जिटुजीमार्फत भारतबाट कुल ७५ हजार टन मल खरिद गरिने

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

भारतबाट २५ हजार टन डिएपी मल जिटुजी प्रक्रियामार्फत खरिद गरिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई मल खरिद गर्न स्वीकृति दिएको हो । यो सँगै जिटुजीमार्फत भारतबाट कुल ७५ हजार टन रासायनिक मल आपूर्ति सुनिश्चित भइसकेको छ ।

मन्त्रिपरिषद्ले यसअघि ८० हजार टन मल खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएको थियो । तर, ५० हजार टन मात्रै खरिद प्रक्रिया अघि बढेको छ । कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार मन्त्रिपरिषद्ले हाल स्वीकृति गरेको २५ हजार टन डिएपी विगतकै परिमाण सीमाभित्रको हो । ‘विगतमा भएको निर्णयअनुसार ५० हजार टन मात्रै ल्याउने अवस्था भयो । त्यसैले, मन्त्रिपरिषद्बाट अर्को निर्णय गरेर २५ हजार टन डिएपी जिटुजी प्रक्रियाबाट ल्याउन सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो,’ उनले भने ।

विगतमा भएको निर्णयअनुसार २५ हजार टन युरिया र २५ हजार टन डिएपी हाल कोलकाता बन्दरगाहबाट नियमित रूपमा नेपालतर्फ आयात भइरहेको उनले जानकारी दिए । शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृति भएको २५ हजार टन डिएपीका लागि भारतलाई चाँडै पत्राचार गरेर खरिद प्रक्रिया अघि बढाइने पोखरेलले बताए ।

See More On

सुझावित समाचार