जिल्ला प्रशासन कार्यालय खोटाङले असोज ८ देखि ११ गतेसम्म देशभर अतिभारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार उक्त अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाब बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्य्रान बहाब, भू–क्षय तथा डुबानको जोखिम हुन सक्ने भन्दै प्रशासनले सचेत गराएको हो।
भारी वर्षाका कारण सडक यातायातसमेत प्रभावित हुन सक्ने भएकाले नदी तथा खोलाकिनार, पहिरोको जोखिम भएका भू–भाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। जोखिमको संकेत देखिएमा तत्काल नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शमशेरबहादुर राईले जानकारी दिए।
त्यस्तै, अतिआवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन तथा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती र बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ।
पशुचौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित राखी विपतकाे अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्नसमेत प्रशासनले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभाग, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनी नियमित रूपमा लिन तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रशासनले आग्रह गरेको छ।
जिल्लाका सम्बन्धित निकाय, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत प्रशासनले अनुरोध गरेको छ। आपतकालीन अवस्थामा विपत् कल सेन्टर ११४९, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला प्रशासन कार्यालय खोटाङका ०३६–४२०१३३ र ०३६–४२०५५५ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
१० स्थानीय तह रहेको खोटाङमा असोज ७ गते बुधबार दिउँसोदेखि नै भारी वर्षा भइरहेको छ। बेमौसमी वर्षा सुरु भएपछि जिल्लाका किसानसमेत चिन्तित बनेका छन्। पाक्न लागेको अन्नबालीमा वर्षाका कारण क्षति पुग्न सक्ने भएपछि किसानहरू चिन्तित बनेका हुन्।