३१.५८% ले बढ्यो आयात, निर्यातमा ६१.८६% को वृद्धि

भोटेकोशी बाढीले रसुवा नाका बन्द भए पनि चीनतर्फको आयात–निर्यात दुवैमा वृद्धि

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो दुई महिनामा मुलुकको वस्तु आयात र निर्यात दुवै बढेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको भदौ मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले आयात ३१.५८ प्रतिशतले बढेको देखाएको हो ।

चालू आवको दुई महिनामा चार खर्ब एक अर्ब ५१ करोड ८९ लाख रुपैयाँको वस्तु आयात भएको छ । तर, गत आवको पहिलो दुई महिनामा तीन खर्ब पाँच अर्ब १५ करोड ५० लाख रुपैयाँको वस्तु आयात भएको थियो । भन्सार विभागका महानिर्देशक यमलाल भुसालले चालू आवको पहिलो दुई महिनामा आयात–निर्यात दुवैमा वृद्धि देखिएको बताए ।

समीक्षा अवधिमा टिमुरे नाका बगाएपछि अन्य नाका र विमानमार्फत चीनतर्फको व्यापार बढेको छ । गत आवको दुई महिनामा चीनबाट ६५ अर्ब १७ करोडको वस्तु आयात भएकोमा चालू आवको दुई महिनामा ७६ अर्ब ४० करोडको आयात भएको छ । यस्तै, निर्यात पनि १३७.५९ प्रतिशतले बढेको छ । गत आवको दुई महिनामा १२ करोड ३४ लाखको वस्तु निर्यात भएकोमा चालू आवको दुई महिनामा २९ करोड ३३ लाख ३३ को वस्तु निर्यात भएको छ ।

धेरै आयात भएका पाँच वस्तु 
समीक्षा अवधिमा कच्चा सोयाबिन तेलको आयात सबैभन्दा धेरै छ । समीक्षा अवधिमा ३८ अर्ब पाँच करोड २८ लाख रुपैयाँको कच्चा सोयाबिन तेल आयात भएको छ । यस्तै, दोस्रो स्थानमा रहेको डिजेल २८ अर्ब तीन करोड ९८ लाख रुपैयाँको आयात भएको छ । तेस्रो स्थानमा भने पेट्रोल भने दुई महिनामा १६ अर्ब १३ करोड ३७ लाख रुपैयाँको आयात भएको छ । यस्तै, १६ अर्ब दुई करोड ६५ लाख रुपैयाँको खाना पकाउने ग्यास र १३ अर्ब आठ करोड १८ लाख रुपैयाँबराबरको फर्टिलाइजर ग्रेड आयात भएको छ ।

७६ अर्ब ५८ करोडको निर्यात
समीक्षा महिनामा नेपालबाट हुने वस्तु निर्यात ६१.८६ प्रतिशतले बढेको छ । गत आवको दुई महिनामा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको निर्यात भएको थियो । चालू आवको दुई महिनामा ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।

धेरै निर्यात भएका पाँच वस्तु
समीक्षा अवधिमा सोयाबिन तेलको निर्यात उच्च छ । तथ्यांकअनुसार ३६ अर्ब चार करोड ६१ लाख ९८ हजार रुपैयाँबराबरको सोयाबिन तेल निर्यात भएको छ । पछिल्लो समय भारतमा नेपालको सोयाबिन तेलको माग उच्च छ । नेपाली व्यापारीले तेस्रो मुलुकबाट सोयाबिन तेलको कच्चा पदार्थ ल्याएर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् । यसो गर्दा ३० प्रतिशत ‘भ्यालुएड’ हुने गरेको व्यवसायीहरू बताउँछन् ।

दोस्रो स्थानमा भने जुट तथा टेक्साइलका सामान छन् । समीक्षा अवधिमा दुई अर्ब २३ करोड ४९ लाख रुपैयाँबराबरको यस्तो वस्तु निर्यात भएको छ । 

यस्तै, तेस्रो स्थानमा सूर्यमुखी तेल र यसको बिउ रहेको छ । तथ्यांकअनुसार दुई अर्ब आठ करोड ५३ लाख रुपैयाँ यस्तो वस्तु निर्यात भएको छ । यसैगरी, प्रशोधित पाम ओलिन एक अर्ब ९३ करोड १७ लाख र कार्पेट एक अर्ब ७६ करोड ७४ लाख रुपैयाँको निर्यात भएको छ ।

३६ प्रतिशतले बढ्यो व्यापार घाटा 
उच्च दरमा निर्यात बढ्दा पनि व्यापार घाटा भने बढ्न सकेको छैन । समीक्षा अवधिमा निर्यात ६१.८६ प्रतिशतले बढ्दा व्यापार घाटा पनि २६.०२ प्रतिशतले बढेको छ । गत आवको दुई महिनामा दुई खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँको व्यापार घाटा भएको थियो । तर, चालू आवको दुई महिनामा तीन खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ । समीक्षा अवधिमा आयात पनि ३१.५८ प्रतिशतले बढेको छ । त्यसमाथि आयातको आकार पनि ठुलो छ । यता निर्यातको वृद्धिदर उच्च भए पनि आयातको तुलनामा यसको आकार भने न्यून छ । त्यसले गर्दा व्यापार घाटा बढेको देखिन्छ । 

सुझावित समाचार