नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्य्रानसहितको भीषण बाढीबाट धनजनको क्षति भएको थियो। बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको जनाएको छ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमाराज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले संयुक्त रूपमा सहयोग रकमबराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
कम्पनीले उक्त अप्रत्याशित प्राकृतिक विपत्तिमा भएको जनधनको क्षतिले राष्ट्रिय लाइफ परिवारलाई अत्यन्त दुःखी बनाएको जनाएको छ। उद्धार तथा राहत कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारी तथा अभिकर्ताहरूलाई समेत आग्रह गरिएको छ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सबैप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ।