रसुवा र नुवाकोटका सबैभन्दा बढी प्रभावित पालिका प्रमुखहरूले सरकारसँग राहत तथा उद्धारका काम अझ प्रभावकारी रूपमा अघि बढाउन माग गरेका छन् । रास्वपा अध्यक्ष रवि लामिछानेसँगको कुराकानीमा उनीहरूले पछिल्लो अवस्थाको जानकारी गराउँदै राहत तथा उद्धारका आवश्यकताबारे ध्यानाकर्षण गराएका हुन् ।
केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त संवादमा सभापति रवि बाढीले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै स्थानीय तहका पदाधिकारीले उठाएका समस्या र आवश्यकता सुनेका थिए । सभापति रविले बाढीको क्षति, विस्थापित घरधुरी, बेपत्ता र मृत्युको संख्या, पीडितलाई राहत वितरण र वैकल्पिक सडकबारे जिज्ञासा राखेका थिए ।
संवादमा रसुवास्थित गोसाईँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले सडक सञ्जाल तत्काल पुनस्र्थापना गरी रसुवालाई मूल सडकसँग जोड्नुपर्ने, शव व्यवस्थापनको काम तुरुन्त थाल्नुपर्ने र त्यसका लागि आवश्यक सामग्रीको अभाव रहेको बताए । साथै, उनले विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।
‘शव व्यवस्थापन, राहतलगायत सामग्री ल्याउँदा स्थानीय सरकारसँग समन्वय, सडक सञ्जाल निर्माणलगायतका काम गर्न भनेको छु । उहाँले गर्नुपर्ने कुरा गर्छाैँ र स्थानीय सरकारसँग समन्वय गर्छाैँ भन्नुभएको छ,’ उनले भने, ‘पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका साथीहरूसँग छलफल गर्छु भन्नुभएको छ ।’
आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि तत्काल थप उपाय अपनाउनुपर्ने माग राखे । सीमित मात्रामा भए पनि जेनेरेटरको व्यवस्था गरेर विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
‘जलविद्युत् सुरुङमार्गभित्र फसेकाको उद्धारमा ढिलाइ भएको विषय राखेँ । हाइड्रोको सुरुङमा उद्धार टिम पुगिरहेको छैन भनेँ,’ उनले भने, ‘उहाँले उद्धार र राहतमा कुनै कमी हुन दिइन्नँ भन्नुभएको छ ।’ अध्यक्ष तामाङले राहत वितरणमा पनि पालिकासँग कुनै समन्वय नभएको गुनासो राखेका थिए । ‘राहतमा केही थाहा छैन । वडाध्यक्ष र मलाई पनि थाहा छैन,’ उनले भने, ‘उहाँले समस्या आए मलाई सिधै कनेक्ट गर्नु, मेरो सचिवालयबाट एक्सन लिन्छु भन्नुभयो ।’
कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल जोड्नुपर्ने, तातो खाना पकाउनका लागि ग्यासको पूर्ण अभाव रहेकाले तत्काल एक हजार ग्यास सिलिन्डर व्यवस्थापन गर्नुपर्ने, विद्युत् प्राधिकरणले खम्बा गाड्ने र तार तान्ने काम तुरुन्त सुरु गर्नुपर्ने बताउनुका साथै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नरहेको गुनासोसमेत गरेका थिए ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर र तत्काल समाधान गर्नुपर्ने समस्याका रूपमा प्रस्तुत गरे । उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीले नियमित जनसुरक्षाका काम गर्न नसकेको भन्दै सुरक्षा प्रत्याभूति गर्न थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उनको माग छ । ‘विपत्सँग सम्बन्धित विषय राख्यौँ, उहाँले विपत् व्यवस्थापन थप व्यवस्थित र प्रभावकारी बनाउन संघीय सरकारबाट पूर्ण साथ र समन्वय हुन्छ भन्नुभएको छ ।’
नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले सडक तत्काल खोल्नुपर्ने र विस्थापितका लागि अस्थायी वासस्थानको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा कठिनाइ भइरहेको गुनासोसमेत उनको छ । ‘कर्मचारीबाट हामीलाई सहजीकरण भइरहेको छैन । सडक अवरुद्ध छ । एउटा वडाबाट अर्काे वडामा जान घण्टौँ लाग्छ’, उनले भने, ‘सडकको स्तरोन्नति गर्न जिल्लाका लागि सडक डिभिजन कार्यालयसँग कुरा राख्दा पख्नुस्, साधन छैन, स्रोत छैन, इस्टिमेट गर्नुपर्छ भनिरहेका छन् । काम द्रुत गतिमा भइरहेको छैन ।’
गुरुङका अनुसार सभापति लामिछानेले सम्बोधन गर्ने आश्वासन दिएका छन् । ‘निर्धक्कसँग काम गर्नुस्, हामी साथमा छौँ भन्नुभयो । सत्तारूढ दलको जनप्रतिनिधिका रूपमा तदारुकताका साथ सहजीकरण गरेर उहाँले हौसला र ऊर्जा दिनुभयो,’ गुरुङले भने ।
