नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संगठन निर्माण, जनवर्गीय संगठनहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषय समेटेर दुईमहिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको केन्द्रीय कार्यसंयोजन समिति बैठकले १५ असोजदेखि १५ मंसिरसम्म जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
ज्वालाका अनुसार केन्द्र, प्रदेश, जिल्ला, पालिका हुँदै टोलसम्म अभियान सञ्चालन हुनेछ । अभियानको विस्तृत कार्ययोजना केन्द्रीय सचिवालयले तय गर्ने भएको छ । दसैँअघि नै सचिवालयको बैठक बस्ने ज्वालाले जानकारी दिए । ‘सचिवालय बैठकमा दुईमहिने जनअभियानको कार्ययोजना, महाधिवेशन तथा अधिवेशनको कार्यतालिकाका साथै सरकारले गरेको जनविरोधी क्रियाकलाप, महँगी, भ्रष्टाचार, कुशासन, सुकुमवासी भूमिहीन बिचल्लीमा पर्नुपरेको छ । देशमा अशान्ति छ, निराशा छाएको छ । यी सबै विषय समेटेर विस्तृत कार्ययोजनामाथि सचिवालयमा छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका निम्ति आन्दोलनको कार्ययोजनासमेत सचिवालयबाट पारित हुन्छ ।’
बाढीपहिरोलगायत कारणले मंसिरमा महाधिवेशन सम्भव नभएको निष्कर्ष बैठकको छ । ‘मंसिरमै महाधिवेशन गर्ने गरी भदौदेखि नै अधिवेशन सुरु गर्ने कार्यतालिका ल्याएका थियौँ । बाढीपहिरोलगायत विभिन्न चुनौतीले गर्दा कार्यतालिका कार्यान्वयन गर्न असहज भयो । त्यसकारण महाधिवेशनको व्यवस्थित कार्यतालिका बनाएर सचिवालयको बैठकमा पेस हुन्छ । र, नयाँ कार्ययोजना पारित गर्छौँ,’ ज्वालाले भने ।
बैठकले भोटेकोशी बाढीबाट पीडितको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा नेकपाका तर्फबाट सहयोग गर्न नेता गंगालाल तुलाधर नेतृत्वको समन्वय समितिलाई जिम्मा दिएको छ । उद्धार, राहत उपलब्ध गराउने, पुनर्स्थापनाका सन्दर्भमा, घाइतेहरूको उपचारमा लाग्नेसहित संकल्प प्रस्ताव बैठकले पारित गरेको छ । महाधिवेशन र अधिवेशनका साथै सचिवालय र कार्यसमिति बैठक, पार्टी र जनवर्गीय संगठनहरूको समायोजन र सदस्यता नवीकरण, विशेष संगठन सुदृढीकरण अभियान, पार्टीमा समाहित गर्नेबारे र भोटेकोशी बाढीपीडितको पुनर्स्थापना तथा पुनर्निर्माण अभियानबारे बैठकमा छलफल भएको थियो ।
बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र व्यवस्थामाथिको चुनौती थपिएको बताउँदै नेकपाको काँधमा ठुलो दायित्व आएको बताएका छन् । राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थामा रहेको, व्यवस्थाविरोधी गतिविधि बढेको भन्दै प्रचण्डले आमजनतालाई सुसूचित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । ‘यतिवेला राष्ट्रिय स्वाधीनता, स्वाभिमान र व्यवस्थामाथि चुनौती थपिएको छ । यस्तो वेला हामी थप जिम्मेवार भएर त्यस्ता चुनौतीको सामना गर्नुपर्छ । सदन र सडक दुवैतर्फको मोर्चालाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय कार्यसंयोजन समितिका सदस्यले नयाँ पत्रिकासँग भने ।
