- स्याफ्रुबेँसीमा तीन समूह, विभिन्न ठाउँमा पैदल गस्ती
- तीन सातासम्म पनि टिमुरेमा हुन सकेन उत्खनन
भोटेकोशी बाढीको २०औँ दिन हुँदासम्म पनि खोज तथा उद्धार सकिएको छैन । अझै करिब २१ हजार सुरक्षाकर्मी खोज, उद्धार तथा राहत व्यवस्थापनमा खटिएका छन् । जलविद्युत् आयोजनाका सुरुङ, नदीको बगर, नजिकको जंगल तथा बाढीले भत्काएका घरमा सुरक्षाकर्मीले खोजी जारी राखेका छन् ।
१० भदौमा भोटेकोशी नदीमा आएको बाढीमा परेका एक हजार ३९९ को शव फेला परिसकेको छ । त्यस्तै, पाँच हजार १७९ बेपत्ता रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत सुरुङभित्र खोजीको काम जारी राख्नुका साथै बाढी प्रभावित गाउँहरूमा पैदल गस्तीसमेत नियमित भइरहेको बताउँछन् । अहिले पनि आठ हजार नौ सय फौज प्रत्यक्ष खोजी, उद्धार तथा समन्वयमा खटिएको उनी बताउँछन् । सेनालाई सडक निर्माणदेखि बेलिब्रिज जडानसम्मको काममा पनि खटाइएको छ ।
त्यस्तै, सशस्त्र प्रहरीबाट करिब पाँच हजार फौज खटिएका छन् । प्रवक्ता नेत्रबहादुर कार्की ‘रोप रेस्क्यु’देखि ड्रोन सञ्चालनसम्मका काममा खटिएको बताउँछन् । ड्रोनबाट राहत सामग्री दुर्गममा पठाउन थालिएको छ । त्यस्तै, सुरुङको टनेलमा पनि सशस्त्र प्रहरीको टोली खटिएको छ ।
नेपाल प्रहरीले उच्च अधिकारीलाई रसुवा, नुवाकोट र धादिङमा खटाएको छ । खोज, उद्धार र समन्वयलाई प्रभावकारी बनाउन उच्च अधिकारीलाई खटाइएको प्रवक्ता अविनारायण काफ्ले बताउँछन् । नेपाल प्रहरीबाट करिब आठ हजार जनशक्ति खोज तथा उद्धारमा खटिएका छन् । बाढीले रसुवा र नुवाकोटमा प्रहरीका पाँच कार्यालय नै बगाएको थियो । ती कार्यालय पुनर्स्थापन हुन सकेको छैन ।
स्याफ्रुबेँसीमा तीन समूह, विभिन्न ठाउँमा पैदल गस्ती
रसुवाको स्याफ्रुबेँसी क्षेत्रमा खोज तथा उद्धारमा तीन समूह परिचालन गरिएको सैनिक प्रवक्ता बस्नेतले बताए । स्याफ्रुबेँसी बजार नै बाढीले बगाएको छ । सो क्षेत्रमा पुग्ने सडक सञ्जालसमेत नहुँदा खोज तथा उद्धारमा ढिलाइ भएको थियो ।
त्यस्तै, बाढी प्रभावित कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायत विभिन्न स्थानमा सेनाले पैदल गस्ती गरिरहेको छ । स्थानीयको समस्या सोध्दै पैदल गस्ती थालिएको हो ।
दुर्गम ठाउँमा ड्रोनको प्रयोग पनि बढेको छ । साँघुरा टनेलहरूको रेकी, प्रभावित इलाकामा खोज, मूल्यांकन र दुर्गम तथा सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा राहत सामग्री ढुवानीमा ड्रोनको प्रयोग बढेको हो । हालसम्म नेपाली सेनाको ड्रोनमार्फत नुवाकोटका विभिन्न स्थानहरूमा १६ हजार १३८ र रसुवाका विभिन्न स्थानमा पाँच हजार ८६१ केजी राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरेको छ । सशस्त्र प्रहरीले पनि दैनिक रूपमा ड्रोनमार्फत राहत तथा अत्यावश्यक सामग्री ढुवानी गर्दै आएको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका आठ हजार नौ सयभन्दा बढी खटिएका छन् । त्यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पनि दिइरहेका छन् ।
तीन सातासम्म पनि टिमुरेमा हुन सकेन उत्खनन
चीनसँगको नाकाको मुख्य बजार टिमुरे बाढीले ध्वस्त छ । यहाँ सशस्त्र प्रहरीको बिओपीबाहेक सबै सरकारी कार्यालयसमेत बगेका छन् । तीन साता हुँदासम्म पनि यहाँ सशस्त्र प्रहरीबाहेक अन्य निकाय पुग्न सकेका छैनन् ।
बजारबाट सयभन्दा धेरै शव निकालिएको छ । तर, बजार क्षेत्रमा बाढीले भत्काएका घरमा अझै उत्खनन हुन सकेको छैन । स्रोतका अनुसार सो क्षेत्रमा रहेका बैंकका शाखा पनि उत्खनन हुन सकेको छैन । सशस्त्र प्रहरीले २४ घण्टा त्यहाँ सुरक्षा दिएको छ । मुचुल्का गर्न स्थानीय जनप्रतिनिधि तथा नेपाल प्रहरी नभएका कारण पनि उत्खननमा ढिलाइ भएको हो । नेपाल प्रहरीको कार्यालय भने केही दिनमै पुनर्स्थापन गर्न लागिएको छ ।
टिमुरेमा सडक सञ्जाल छैन । त्यहाँबाट दुई किलोमिटरमाथि रहेको रसुवागढी नाका पुग्ने बाटो पनि छैन । टिमुरेदेखि १६ किलोमिटर तल रहेको स्याफ्रुबेँसीसम्मको सडक पूरै बगाएको छ । टिमुरेमा बचेका केही स्थानीयले पनि त्यस ठाउँ छाडेका छन् ।
के छ सुरुङको प्रगति ?
चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र खोजी जारी राखेको नेपाली सेनाले जनाएको छ । चिलिमेको टनेलभित्रबाट पानी आइरहेको ठाउँमा प्वाल बनाएर उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म पुगी खोजी कार्य गरिरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए । उनका अनुसार एक्स्काभेटर र लोडर प्रयोग गरी गेग्रान हटाउने काम भइरहेको छ ।
माथिल्लो त्रिशूली १ को ‘अडिट ३’ मा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिसहितको उद्धार टोली करिब ६०० मिटर भित्रसम्म पुगेको छ । त्रिशूली ३ ‘ए’को टनेल र पावर हाउस इलाकामा संयुक्त टोलीद्वारा खोजी कार्य भइरहेको सेनाले जनाएको छ । त्यस्तै, त्रिशूली ३ ‘बी’मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडरको प्रयोग गरिरहेको छ । आयोजनाको आवास इलाकामा २ आवास भवनको प्लिन्थ (भुइँ)क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ ।