघसंस्था, सरकारी निकाय, प्रायोजक, सहयोगी संस्था तथा खेलप्रेमीहरूसँगको सहकार्य एवं समन्वयमा आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालका ६ उत्कृष्ट टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए।
प्रतियोगितामा विभागीय टोलीहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबसँगै गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र आयोजक किङ्स क्लबले सहभागिता जनाउने छन्।
प्रतियोगिताको उपाधि विजेताले चार लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ नगद पाउँदा विधागतर्फ उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही १०÷१० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए।
सात दिनसम्म चल्ने प्रतियोगिता सञ्चालनका लागि ६० लाख ९५ हजार रुपैयाँ खर्च र ७१ लाख रुपैयाँ आम्दानी हुने अनुमान रहेको अध्यक्ष गुरुङले बताए।