बागलुङमा बाढीपहिरोबाट १२ जनाको मृत्यु, एक महिला बेपत्ता

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण बागलुङमा हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार असोज ९, १० र ११ गतेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएको हो।

पहिरोमा पुरिएर पाँच पुरुष, चार महिला र तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक महिला अझै बेपत्ता रहेकी छिन्। प्रहरीका अनुसार वर्षाका कारण ५९ घर पूर्ण र ५९ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, १० गोठ पूर्ण र एउटा गोठमा आंशिक क्षति भएको छ। तीनवटा झोलुंगे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीपहिरोबाट दुई प्रहरी कार्यालय, दुई हाइड्रोपावर र एउटा विद्यालयमा आंशिक क्षति पुगेको छ। एउटा वडा कार्यालय, एउटा रिसोर्ट र एउटा कृषि फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

यस्तै, २५६ वटा पशुचौपाया र दुई हजार ११५ वटा कुखुरा मरेका छन्। जिल्ला प्रहरी कार्यालयले क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य जारी रहेको जनाएको छ। थप विवरण संकलन भएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

सुझावित समाचार