पाँच प्रतिशतभन्दा बढी सेयर बेच्ने सेयरधनीले सूचना सार्वजनिक गर्नुपर्ने

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो कुल सेयरमध्ये पाँच प्रतिशत वा त्यसभन्दा बढी सेयर बेच्न चाहेमा कारोबार हुनुभन्दा कम्तीमा १५ दिनअघि नै जानकारी दिनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो । सेयर बिक्री गर्न लागेको जानकारी सम्बन्धित कम्पनीलाई दिनुपर्ने र उक्त जानकारी नेप्सेमार्फत सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक गर्नुपर्नेछ । सार्वजनिक गरिएको सूचना तीन महिनासम्म मान्य हुनेछ । यस व्यवस्थाले ठुला सेयरधनीले ठुलो परिमाणमा सेयर बेच्दा बजार र लगानीकर्तालाई पहिले नै जानकारी हुने अपेक्षा गरिएको छ ।

कम्पनी ऐनअनुसार २५ करोडभन्दा कम चुक्ता पुँजी भएका कम्पनीमा पाँच प्रतिशत वा सोभन्दा बढी मताधिकार भएका र २५ करोडभन्दा बढी पुँजी भएका कम्पनीमा एक प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनीलाई आधारभूत सेयरधनी मानिन्छ ।

ठुलो सेयर वर्चस्व भएका आधारभूत सेयरधनी कम्पनीबाट बाहिरिएको विषयमा सर्वसाधारणलाई जानकारी दिन यस्तो निर्देशन जारी गरेको बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले जानकारी दिए । उनले भने, ‘ठुला सेयरधनीले किनबेच गरेको विषयमा सर्वसाधारणलाई पनि जानकारी दिनुपर्ने भएको छ । यसले धितोपत्र बजारमा पारदर्शिता कायम राख्न मद्दत पुग्ने अपेक्षा छ ।’

बोर्डले पुँजी बजार विकास मार्गचित्र, २०८३ एवं चालू आव ०८३/८४ को पुँजी बजार नीति तथा कार्यक्रममा तय भएका नियामकीय सुधार तथा विकास कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिँदै आएको जनाएको छ । सोही क्रममा धितोपत्रको कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार र धितोपत्र कारोबारको नियमन तथा अनुगमन गर्न नेपाल स्टक एक्सचेज, सिडिएस एन्ड क्लियरिङ, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, योजना व्यवस्थापक तथा डिपोजिटरी र सूचीकृत कम्पनीका लागि निर्देशन जारी गरेको हो ।

मोबाइलबाट कारोबार र डेमो ट्रेडिङमा जोड
सेबोनले सेयरको दोस्रो बजार कारोबार मोबाइल एपबाट सहज रूपमा गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । नयाँ लगानीकर्ता र विद्यार्थीलाई सेयर बजारको अभ्यास गराउन सञ्चालनमा रहेको आधिकारिक डेमो ट्रेडिङ प्लाटफर्म पनि निरन्तर र अवरोधरहित रूपमा चलाउनुपर्नेछ । साथै, कारोबारपछि बजार बन्द हुने समयपछि पनि निश्चित समयभित्र अर्डर राख्न सकिने आफ्टर मार्केट अर्डर व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्न भनिएको छ ।

टिएमएसको आइटी अडिट गर्न निर्देशन
सेबोनले सेयर किनबेचका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)बारे लगानीकर्ताबाट गुनासो आएको भन्दै नेप्सेलाई स्वीकृत प्रणालीको आइटी अडिट गर्न निर्देशन दिएको छ । अडिटपछि त्यसको प्रतिवेदन बोर्डमा बुझाउनुपर्नेछ ।

कारोबार प्रणालीमा पटक–पटक समस्या देखिँदै आएकाले समस्या पहिचान गरी प्रणालीलाई थप आधुनिक, सुरक्षित र प्रभावकारी बनाउन पनि निर्देशन दिइएको छ ।

सेबोनले कृत्रिम बौद्धिकता (एआई) वा अन्य स्वचालित प्रविधिको प्रयोगबाट सेयर किनबेच भइरहेको छ वा छैन भनेर पहिचान गर्ने व्यवस्था गर्न पनि नेप्सेलाई निर्देशन दिएको छ ।

