बाढी प्रभावितलाई राखिएका नुवाकोट र रसुवाका केही होल्डिङ सेन्टरमा झाडापखाला देखिएको छ । ती क्षेत्रमा हैजासमेत फैलिन सक्ने जोखिम देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले २१ हजार डोज हैजाविरुद्धको खोप र एक हजार प्याकेट जीवनजल पठाएको छ । स्थानीय स्वास्थ्य संस्थाहरूमा पनि करिब पाँच हजार प्याकेट जीवनजल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटको विदुर नगरपालिका– ३, रणभुवनेश्वरी माविमा राखिएका करिब एक सय बाढीपीडितमध्ये तीनजनामा झाडापखाला देखिएको छ । विदुर– ७ कै लाइब्रेरी र स्वास्थ्यचौकी भवनमा बसेका चारजनामा पनि प्रकोप देखिएको छ । यहाँ २५० जना बाढीपीडित बसिरहेका छन् । त्यस्तै, रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा राखिएका १८३ जनामध्ये तीनजनामा झाडापखाला देखिएको छ ।
ठुलो समूहमा बस्दा कहिलेकाहीँ पेट दुख्ने तथा पखाला लाग्ने समस्या सामान्य मानिए पनि प्रभावित क्षेत्रको खानपान र बसाइका कारण हैजासमेत फैलिन सक्छ । होल्डिङ सेन्टरमा बसेकाहरूलाई खानेपानी र सरसफाइमा विशेष ख्याल गर्न तथा सचेत हुन सम्बन्धित सबैमा अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने भन्दै विज्ञहरूले पनि चेतावनी दिएका छन् । मानिसका शव र मरेका जनावरहरूका कारण दुर्गन्ध फैलिँदा महामारीजन्य रोग चाँडै फैलिन सक्ने उनीहरूको भनाइ छ ।
‘होल्डिङ सेन्टरमा राखिएका केहीमा झाडापखाला देखिएको छ । कहिलेकाहीँ झाडापखाला देखिनु स्वाभाविक हो । तर, महामारीकै रूपमा देखिएला कि भनेर हामीले सावधानी अपनाउन भनेका छौँ,’ सहप्रवक्ता डा. अधिकारीले भने, ‘हैजा फैलिने जोखिम भएकाले खोप पठाएका छौँ । कहिलेकाहीँ एक–दुई दिनमै पनि हैजा फैलिएर भयावह हुन सक्छ । अझ यस्तो प्राकृतिक विपत्पछि सबै साझा रूपमा बस्नुपरेको छ । सुरुमै सावधानी अपनाउन खोप पठाएका हौँ ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त हैजाविरुद्धको खोप सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पठाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने कार्य भइरहेको छ । बाढीका कारण खानेपानीका मुहानसमेत दूषित भएकाले मन्त्रालयले बाढीले क्षति पु¥याएको आसपासका मुहानको पानी प्रयोग नगर्न पनि अनुरोध गरेको छ ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार प्रभावित क्षेत्रमा नुवाकोट, रसुवा र धादिङका स्थानीय स्वास्थ्य संस्थासहितका १४३ चिकित्सक खटिएका छन् । उनीहरूलाई मध्येत्रिशूली अस्पताल, रसुवा जिल्ला अस्पताल, धुन्चे स्वास्थ्य शिविरलगायतमा खटाइएको छ । साथै होल्डिङ सेन्टरमा बसेकाहरूको स्वास्थ्य परीक्षणका लागि विभिन्न निजी स्वास्थ्य संस्थाका टोलीसमेत पुगेका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने– सुरुमै सावधानी अपनाउन खोप पठाएका हौँ
होल्डिङ सेन्टरमा राखिएका केहीमा झाडापखाला देखिएको छ । कहिलेकाहीँ झाडापखाला देखिनु स्वाभाविक हो । तर, महामारीकै रूपमा देखिएला कि भनेर हामीले सावधानी अपनाउन भनेका छौँ । हैजा फैलिने जोखिम भएकाले खोप पठाएका छौँ । कहिलेकाहीँ एक–दुई दिनमै पनि हैजा फैलिएर भयावह हुन सक्छ । अझ यस्तो प्राकृतिक विपत्पछि सबै साझा रूपमा बस्नुपरेको छ । सुरुमै सावधानी अपनाउन खोप पठाएका हौँ ।