रसुवा बाढीबाट बैंकका शाखाहरू र सेवा अवरुद्ध, उद्धार तथा पुनर्स्थापनामा सघाउन बैंकिङ क्षेत्र प्रतिबद्ध

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल बैंकर्स संघले हालै रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपतका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ। सरकारको राहत, उद्धार र पुनर्स्थापना  प्रयासमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएको छ।

विपतमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। संघका अनुसार बाढी प्रभावित जिल्लाहरूमा कार्यरत अधिकांश बैंक कर्मचारीहरू सुरक्षित रहे पनि केही कर्मचारीहरूसँग हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन।

बाढी र डुबानका कारण केही बैंक शाखाहरू प्रभावित हुनुका साथै विद्युत्, इन्टरनेट र सञ्चार सेवामा आएको अवरोधले नियमित बैंकिङ सेवा सञ्चालनमा चुनौती थपिएको छ। विद्यमान कठिनाइका बाबजुद बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गरी सेवा निरन्तरता दिन र ग्राहकलाई सहयोग पुर्याउन प्रयास गरिरहेको संघले जनाएको छ ।

सरकार, नेपाल राष्ट्र बैंक र अन्य सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिँदै संघले प्रभावित कर्मचारी, तिनका परिवार तथा बाढीपीडित आमनागरिकको सहायताका लागि सदस्य बैंकहरूमार्फत आवश्यक सहजीकरण र सक्दो योगदान गर्ने स्पष्ट पारेको छ।
 

सुझावित समाचार