अर्को व्यवस्था नभएसम्म एआई वा स्वचालित प्रविधिबाट आएका कारोबार आदेश पहिचान गरी रोक्नुपर्ने र यस्तो कारोबार गर्न नहुने जानकारी लगानीकर्तालाई सार्वजनिक गर्नुपर्नेछ । यससँगै एआई प्रविधिबाट सेयर कारोबार गर्न दिने वा नदिने विषयमा अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको प्राविधिक क्षमता र आवश्यक कानुनी व्यवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन पनि भनिएको छ ।

सिकेवाइसीबाटै टिएमएस खाता खोल्ने तयारी
हाल सिडिएस एन्ड क्लियरिङले सञ्चालनमा ल्याएको सिकेवाइसी प्रणालीलाई टिएमएस खाता खोल्ने प्रक्रियासँग जोड्न पनि निर्देशन दिइएको छ । यसो भएमा लगानीकर्ताले बारम्बार एउटै व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ ।

सेबोनले हालको नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्सका रूपमा कायम राख्दै बजारमा कारोबारका लागि उपलब्ध सेयर अर्थात् फ्री फ्लोट सेयरका आधारमा नयाँ सूचकांक विकास गर्न निर्देशन दिएको छ । नयाँ सूचकांकलाई बजारको मुख्य मापन अर्थात् ‘बेन्चमार्क इन्डेक्स’का रूपमा प्रयोग गर्ने तयारी गरिएको छ । यही सूचकांकका आधारमा सर्किट ब्रेकरको नियम पनि पुनरवलोकन गर्न भनिएको छ । यसका लागि कारोबारको अन्तिम १५ मिनेटको मूल्यका आधारमा नेप्से सूचकांक गणना गर्ने पुरानो व्यवस्था फेरि लागू गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिइएको छ । बजार बन्द हुने समयमा आउने मार्केट अर्डरको व्यवस्थापन र दैनिक १५ प्रतिशतसम्मको मूल्य उतारचढावमा लागू हुने सर्किट ब्रेकरको व्यवस्था पनि पुनरवलोकन गर्नुपर्नेछ । यससम्बन्धी सुझाव एक साताभित्र बोर्डमा बुझाउन भनिएको छ ।

वित्तीय अवस्थाका आधारमा वर्गीकरण गरिने
सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था, तरलता र संस्थागत सुशासनका आधारमा कम्पनी वर्गीकरण गर्ने प्रणालीलाई थप वस्तुनिष्ठ बनाउन पनि निर्देशन दिइएको छ । कम्पनीको पुँजी, प्रतिफल, तरलता र अन्य वित्तीय अवस्थाका आधारमा लगानीकर्ताले बुझ्न सक्ने विभिन्न सूचकांक विकास गर्ने तयारी छ । उदाहरणका रूपमा नेप्से–३० र उच्च बजार पुँजीकरण भएका कम्पनीको छुट्टै सूचकांक बनाउन सकिनेछ । नेप्से सूचकांकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न सूचकांक गणना गर्ने अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य अघि बढाउन पनि भनिएको छ । हालको सेन्सेटिभ इन्डेक्सलाई पनि कानुनी र प्रक्रियागत व्यवस्था मिलाएर पुनरवलोकन गर्ने उल्लेख छ ।

पहिलो कारोबार मूल्य निर्धारणमा सुधार
कम्पनी सूचीकृत भएपछि पहिलो दिन सेयर कारोबार सुरु गर्दा मूल्य निर्धारण गर्ने हालको व्यवस्थालाई पनि थप वैज्ञानिक बनाउन निर्देशन दिइएको छ । यसका लागि अन्तर्राष्ट्रिय अभ्यासअनुसार नयाँ व्यवस्था गर्ने तयारी गरिएको छ । लामो समयदेखि कारोबारमा सक्रिय नभएका सूचीकृत कम्पनीबारे पनि अध्ययन गरी आवश्यक कानुनी र प्रक्रियागत सुधारका लागि सिफारिस गर्न भनिएको छ । सूचीकृत कम्पनीका आधिकारिक सूचना व्यवस्थित रूपमा सार्वजनिक गर्न छुट्टै पोर्टल विकास गरी सञ्चालनमा ल्याउनुपर्ने भएको छ । नेप्सेलाई हरेक महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम गर्न पनि निर्देशन दिइएको छ ।

See More On

सुझावित समाचार