तराईबाट ठुला ट्रकमा ग्यास सिलिन्डर ढुवानी हुने

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

पृथ्वी राजमार्ग सञ्चालनमा नआउन्जेलसम्म तराईका उद्योगमा ग्यास रिफिल हुने र ठुलो क्षमताका ट्रकमा ग्यास काठमाडौं ल्याइने भएको छ । बुधबार मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी, नारायणी यातायात व्यवसायी संघ र आयल निगमका प्रतिनिधिबिच तराईबाट काठमाडौंमा ग्यास ढुवानी गर्ने भाडादर तय भएको  ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।

सहमतिअनुसार हेटौँडास्थित साहारा ग्यास उद्योगले काठमाडौंका लागि एभरेस्ट र सुगम ग्यास ढुवानी गर्दा ठुलो ट्रकको भाडादर ८० हजार र ६ चक्के ट्रकको भाँडादर ५५ हजार तोकिएको छ । त्यस्तै, चितवनको खुरखुरेबाट नेपाल ग्यास काठमाडौं ल्याउँदा ठुलो ट्रकको ९३ हजार, नवलपुरको गैँडाकोटस्थित जानकी ग्यास काठमाडौं ल्याउँदा ठुलो ट्रकको ९८ हजार, चितवनको पर्साआसपासका उद्योगबाट काठमाडौं ग्यास ल्याउँदा ठुलो ट्रकको ९३ हजार, बाराको सिमरा–जितपुर क्षेत्रका उद्योगबाट काठमाडौंमा ग्यास ल्याउँदा ठुलो ट्रकको ९० हजार र बाराको कलैया तथा पर्साको वीरगन्ज क्षेत्रबाट काठमाडौं ग्यास ल्याउँदा ९५ हजार रुपैयाँ ढुवानी भाडादर तय भएको छ ।

यो ढुवानी भाडादर दुईतर्फी बाटोको भएको सहमतिपत्रमा उल्लेख छ । अर्थात् तराईबाट ग्यास भरिएको सिलिन्डर लिएर काठमाडौं आउने ट्रकले फर्केर जाँदा खाली सिलिन्डर लिएर जाने सहमति भएको छ । उद्योगीहरू बिहीबारबाटै कम्तीमा एक सय ट्रकमा ग्यास हालेर काठमाडौं पठाउने गृहकार्यमा जुटेका छन् । दैनिक दुई सय ट्रक परिचालन गरी ग्यास ढुवानी गर्ने योजनाका साथ काम गरिरहेको घिमिरेले जानकारी दिए ।

निगमले उपनिर्देशक अभिषेक ठाकुरको संयोजकत्वमा उपेन्द्र सुवेदी, सुमन पुडासैनी र विकास बखती रहेको कमिटी बनाएर हेटौँडा, चितवन, बारा, पर्सा र नलपपुरसम्मका ग्यास उद्योगको आयात, रिफिलिङ, ढुवानीलगायतका पक्षमा निगरानी गर्ने कार्यादेश पाएको छ । त्यस्तै, हवाई इन्धन आपूर्ति सहजताका लागि उपनिर्देशक रामहरि निरौलाको संयोजकत्वमा अनुपम पराजुली र मधुमास पुन रहेको कमिटी बनाएको छ । दुवै कमिटीमा रहेका कर्मचारी तराई पुगेका छन् ।

पेट्रोलियममा छैन समस्या

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले मुलुकभर खपत हुने इन्धनको ७० प्रतिशत आयात भइरहेको आयल निगमले जनाएको छ । अमलेखगन्जस्थित डिपोबाट विराटनगर, काठमाडौं, पोखरा र भैरहवासम्म पेट्रोल र डिजेल वितरण हुने गरेको छ ।

अमलेखगन्ज डिपो प्रमुख अशोक साहले पाइपलाइनमार्फत निर्बाध रूपमा पेट्रोल, डिजेल र मट्टीतेल आयात भइरहेको जानकारी दिए । ‘निगम र इन्डियन आयल कर्पोरेसनको सम्झौताअनुसार निर्बाध रूपमा पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टीतेल आयात भइरहेको छ,’ उनले भने, ‘यसरी आयात भएको इन्धन विराटनगर, काठमाडौं, पोखरा र भैरहवासम्म वितरण पनि भइरहेको छ ।’ अमलेखगन्ज डिपोमा मात्रै पेट्रोल ९० लाख लिटर र डिजेल एक करोड लिटर मौज्दात रहेको उनले जानकारी दिए । ‘आयात पनि निरन्तर रहेको र मौज्दात पनि उच्च भएकाले आपूर्तिमा कुनै समस्या छैन,’ उनले भने ।  

निगमका प्रवक्ता मनोज ठाकुरले देशभरका डिपोमा एक लाख दुई हजार किलोलिटर इन्धन भण्डारण रहेको उनले जानकारी दिए । ‘भण्डारण क्षमताअनुसार नै इन्धन मौज्दात छ,’ उनले भने । हाल पेट्रोल २८ हजार पाँच सय ४२ किलोलिटर, डिजेल ६० हजार चार सय २१ किलोलिटर, मट्टीतेल चार हजार एक सय ९५ किलोलिटर र हवाई इन्धन नौ हजार तीन सय ६८ किलोलिटर मौज्दात रहेको उनले जानकारी दिए । मौज्दात परिमाणले पेट्रोल ११ दिन, डिजेल १३ दिन, मट्टीतेल एक महिना र हवाई इन्धन १८ दिनको माग धान्ने निगमले जनाएको छ ।

See More On

सुझावित समाचार