हेटौँडा हुँदै काठमाडौं आउजाउ गर्न नयाँ रुट तोकियो

ठुला सवारी त्रिभुवन राजपथबाट काठमाडौं जाने, फर्किंदा कान्ति लोकपथ हुँदै फर्किने, साना सवारीका लागि पनि छुट्टै रुट

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

पहिराेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा-काठमाडौं आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ । पछिल्ला दुई दिनको सवारी चाप, वैकल्पिक सडकको क्षमता र यात्रुको सुरक्षालाई विश्लेषण गर्दै प्रशासनले भदौ १६ गतेदेखि लागू हुने गरी नयाँ रुट व्यवस्थापन सार्वजनिक गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौं आउने र जाने अधिकांश सवारी हेटौँडा हुँदै सञ्चालन भइरहेका छन् । यसकारण त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा भीमफेदी-कुलेखानी सडकमा अत्यधिक चाप बढेपछि नयाँ व्यवस्था लागू गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार १० चक्कासम्मका सम्पूर्ण मालवाहक सवारीसाधन तथा ठुला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा अनिवार्य रूपमा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ । फर्किने क्रममा भने कान्ति लोकपथ हुँदै हेटौँडा आउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रशासनले मौसम र सडकको अवस्थालाई ध्यानमा राख्दै कान्ति लोकपथ हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिंगन चेकपोस्ट पार गरिसक्नुपर्ने समयसीमा पनि तोकेको छ । साँझपछि पहिरो र दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनका लागि पनि छुट्टै मार्ग निर्धारण गरिएको छ । हेटौँडातर्फ आउँदा फर्पिङ-फाखेल-कुलेखानी हुँदै भीमफेदी प्रयोग गर्नुपर्नेछ भने काठमाडौंतर्फ जाँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह

प्रशासनले विपतजन्य अवस्था कायम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रा गर्नै परे चालकहरूले धैर्यपूर्वक आफ्नो पालोअनुसार सवारी सञ्चालन गर्न, अनावश्यक ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी, सवारीचालक तथा यात्रुलाई नयाँ व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गर्दै यसबाट वैकल्पिक सडकमा बढ्दो सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि धादिङको कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग भासिएर बन्द भएपछि काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध बनेको छ ।

त्यसयता चितवन, पोखरा, बुटवल, बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लाबाट राजधानी जाने अधिकांश सवारीसाधन हेटौँडा हुँदै सञ्चालन भइरहेका छन् । जसले मकवानपुरका वैकल्पिक सडकमा सवारी चाप बढेको छ ।

सुझावित समाचार