ती सदस्यका अनुसार प्रचण्डले संविधान निर्माणका वेला सहकार्य गरेका दलहरूबिच सहकार्य गर्दै जानुपर्ने आवश्यकता पनि औँल्याएका छन् । त्यसको पहलकदमी नेकपाले नै लिनुपर्ने उनको भनाइ छ । भोटेकोशी बाढीलगाययत कारणले गर्दा तोकिएको समयमा महाधिवेशन गर्न कठिनाइ भएको भन्दै प्रचण्डले अर्को बैठकमा आवश्यक निर्णय गर्ने बताएका छन् ।
गत निर्वाचनदेखि हालसम्मको स्थिति र आगामी निर्वाचन पार्टीको पक्षमा कसरी पार्ने भन्नेमा रणनीतिक तयारीको आवश्यकतामा उनले जोड दिएका छन् । सरकार एकलौटी ढंगले चलेको, विपत्तिको वेलामा समेत प्रतिपक्षी दलहरूसँग छलफल नगरेको भन्दै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आलोचना गरेका छन् ।
‘सरकार विशेषगरी भोटेकोशी बाढीसम्म आइपुग्दा एकल ढंगले चलेको देखिन्छ । प्रतिपक्षी दलहरूसँग छलफल गरेको देखिँदैन । प्रधानमन्त्रीको कार्यशैली त्यही ढंगको छँदै छ । अर्कोतर्फ ग्रे जोनको रिपोर्टबारेमा गम्भीरतापूर्वक अध्ययन गर्ने, ती कुरा के हुन् ?’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेता गंगानारायण श्रेष्ठले भने, ‘त्यो रिपोर्टको अध्ययन, अनुसन्धान पनि गर्ने र पार्टीको धारणा राजनीतिक समितिको बैठकमार्फत ठोस गर्ने भन्ने छ । हाम्रो बुझाइमा राष्ट्रियतासँग सम्बन्धित विषय निकै पेचिलो बनेको छ ।’
सहसंयोजक माधवकुमार नेपालले शिर उँचो पारेर जनताको घरदैलोमा जान नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । जनहितमा आफूहरूले थुप्रै काम गरेको उदाहरण प्रस्तुत गर्दै नेपालले जनताको हितमा कम्युनिस्ट पार्टीले मात्रै काम गर्न सक्ने जिकिर गरेका छन् । ‘हामी जनताकै बिचमा स्थापित भएर आएका हौँ । फेरि पनि हामी जनतासँगै छौँ,’ उनको भनाइ थियो ।
देव गुरुङको संयोजकत्वमा पार्टी एकता वार्ता समिति गठन
नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता, छलफल र एकताको प्रक्रिया अघि बढाउन वार्ता समिति गठन गरेको छ । नेता देव गुरुङको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगानारायण श्रेष्ठ सदस्य छन् । विचार मिल्ने देशभक्त, गणतन्त्रवादी दल र समूहसँग एकताका लागि समितिले पहल गर्ने ज्वालाले बताए । ‘विचार मिल्ने सबै दल र समूहसँग वार्ता र छलफल गर्छौँ,’ उनले भने, ‘लोकतन्त्र, राष्ट्रियता संकटमा छ । यस्तो वेला राष्ट्रवादी, कम्युनिस्ट शक्ति मिल्नुको विकल्प छैन । हामी सबै कम्युनिस्ट पार्टी र समूहसँग छलफल गर्छौँ । सबै कुरामा सहमति हुने दलसँग पार्टी एकता अघि बढाउछौँ ।’
नेकपा केन्द्रीय कार्यसंयोजन समिति ४५ सदस्यीय छ । साबिक माओवादी, एकीकृत समाजवादीसहित २८ वटा विभिन्न पार्टी र समूह मिलेर नेकपा बनेको हो । एकताको करिब एक वर्ष हुन लाग्दा समायोजन प्रक्रिया भने अझै पूरा भएको छैन । समिति सदस्य श्रेष्ठले कुनै दलविशेषभन्दा पनि कम्युनिस्ट पार्टीसँग एकीकरणका निम्ति वार्ता हुने बताए । ‘अहिले हामीले यो वा त्यो भनेर केही तोकेका छैनौँ । कम्युनिस्ट पार्टीसँग एकीकरणका निम्ति वार्ता गर्न समिति बनेको हो,’ उनले भने ।