- पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका पौडेल र पोखरेलले ‘समर्पण’ गरेपछि ओली फेरि सर्वशक्तिमान्
- अध्यक्ष ओलीको पक्षमा उभिएको बुझिने गरी धारणा राखेपछि महासचिव पोखरेलले पाए बैठक सञ्चालनको जिम्मेवारी
पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएका छन् । मंगलबारको बैठकमा उनीहरूले नेतृत्व परिवर्तनभन्दा पार्टी एकता र अध्यक्षलाई सहयोग गरेर अघि बढ्नुपर्ने धारणा राखेपछि पुनर्गठनको बहस कमजोर बनेको छ ।
बैठक सुरु भएदेखि नै अध्यक्ष ओली बैठकको अध्यक्षता, सञ्चालनदेखि नियम निर्माण र कार्यान्वयनसम्म आफ्ना भूमिकामा दृढ देखिएका छन् । यही पृष्ठभूमिमा उपाध्यक्ष पौडेलले पार्टी एकता अपरिहार्य रहेको भन्दै नेतृत्वलाई सहयोग गरेर अघि बढ्नुपर्ने धारणा राखेर आफ्नो कित्ता स्पष्ट गरेका छन् । महासचिव पोखरेलले पनि अध्यक्ष ओलीलाई हटाउने पक्षमा आफू नरहेको संकेत गर्दै नरम धारणा राखेका छन् ।
पौडेल र पोखरेलको यस्तो भूमिकासँगै एमालेभित्र उठेको पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तत्कालका लागि कमजोर बनेको छ । प्रमुख नेताहरू नै पछि हटेपछि पुनर्गठनको पक्षमा रहेका केही केन्द्रीय सदस्यसमेत रक्षात्मक अवस्थामा पुगेका छन् ।
केन्द्रीय कमिटीमा झन्डै दुईतिहाइ शक्ति आफ्नो पक्षमा रहेको दाबी गर्दै अध्यक्ष ओलीले आलोचकहरूमाथि प्रहार र नेतृत्वविरुद्धका गतिविधिमा नियन्त्रणको नीति अख्तियार गरेपछि सम्भावित दुर्घटना टार्न विष्णु–शंकर समूह पछि हटेको केही नेताको दाबी छ ।
ती नेताहरूका अनुसार पार्टी पुनर्गठनको मुद्दालाई केही समय थाती राखेर महाधिवेशन प्रतिनिधि भेलाको तयारीतर्फ जाने र त्यहाँ आवश्यक छलफल गर्ने योजना पौडेल–पोखरेल समूहको थियो । तर, ओलीले केन्द्रीय कमिटीमार्फत उनीहरूको रणनीति रोक्ने नीति लिएपछि तत्काल आफ्नो उद्देश्य पूरा हुने अवस्था नदेखिएसँगै पौडेल र पोखरेल पछि हटेको उनीहरूको दाबी छ ।
बैठक सुरु भएकै केहीबेरमा अध्यक्ष ओलीले दुवै नेतालाई आफ्ना धारणा राख्न समय दिएका थिए । करिब आधा घण्टा सम्बोधन गरेका दुवै नेताले पार्टी पुनर्गठनको पक्षमा स्पष्ट धारणा राख्ने अपेक्षा गरिएको थियो । तर, ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र पछिल्लो रणनीतिअनुसार उनीहरूले अपेक्षाभन्दा फरक रूपमा सहयोगी धारणा राखेका छन् । यसले उनीहरूलाई नै रक्षात्मक अवस्थामा पुर्याएको नेताहरूको भनाइ छ ।
ओलीलाई सहयोग पुग्ने गरी धारणा राखेसँगै मंगलबारको बैठक महासचिवको हैसियतमा पोखरेलले नै सञ्चालन गरेका छन् । जबकि, सोमबारको बैठकको अध्यक्षता गरेका ओलीले पोखरेललाई बैठक सञ्चालनमा निषेध गरेका थिए । बैठक सञ्चालनमा भूमिका नै नपाएपछि राति पौने ११ बजेसम्म गुन्डुस्थित निवासमै पुगेर अध्यक्ष ओलीसँग पोखरेलले संवाद गरेका थिए । राति अबेरसम्मको त्यही संवादपछि पोखरेल यू–टर्न भएको पुनर्गठनको पक्षमा खुलेका कतिपय नेताको टिप्पणी छ ।