धादिङको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले वैकल्पिक आवासको व्यवस्था तत्काल गर्नुपर्ने र त्यसका लागि कम्तीमा दुई सयवटा टेन्टको आवश्यकता रहेको सुनाए । ‘टेन्ट आवश्यक रहेको विषय राखेँ । उहाँले पहल गर्छु भन्नुभयो,’ उनले भने । उनले पालिकाभित्र जोखिममा रहेका घरहरूको अवस्थाबारे पनि अवगत गराएका छन् ।
समस्या यथाशीघ्र समाधानका लागि पहल गर्ने रविको प्रतिबद्धता
पालिका अध्यक्षहरूले उठाएका समस्या र सुझाव सुनेपछि रास्वपा सभापति रवि लामिछानेले सरकार तथा सम्बन्धित निकायसँग तत्काल छलफल गरी उठाइएका समस्या यथाशीघ्र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले त्यसै क्रममा विभिन्न मन्त्रीसँग समन्वय गर्ने कामसमेत तत्काल सुरु गरेको सो पार्टीका नेताहरूले बताएका छन् ।
भेटपछि लामिछानेले सरकारसँगको समन्वयबारे चासो राखेको संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले बताए । न्यौपानेका अनुसार लामिछानेले तीनै तहका सरकारले प्रभावकारी समन्वय गरेर काम गर्नुपर्ने बताएका थिए । ‘तीनै तहका सरकारले कम्प्लिट्ली समन्वयमा काम गर्नुपर्छ । राहत–उद्धारमा स्थानीय सरकारलाई आफ्नो भूगोल र नागरिकलगायत सबै विषयको जानकारी हुन्छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘तपाईंहरूले राख्नुभएको समस्या समाधानका लागि सरकारसँग समन्वय गर्छु ।’
बागमतीका मुख्यमन्त्रीले पनि गराए ध्यानाकर्षण
बागमतीका मुख्यमन्त्री किरण थापाले विपत्को संकटपूर्ण घडीमा पनि उद्धार एवं राहतका लागि तीन तहका सरकारबिच समन्वय हुन नसकेको गुनासो गरेका छन् । सभापति लामिछानेले पार्टी मुख्यालयमा बोलाएरै बागमतीका मुख्यमन्त्री थापासँग प्रदेश सरकारसँग गर्नुपर्ने समन्वय र पहलबारे छलफल गरेका थिए । सोही क्रममा मुख्यमन्त्री थापाले तीन तहका सरकारबिच समन्वय हुन नसकेको र जसका कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको बताएका थिए ।
मुख्यमन्त्री थापाले प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएकोमा गुनासो गरेका थिए । तीन तहमा कसले के काम गर्ने हो भनेर छुट्याउन आवश्यक रहेको मुख्यमन्त्री थापाको भनाइ थियो । प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पु¥याउन असहज भएको मुख्यमन्त्रीले बताए । मुख्यमन्त्री थापाले जलवायु परिवर्तनको असर देखिन थालेको भन्दै दीर्घकालीन रणनीति बनाएर तीन तहका सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए ।
सभापति लामिछानेले यस्तो विपत्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताए । ‘यतिवेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ,’ उनले भने, ‘संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रयास गर्छु । विपत्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले नै खेल्नुपर्छ ।’
बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा गएका नेतालाई फर्किन निर्देशन
सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा गएका पार्टीका केन्द्रीय सदस्य र सांसदलाई तुरुन्त फर्किन निर्देशन दिएका छन् । आइतबार बेलुका बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमार्फत उनले सम्बन्धित क्षेत्र र जिल्लाका सांसदबाहेक पार्टीको जानकारीबेगर गएकालाई फर्किन निर्देशन गरेका हुन् । ‘पार्टीलाई जानकारी नदिई कोही अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा जानुभएको छ भने तुरुन्त फर्किनुस् भनेर सभापतिको विशेष निर्देशन छ,’ संगठन विभाग प्रमुख न्यौपानेले भने । बैठकले सरकारको कामलाई सहयोग पुग्ने गरी पार्टीले समन्वयात्मक भूमिका बढाउने निष्कर्षसमेत निकालेको छ ।
भोटेकोशी बाढी प्रभावित पालिकाका प्रमुखहरूको गुनासो– जलविद्युत् सुरुङमार्गभित्र फसेकाको उद्धारमा ढिलाइ भइरहेको छ । शव व्यवस्थापनको काम तुरुन्त थाल्नुपर्यो । स्थानीय सरकारसँग समन्वय भएको छैन । राहतमा केही थाहा छैन । ग्यासको पूर्ण अभाव छ । कर्मचारीहरूबाट हामीलाई सहजीकरण छैन । सडक अवरुद्ध छ । सडकको स्तरोन्नति गर्नका लागि सडक डिभिजन कार्यालयसँग कुरा राख्दा पख्नुस्, साधन छैन, स्रोत छैन, इस्टिमेट गर्नुपर्छ भनिरहेका छन् । काम द्रुत गतिमा भइरहेको छैन ।