रसुवा बाढीको असर : रोकियो बंगलादेशमा विद्युत् निर्यात

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण
  • स्रोतमा देखाइएको त्रिशूली र चिलिमे जलविद्युत् बाढीले बन्द भएपछि निर्यात स्थगन, नयाँ परियोजनामा भारतको सहमति ल्याएर निर्यात गर्ने तयारी

रसुवा बाढीले स्रोत आयोजना बन्द भएपछि बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात रोकिएको छ । १० भदौमा भोटेकोशी र त्रिशूलीमा आएको बाढीलगत्तै बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको हो । 

प्राधिकरणले भारतीय प्रसारणलाइन हुँदै १ असारदेखि ३० कात्तिकसम्म बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने गर्छ । बंगलादेशमा विद्युत् निर्यात गर्न परियोजना नै तोकेर भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । त्यसमा यसअघि २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रबाट १८.६० मेगावाट र २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रबाट २१.४० मेगावाट विद्युत्लाई स्रोत देखाएर भारतबाट अनुमति लिइएको थियो । तर, १० भदौको भोटेकोशी बाढीले बन्द गराएका ४३१.१ मेगावाटका १२ आयोजनामा यी दुई पनि परेका छन् । 

स्रोत आयोजना नै बन्द भएपछि बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक कमल आचार्यले बताए । ‘बंगलादेशमा विद्युत् निर्यात गर्न त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रलाई स्रोत देखाएर अनुमति लिएका थियौँ । तर, बाढीले ती परियोजनालाई बन्द गरायो,’ उनले भने, ‘त्यसपछि बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ । त्यो दुई आयोजनाको सट्टा अर्को दुई आयोजनाको विद्युत् बंगलादेश निर्यात गर्ने गरी भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएका छौँ । अनुमति आएपछि बगलादेशमा विद्युत् निर्यात पुनः सुरु हुन्छ ।’ 

उनका अनुसार २५ मेगावाटको काबेली बी–१ र २१.३ मेगावाटको ठुलो खोला जलविद्युत् आयोजनाको विद्युत् बंगलादेशमा निर्यात गर्नका लागि भारतसँग सहमति मागिएको छ । 

प्राधिकरण स्रोतका अनुसार विद्युत् उत्पादन कम भएर बंगलादेश निर्यात रोकिएको होइन । निर्यात गर्न पुग्ने ४० मेगावाट विद्युत् अझै पनि उपलब्ध छ । तर, स्रोत देखाइएको आयोजना नै बन्द भएपछि भारतीय ‘प्रसारण प्रणालीको सफ्टवेयर’ स्वीकार गर्दैन ।  

प्राधिकरण र बंगलादेशबिच ‘टेक अर पे’ मोडेलमै विद्युत् खरिद–बिक्री सम्झौता भएको छ । यद्यपि, विपत्का कारण निर्यात रोकिएका कारण प्राधिकरणले कुनै जरिवाना भने तिर्नुपर्नेछैन । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइन हुँदै बंगलादेश निर्यात गर्ने गरी १७ असोज ०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतापत्रको अवधि पाँच वर्षको रहेको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)बिच भएको सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिन्छ । त्यसबापत नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउनेछ ।  

भारततर्फको निर्यात पनि घट्यो
बाढीले १२ आयोजना प्रभावित गराएर उत्पादन घटाएपछि भारतर्फको विद्युत् निर्यात पनि घटेको छ । प्राधिकरणको तथ्यांकअनुसार बाढीले चार सय ३१ मेगावाटका १२ विद्युत् आयोजना बाढीले क्षतिग्रस्त भएर उत्पादन बन्द भएको छ । त्यसमा एक सय ११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सालासुंगी (सान्जेन), १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजना बाढीले क्षतिग्रस्त भई बन्द भएका छन् ।

यस्तै, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, १४.८ मेगावाटको माथिल्लो मैलुङ, पाँच मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र क्षतिग्रस्त भएका छन् । यस्तै, नुवाकोटस्थित नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाटको सोलार आयोजना पनि क्षतिग्रस्त भएको छ ।

सुझावित समाचार