लहान नगरपालिकाले आर्थिक विकासका लागि ‘लहान औद्योगिक क्षेत्र’ स्थापना गर्न सम्भाव्यता अध्ययन समिति गठन गरी काम थालेको छ । व्यवसायी किशोर प्रधानको संयोजकत्वमा स्थानीय व्यवसायी रहेको नौ सदस्यीय अध्ययन समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार सम्भाव्यता अध्ययन समितिमा लहानस्थित जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष प्रदीपकुमार गुप्ता सहसंयोजक, सदस्य विकास शारदा, अशोक अमात्य, पवन मुन्धडा, सुनील चौधरी, रवीन्द्रकुमार श्रेष्ठ, राकेश महासेठ र खुश्बु जयसवाल रहेका छन् ।
समितिका सदस्यमध्ये शारदा, अमात्य, मुन्धडा, संघका पूर्वअध्यक्षहरू र श्रेष्ठ संघका वर्तमान महासचिव र जयसवाल कार्यसमिति सदस्य रहेको जनाइएको छ ।
नगर प्रमुख महेश चौधरीका अनुसार नगर क्षेत्रमा व्यवस्थित योजनाबद्ध र दिगो औद्योगिक विकासका लागि सम्भाव्यता अध्ययनका लागि समिति गठन गरी जिम्मेवारी दिइएको हो ।
‘नगर क्षेत्रको दिगो आर्थिक विकाससँगै स्थानीय रोजगारी सिर्जना गर्न व्यवस्थित औद्योगिक क्षेत्रको आवश्यकता महसुस भएको हो,’ उनले भने, ‘समितिले औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक जग्गा, पूर्वाधार निर्माण, लगानी, उद्योगको सम्भाव्यता, वातावरणीय पक्ष तथा कार्यान्वयनको चरणबद्ध योजनासहितको प्रतिवेदन तयार गरी तीन महिनाभित्र नगरपालिकामा बुझाउने जिम्मेवारी दिइएको छ ।’