सर्वोच्चको फैसला : विशिष्ट अधिकारीले विदेशी भ्रमणमा पाउने उपहार राज्यकै हुने

उपहारका सम्पूर्ण विवरण एकमुस्ट सार्वजनिक गर्न निर्देशनात्मक आदेश

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण
  • न्यूनतम तोकिएको मूल्यभन्दा बढीका उपहार आफूले राख्न चाहेमा नेपाल सरकारसँग खरिद गर्नुपर्ने व्यवस्था गर्न तथा उपहार व्यवस्थापनसम्बन्धी विद्यमान कानुनी प्रबन्धलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण गर्नसमेत आदेश 

सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले विदेश भ्रमण तथा भोजमा सहभागी हुँदा प्राप्त गर्ने उपहार राज्यकै हुने फैसला सर्वोच्च अदालतले गरेको छ । त्यस्ता उपहारको एकीकृत विवरण सार्वजनिक गर्नसमेत अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

एस एन्ड जुरिस्ठका तर्फबाट चार वर्षअघि दायर रिटमा सर्वोच्चले गत १३ पुसमा गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश नृपध्वज निरौलाको इजलासले यससम्बन्धी कानुनको प्रबन्ध गर्नदेखि पदाधिकारीले राख्न पाउने र नपाउने उपहारको प्रस्ट वर्गीकरण गर्नसमेत भनेको छ । 

रिट निवेदकले विशिष्ट पदाधिकारीले विदेश भ्रमण तथा विभिन्न औपचारिक कार्यक्रममा प्राप्त गरेका सबै उपहार राज्यकोषमा दाखिला गर्नुपर्ने माग गरेका थिए । तर, सर्वोच्चले रिट खारेज गर्दै उपहार व्यवस्थापनका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । 

‘हालसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको संकेतस्वरूप प्राप्त गरेका सम्पूर्ण उपहारहरूको एकीकृत विवरण तयार गरी वेबसाइट तथा अन्य माध्यमबाट सार्वजनिक गर्नू–गराउनू,’ दुईबुँदे निर्देशनात्मक आदेशमा छ । सार्वजनिक नहुँदा यस्ता उपहार विशिष्ट पदाधिकारीले व्यक्तिगत रूपमा राख्ने गरेको आरोप लाग्दै आएको छ । 

त्यसैगरी सार्वजनिक पदाधिकारीले प्राप्त गरेका उपहारको विवरण निश्चित अवधिमा नियमित सार्वजनिक गर्ने व्यवस्था गर्न, विवरण सम्बन्धित निकायमा पेस नगर्ने पदाधिकारीको कानुनी दायित्व निर्धारण गर्न र त्यस्ता उपहारमध्ये आफैँले राख्न पाउने उपहारको वर्गीकरण गरी न्यूनतम मूल्य तोक्न सर्वोच्चले सरकारलाई निर्देशन दिएको छ । अदालतले न्यूनतम तोकिएको मूल्यभन्दा बढीका उपहार आफूले राख्न चाहेमा नेपाल सरकारसँग खरिद गर्नुपर्ने व्यवस्था गर्न तथा उपहार व्यवस्थापनसम्बन्धी विद्यमान कानुनी प्रबन्धलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण गर्नसमेत आदेश दिएको छ ।

विदेश भ्रमण, दिवा तथा रात्रिभोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ४ को खण्ड (६) मा भ्रमण सम्पन्न गरेपछि भ्रमण प्रतिवेदनसँगै भ्रमणका क्रममा दिइएको र प्राप्त गरेको उपहारको विवरणसमेत पेस गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, कूटनीतिक आचारसंहिता, २०७७ को दफा ११ को उपदफा (२) मा सार्वजनिक पदाधिकारीले लिएको उपहार कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने र सम्बन्धित कार्यालयको जिन्सी खातामा आम्दानी बाध्नुपर्ने व्यवस्था छ ।

तर, यी कानुनी तथा नीतिगत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको सर्वोच्चको ठहर छ । त्यसैले सार्वजनिक पदाधिकारीले प्राप्त गर्ने उपहार राज्यकै हुने मान्यताअनुसार त्यसको अभिलेख, सार्वजनिकीकरण र व्यवस्थापनलाई प्रभावकारी बनाउन अदालतले सरकारलाई निर्देशन दिएको हो । 

अन्तर्राष्ट्रिय अभ्यासलाई समेत आधार बनाउँदै सर्वोच्चले सार्वजनिक पदाधिकारीले प्राप्त गर्ने उपहारको समग्र व्यवस्थापनका लागि नेपालका विद्यमान कानुनी व्यवस्था आंशिक र अपर्याप्त रहेको निष्कर्ष निकालेको छ । विद्यमान कानुनअनुसार उपहारको विवरण पेस गरे–नगरेको, वेबसाइटमा सार्वजनिक गरे–नगरेको वा सम्बन्धित कार्यालयको जिन्सी खातामा आम्दानी बाँधे–नबाँधेको विषयमा नियमन तथा उल्लंघनमा कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था नरहेको पनि अदालतले औँल्याएको छ । 

फैसलामा स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार भइसके पनि कानुन बन्न नसकेको अवस्थालाई समेत उल्लेख गर्दै तत्काल उपयुक्त कानुनी प्रबन्ध गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यस्तै, फैसलाले सार्वजनिक पदाधिकारीले विदेश भ्रमण, दिवा तथा रात्रिभोज वा अन्य औपचारिक कार्यक्रममा प्राप्त गर्ने उपहार व्यक्तिगत सम्पत्ति नभई राज्यको सम्पत्तिका रूपमा अभिलेख तथा व्यवस्थापन गर्नुपर्ने कानुनी आधार थप स्पष्ट गरेको छ ।
 

सुझावित समाचार