पौडेल भने सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउबाट रिहा भएयता नेतृत्व पुनर्गठनको मुद्दामा सार्वजनिक रूपमा मौन नै थिए । यद्यपि, उनले पार्टी पुनर्गठन कार्यदलमा लगातार संयोजक बदलिएको विषयमा प्रश्न उठाउँदै आफूलाई पार्टी विधानअनुसार सञ्चालन गर्नुपर्ने आवाज उठाएका थिए । दुवै नेताले केन्द्रीय कमिटीमा दुईतिहाइभन्दा बढी मत ‘होल्ड’ गरिरहेका अध्यक्ष ओलीसँग टक्कर लिने जोखिम मोल्न रुचि राखेनन् ।
सोमबार र मंगलबारको बैठकको दृश्यसँगै ओलीले केन्द्रीय कमिटी बैठकमार्फत आफ्नो बलियो पकड रहेको र नेतृत्वको विकल्प खोज्नेहरूको कुनै अर्थ नरहेको स्पष्ट सन्देश दिने प्रयास गरेका छन् । ओलीको त्यही प्रस्तुतिको सारथि पौडेल र पोखरेल बनेका छन् । ‘उहाँहरू पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दामा प्रवेश नै गर्न चाहनुभएन,’ बैठकपछि पुनर्गठन पक्षधर एक नेताले भने, ‘उहाँहरूले स्पष्ट रूपमा अध्यक्ष ओलीसमक्ष समर्पण गरेको सन्देश दिनुभएको छ । यसले गर्दा पुनर्गठनको मुद्दामा मुखर हुन तयार रहेका एकथरी साथीमाझ निराश भएका छन् ।’
बैठकपछि जारी विज्ञप्तिमा पनि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको सम्बोधनले पार्टीलाई एकताबद्ध बनाउन कार्यकर्ताहरूमा नयाँ ऊर्जा र उत्साह सञ्चारित गरेको उल्लेख गरिएको छ । ‘सम्बोधनका क्रममा उपाध्यक्ष र महासचिवले सिर्जित भ्रम तथा संशयहरूलाई निस्तेज गर्दै पार्टीलाई एकताबद्ध बनाउन र देशभरका कार्यकर्ताहरूमा नयाँ ऊर्जा र उत्साह सञ्चार गर्न महत्वपूर्ण रह्यो,’ प्रचार विभाग प्रमुख निरज आचार्यले भनेका छन् ।
बैठकमा उपाध्यक्ष पौडेलले अहिले पार्टीलाई पुनर्स्थापित गर्न एकताबद्ध नेतृत्व आवश्यक रहेकाले ओलीकै नेतृत्वमा पार्टीलाई रूपान्तरणसहित अघि बढाउनुपर्ने धारणा राखेका थिए । उनले अध्यक्षले ल्याएको प्रतिवेदनको समर्थन गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टीलाई बलियो र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए । ‘अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आगामी कार्यभारहरू ठिक ढंगले आएका छन् । संविधान र लोकतन्त्रको रक्षा गर्न पार्टीलाई बलियो र एकताबद्ध गर्दै अरू पार्टीलाई पनि गोलबन्द गर्दै जानुपर्दछ,’ बैठकमा पौडेलले भने, ‘जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न एकताबद्ध नेतृत्व र बलियो संगठन निर्माण गर्नुपर्छ ।’
पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै आएका पौडेलको एकाएक बदलावप्रति धेरै केन्द्रीय सदस्य आश्चर्यचकित भएका छन् । ‘उहाँ यसबिचमा बाहिर धेरै खुल्नुभएको थिएन । व्यक्तिगत रूपमा पार्टी पुनर्गठनको पक्षमा लाग्न हामीलाई सधैँ प्रेरित गर्नुहुन्थ्यो, तर अहिले आएर उहाँ नै अध्यक्षको रक्षाकवचका रूपमा प्रस्तुत हुँदा आश्चर्य लागेको छ,’ पुनर्गठनको पक्षमा रहेका एक केन्द्रीय सदस्यले टिप्पणी गरे ।
पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिवसमेत रहेका पोखरेलले कार्यदलले सहमति गरेर तयार पारेको प्रतिवेदन बैठकमा ल्याउन ओलीको ध्यानाकर्षण गराए । ‘पार्टीलाई समीक्षासहित अघि बढाउन प्रतिवेदन कार्यान्वयन गर्दै अघि बढ्नुपर्छ,’ पोखरेलले भने, ‘एमालेलाई कसरी अघि बढाउने भन्ने सवालमा तल्लो तहबाट आएका सुझावसमेत समेटेर प्रतिवेदन तयार भएको छ । त्यसलाई कार्यान्वयनमा लैजान आवश्यक छ ।’
तर, उनले आफू र अध्यक्षबिच फाटो ल्याउने गरी गलत प्रचार भएको भन्दै बैठकमा खण्डन पनि गरे । उनले आफूले पार्टीमा विग्रह ल्याउने गरी विशेष महाधिवेशन आयोजना गर्ने पक्षमा नेतृत्व नगर्ने पनि प्रस्ट्याए । ‘अहिले अध्यक्ष र मेराबिचमा फाटो ल्याउने गरी प्रचार भएको छ । सँगसँगै काम गरिरहँदा अध्यक्ष कमरेडमाथि अभियोग लगाउने काम हुँदैन । पार्टीमा विग्रह आउने गरी मैले विशेष महाधिवेशन आयोजना गर्ने पक्षमा नेतृत्व गर्दिनँ,’ पोखरेलको भनाइ थियो । अध्यक्षसँग असहमति राखेर अघि बढ्ने पक्षमा आफू नरहेको उनको प्रस्टोक्ति थियो । तर, उनले पार्टीभित्र समस्या छ भन्ने तथ्य स्विकारेर अगाडि बढ्नुपर्नेमा जोडदिए ।
स्थानीय चुनावसम्म अन्तरिम नेतृत्व चुन्नुपर्ने योगेशको प्रस्ताव
उपमहासचिव योगेश भट्टराईले आगामी स्थानीय तहको निर्वाचनसम्म अन्तरिम नेतृत्व खडा गरेर अगाडि बढ्नु उपयुक्त हुने प्रस्ताव गरेका छन् । पार्टीमा नेतृत्व हस्तान्तरण अपरिहार्य बनेको भन्दै उनले लिखित प्रस्ताव अध्यक्ष ओलीलाई बुझाएका छन् । लिखित सुझाव बुझाउनुअघि भट्टराईले बोल्ने समय मागेका थिए । तर, ओलीले समय नदिएपछि उनले लिखित सुझाव बुझाएका हुन् ।
८ वटा बुँदे लिखित सुझावमा २१ फागुनको निर्वाचन, जेन–जी आन्दोलनपछिका घटनाक्रमले पार्टीमा नेतृत्व हस्तान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् । ‘निर्वाचन समीक्षा कार्यदल, समीक्षा तथा पुनरवलोकन कार्यदलका आधारभूत रिपोर्ट, आमकार्यकर्ता र जनताको भावना पनि यही हो,’ उनले भनेका छन् ।
अबको अन्तरिम नेतृत्व हालको पदाधिकारीमा रहेको नेतृत्व समूह कि बाहिरबाट भन्नेमा भने उनले कुनै ठोस प्रस्ताव राखेका छैनन् । तर, राष्ट्रिय प्रतिनिधि परिषद् वा विधान महाधिवेशन बोलाएर ७० वर्षे उमेरहद र दुई कार्यकाल मात्र अध्यक्ष हुने पुरानै व्यवस्थामा फर्किने गरी विधान, नीति, कार्यक्रम र राजनीतिक प्रतिवेदन संशोधन गर्ने प्रस्ताव गरेका छन् । त्यसपछि मात्र पार्टी स्थानीय चुनावको तयारीमा लाग्नु उपयुक्त हुने उनको प्रस्ताव छ ।
बैठकमा ११८ जना बोले, पुनर्गठनको पक्षमा कमजोर मत
ललितपुरको रामबाघ महलमा जारी बैठकमा ११८ जना केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रित रहेर धारणा राखेका छन् । बैठकमा ओलीको विकल्प खोजेर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा निकै थोरै सदस्यहरूले मात्र बोलेका छन् । महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १२ जना मात्र अर्को प्यानलबाट निर्वाचित भएका थिए ।
बैठकमा बोल्नेमध्ये केन्द्रीय सदस्य ठाकुर गैरे, आनन्दप्रसाद पोखरेल, कर्ण थापा, खिमलाल भट्टराई, झपटबहादुर रावल, गोरखबहादुर बोगटीसहित एक दर्जनआसपास केन्द्रीय सदस्यहरूले मात्र नेतृत्वको पुनर्गठन अपरिहार्य रहेको विचार मुखर रूपमा राखेका थिए । ‘सैद्धान्तिक, नीतिगत, राजनीतिक र संगठनात्मक पुनर्गठन अपरिहार्य छ । माथिदेखि तलसम्म संगठन, विचार, शैली र व्यवहारमा यथास्थितिकै निरन्तरताले पार्टी बलियो हुँदैन । त्यसैले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा अनिवार्यजस्तै बनिसकेको छ,’ बैठकमा गैरेको भनाइ थियो, ‘यदि पार्टीलाई पुनर्गठित नगरी स्थानीय चुनावमा जाने हो भने हाम्रा नेता–कार्यकर्ता अरू नै पार्टीतिर गएर उम्मेदवार बन्ने, धेरै ठाउँमा उम्मेदवार नै नपाइने र बनेकाले पनि हार्न सक्ने अवस्था आउन सक्छ । त्यसैले यसलाई हेक्का राखेर पार्टीलाई पुनर्गठन गरौँ ।’
अर्का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले तल जनतासँग पार्टी र नेताहरूको सम्बन्ध टुटिसकेकाले अहिले जे गरिँदै छ, त्यो भ्रमबाट मुक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘अहिले हामीले गरेपछि ठिक हुन्छ, जे गर्दै छौँ, ठिक गर्दै छौँ भन्ने लागिरहेको छ भने त्यो पूरै भ्रम हो । तलको अवस्था तपाईं–हामीले सोचेजस्तो छँदै छैन । त्यसैले सच्चिने मौकालाई सदुपयोग गरेर नयाँ ढंगले सोचेर रूपान्तरित हुँदै अघि बढौँ,’ उनले भने । ओलीको प्रतिवेदनले धेरै कुरा समेटेको र पुनर्गठनको सवाल पनि समेटिएको उनको भनाइ थियो ।
बैठकमा चुनाव समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठित कार्यदलबाट सर्वसम्मत पारित एकीकृत प्रतिवेदनका आधारमा अघि बढ्दा मात्र पार्टी सवल र एकताबद्ध हुने पक्षमा भने धेरै केन्द्रीय सदस्यहरूले मत राखेका छन् । बैठकले बुधबार बिहान ११ बजेबाट पुनः निरन्तरता पाउने भएको छ । बिहान सचिवालय बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ ।