सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशको भोटेकोशी नदीमा १० आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरूप रु. दुई करोड २२ लाख २२ हजार २२२ प्रदान गरेको छ ।
बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्रस्वास्थ्यलाभका लागि कामना गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरूप्रति राहत पुर्याउने उद्देश्यले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरेको छ ।
अर्थ मन्त्रालय, सिंहदरबारमा आज आयोजित एक समारोहबिच माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई बैंकका अध्यक्ष श्री प्रबलजंग पाण्डेज्यूले सहयोग रकम हस्तान्तरण गरेका हुन्। सो समारोहमा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलको उपस्थिति रहेको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षालगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । साथसाथै बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयहरूलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ ।
यस भीषण बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बैंकले तत्काल राहत पुर्याउने उद्देश्यले देवीघाटको विदुर नगरपालिका– ५, नुवाकोटमा खाद्यान्न सामग्री जस्तै चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउलगायतका सामग्रीसमेत सहयोग गरेको छ ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरूबाट २० लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।