धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग भासिएर पूर्ण अवरुद्ध भएपछि काठमाडौंसँग देशका विभिन्न जिल्लाको सडक सम्पर्कको विकल्पका रूपमा मकवानपुरका सडकलाई प्रयोग गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै चितवन, पोखरा, बुटवल, वीरगन्ज, जनकपुर तथा मधेश र गण्डकी प्रदेशका जिल्लाबाट काठमाडौं आउने–जाने सवारीसाधन मकवानपुरका वैकल्पिक मार्गमा केन्द्रित भएका छन् । जसका कारण त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली तथा फाखेल मार्गमा अत्यधिक चाप बढेको छ ।
सवारीसाधनको अस्वाभाविक चापका कारण सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने यात्रा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्न थालेको छ । हाल १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधन हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं पठाइने गरिएको छ । त्यस्तै, काठमाडौंबाट हेटौँडातर्फ आउने साना सवारीलाई फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्न लगाइएको छ । ठुला यात्रुवाहक बस र मालवाहक सवारीसाधनलाई भने त्रिभुवन राजपथ तथा कान्ति लोकपथतर्फ डाइभर्ट गरिएको छ ।
वैकल्पिक सडक सञ्चालनको तयारी
पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले अर्को वैकल्पिक सडक सञ्चालनको तयारी थालेको छ । भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक तत्काल मर्मत गरी एक साताभित्र साना यात्रुवाहक सवारी सञ्चालन गर्ने लक्ष्यसहित काम सुरु भएको छ । बागमती सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मकवापनुरका प्रमुख सुजन भण्डारीले बिहीबारदेखि सडक स्तरोन्नतिको काम थालेको जानकारी दिए । उनका अनुसार सडक सम्याउने, पेल्ने र केही ठाउँमा पर्खाल लगाउनुपर्ने अवस्था छ । ती सबै काम एक हप्तादेखि दश दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले करिब ३५ किलोमिटर लामो उक्त सडक विपत्को समयमा काठमाडौं–हेटौँडा जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने देखिएपछि काम थलिएको बताए । ‘भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा अहिले अत्यधिक चाप छ । त्यसलाई कम गर्न नयाँ सडकलाई एकतर्फी (वान–वे) रूपमा सञ्चालन गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘भीमफेदीबाट करिब ६ किलोमिटर सडक कालोपत्रे छ भने बाँकी कच्ची भागमा ग्राभेल, ग्याबिन वाल, ढुंगा भराइ र सडक सम्याउने काम सुरु भइसकेको छ । मौसमले साथ दिए एक साताभित्र साना सवारी सञ्चालनमा ल्याउँछौँ ।’
उनका अनुसार तत्काल मर्मतका लागि २५ देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दीर्घकालीन रूपमा भने यस सडकलाई वैकल्पिक राजमार्गकै रूपमा विकास गर्न बहुवर्षीय योजनाअन्तर्गत करिब आठ करोड बजेट विनियोजन भइसकेको छ । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले पनि पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट काडमाडौं जाने तीनवटै वैकल्पिक मार्गमा अत्यधिक सवारी चाप परेको बताए । करिब ३५ किलोमिटर लामो सडकलाई चालू आर्थिक वर्षमै दुई लेनको स्तरीय सडकका रूपमा विकास गर्न करिब आठ करोड रुपैयाँ बजेट व्यवस्थापन भइसकेको छ ।