२०औँ एसियाली खेलकुदका चर्चित खेलाडी

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण
  • ओलम्पिकमा स्वर्ण पदक जितेका तथा हाल अन्तर्राष्ट्रिय वरीयतामा वर्चस्व राखेका चर्चित खेलाडी २०औँ एसियाली खेलकुदमा सहभागी हुँदै 

जापानको आइची र नागोयामा आगामी १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म २०औँ एसियाली खेलकुदको महाकुम्भ मेला आयोजना हुँदै छ । उद्घाटन सत्र चार दिनपछि हुने भए पनि त्यसअघि नै समूहगतका बास्केटबललगायत खेल सुरु भइसकेका छन् । यो महाकुम्भमा विभिन्न ४५ देशबाट करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालबाट समेत २१ खेलका लागि २११ जनाको टोली एसियाली खेलकुदमा सहभागी हुन जानेछ । 

प्रतियोगितामा सदाझैँ यसपटक पनि चीनकै वर्चस्व हुने अनुमान गरिएको छ । यता, ओलम्पिकमा स्वर्ण पदक जितेका वा हाल अन्तर्राष्ट्रिय वरीयतामा वर्चस्व राखेका चर्चित खेलाडीहरू पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । उनीहरूलाई नै स्वर्ण पदकको दाबेदारीका रूपमा हेरिएको छ । 

कार्लोस युलो, जिम्न्यास्टिक्स (फिलिपिन्स) 
कार्लोस युलो एसियाली खेलकुदमा सबैभन्दा चर्चित खेलाडी हुन् । उनले सन् २०२४ को पेरिस ओलम्पिकमा जिम्न्यास्टिक्समा दुई स्वर्ण पदक जितेका थिए । दुई स्वर्ण जितेपछि उनी चर्चित बने । २६ वर्षीय उनले ‘भल्ट’ र ‘प्यारलल बार्स’ विधामा पदक जितेका हुन् । यससँगै उनी एउटै ओलम्पिक खेलकुदमा दुई स्वर्ण पदक जित्ने पहिलो फिलिपिनो खेलाडी बनेका थिए । यसअघि उनी सन् २०१९ मा ‘फ्लोर एक्सरसाइज’मा विश्व च्याम्पियन बनेका थिए । सन् २०२१ को विश्व च्याम्पियनसिपमा उनले ‘भल्ट’ विधामा स्वर्ण पदक हात पारे । एसियाली खेलकुदमा जिम्न्यास्टिक्सतर्फ युलो फिलिपिन्सका लागि ठुलो आशाका केन्द्र बनेका छन् ।

आन से योङ, ब्याडमिन्टन (दक्षिण कोरिया) 
दक्षिण कोरियाकी ब्याडमिन्टन खेलाडी आन से योङ हाल विश्व वरीयतामा पहिलो स्थानमा छिन् । एसियाली महिला ब्याडमिन्टनमा आन से योङको उत्कृष्ट प्रदर्शनले निरन्तरता पाएको छ ।

२४ वर्षीया योङ आधुनिक ब्याडमिन्टनकी सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक हुन् । योङले पेरिस ओलम्पिक, २०२४ मा महिला एकलतर्फ स्वर्ण पदक जितेकी थिइन् । उनी सन् २०२३ मा विश्व च्याम्पियन बनिन् । उनले ‘बिडब्लुएफ वर्ल्ड टुर’अन्तर्गत चीन र जापानका शीर्ष प्रतिस्पर्धीविरुद्ध जितसहित धेरै महत्वपूर्ण उपाधि जितेकी छिन् । तीव्र गतिमा खेल्ने शैली, रक्षात्मक खेल र सटीक प्रहारका कारण उनलाई २०औँ एसियाली खेलकुदमा पनि दाबेदार मनिएको छ । चीन र जापानजस्ता देशका खेलाडीलाई पछि पार्दै योङलाई महिला एकल स्पर्धामा आफ्नो स्थान अझ सुदृढ पार्ने अवसर छ ।

दाइकी हासिमोतो, जिम्न्यास्टिक्स (जापान) 
दाइकी हासिमोतो जापानी जिम्न्यास्टिक्सका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनले पछिल्लो वर्षमा सानदार प्रदर्शन गर्दै आएका छन् । हासिमोटाले सन् २०२० को टोकियो ओलम्पिकमा पुरुष अलअराउन्ड स्पर्धामा स्वर्ण पदक जितेका थिए । सन् २०२४ को पेरिस ओलम्पिकमा टिम स्पर्धामा पनि स्वर्ण पदक जितेका थिए । हासिमोतो अलअराउन्ड प्रतिस्पर्धामा मात्र उत्कृष्ट छैनन्, उनी एकल र टिम दुवै स्पर्धामा जापानी टोलीका एक प्रमुख सदस्य हुन् । २५ वर्षीय खेलाडीमा उत्कृष्ट प्राविधिक कौशल, सन्तुलन र ठुला मञ्चमा प्रतिस्पर्धा गरेको अनुभव छ । त्यसैले पनि उनलाई एसियाली खेलकुद तथा ओलम्पिकमा निरन्तर एक उत्कृष्ट खेलाडीका रूपमा स्थापित गरेको छ ।

रिकाको इके, पौडी (जापान)
पौडीबाज इके जापानी स्टार खेलाडी हुन् । पछिल्लो समय पौडीमा उनको दबदबा कायम देखिन्छ । २६ वर्षीय इकेले सन् २०१८ को जाकार्ता एसियाली खेलकुदमा ६ स्वर्ण पदक जितेर इतिहास रचेका थिए । यो प्रतियोगितामा कुनै पनि जापानी खेलाडीले हासिल गरेको यो अभूतपूर्व उपलब्धि थियो । इके पौडीमा आफ्नो प्रतिभाका लागि मात्र होइन, रगतको क्यान्सरविरुद्धको संघर्षपछि गरेको उत्कृष्ट पुनरगमनका लागि पनि चिनिन्छन् । उपचारपछि उनी पुनः प्रतिस्पर्धामा उत्रिएका थिए । उपचारपछि इकेले टोकियो, २०२० तथा पेरिस, २०२४ ओलम्पिकमा लगातार सहभागिता जनाएका थिए । अब घरमै हुने २०औँ एसियाली खेलकुदमा आफ्नो उपस्थिति जनाउँदै पुनः पदक जिताउने हुटहुटी पूरा गर्न चाहन्छन् ।

वाङ चुकिन, टेबुलटेनिस (चीन) 
चीनका चुकिन हाल विश्वका उत्कृष्ट पुरुष टेबुलटेनिस खेलाडीमध्ये एक हुन् । २० वर्षीय उनी अन्तर्राष्ट्रिय टेबुलटेनिस महासंघ (आइटिटिएफ) वरीयताको शीर्ष स्थानमा छन् । उनी हाल चिनियाँ राष्ट्रिय टोलीका लागि एकल तथा टिम दुवै स्पर्धाका प्रमुख खेलाडी मानिन्छन् । सन् २०२४ को पेरिस ओलम्पिकमा चुकिनले टिम र युगल स्पर्धामा स्वर्ण पदक जितेका थिए । उनले टोलीगत स्पर्धामा विश्व च्याम्पियनसिप तथा थुप्रै उपाधि जितेका छन् । व्यावसायिक टेबुलटेनिसमा विश्वस्तरीय प्रतिस्पर्धीलाई निरन्तर पराजित गर्दै आएका छन् । चीनले चुकिनलाई २०औँ एसियाली खेलकुदका लागि पुरुष एकल, टिम गेम र मिश्रित युगल स्पर्धामा प्रतिस्पर्धा गर्न समावेश गरेको छ । उनी जापानमा आउने खेलाडीमध्ये चर्चित रहेका छन् ।

– एजेन्सीको सहयोगमा

सुझावित समाचार