एकै घटनाले परिवारको संसार उजाडिएको छ । काठमाडौंको शंखमूलस्थित एउटा होस्टेलमा २२ वर्षीय वसन्त कालाथोकीको चक्कु प्रहारबाट हत्या भएको खबरले परिवार शोकमा डुबेको केही घण्टामै अर्को दुःखद घटना भएको छ । छोराको मृत्युको पीडा सहन नसकेकी उनकी ३८ वर्षीया आमा पनि दाङस्थित आफ्नै घरमा मृत भेटिइन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया रहेका रोमहर्ष छोरा र श्रीमतीको मृत्युको खबर पुगेपछि नेपाल फर्कँदै छन् ।
मृतक कालाथोकी घोराही उपमहानगरपालिका– १७ का स्थानीय हुन् । उनको मृत्युको खबर सुनेपछि ३८ वर्षीया आमा विनाको पनि मृत्यु भएको बताइएको छ । उनी शनिबार दिउँसो घरमै मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार छोराको मृत्युको पीडा सहन नसकेपछि विनाको मृत्यु भएको प्रारम्भिक रिपोर्ट छ ।
‘होस्टेलमा हत्या गरिएका वसन्तकी आमाको पनि मृत्यु भएको खबर हामीले थाहा पायौँ । अत्यन्तै दुर्भाग्यपूर्ण घटना हुन पुग्यो,’ काठमाडौं परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले नयाँ पत्रिकासँग भने, ‘वसन्तको मृत्युको खबर होस्टेलभित्रकै मान्छेले आमालाई सुनाएका रहेछन् । यस्तो संवेदनशील घटनामा अलि सचेत हुनुपर्ने थियो ।’
अहिलेसम्म उपलब्ध सूचनाका आधारमा प्रहरीले शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा भएको हत्या क्षणिक उत्तेजनाको परिणाम रहेको बताएको छ । होस्टेलमा शुक्रबार २२ वर्षीय वसन्तको चक्कु प्रहार गरी हत्या गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा संलग्न बारा कलैया उपमहानगरपालिका– ३ का १९ वर्षीय शेखर यादव र १९ वर्षकै प्रमित पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू वसन्तसँगै एउटै होस्टेलमा बस्दै आएका थिए । शुक्रबार बिहान यादव र पटेल हतियारसहित कालाथोकी बसेको कोठा नं. १०९ प्रवेश गरेका थिए, जहाँ दुई पक्षबिच विवाद भएको पाइएको छ । सोही विवाद झडपमा परिणत भएपछि पटेलले साथमा राखेको चक्कु निकाली कालाथोकीलाई प्रहार गरेका थिए । यादवले कोठामा राखिएको टेबुल उठाएर टाउकोमा प्रहार गरेको पाइएको छ ।
घटनापछि यादव र पटेल फरार थिए । कालाथोकी भाग्ने क्रममा होस्टेलको प्यासेजमा निस्किएका थिए । त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले कालाथोकीलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएको थियो । गम्भीर चोट लागेको उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी थापाले क्षणिक उत्तेजना नियन्त्रण गर्न नसक्दा युवाले ज्यान गुमाउनुपरेको बताए । ‘चक्कु प्रहारबाट युवाको मृत्यु भएको देखिन्छ । घटनाको थप अनुसन्धान भइरहेको छ, विवादको जड अझै खुलेको छैन,’ उनले भने ।
प्रहरीले होस्टेल सञ्चालक महोत्तरी लोहरपट्टी नगरपालिका– ६ का २३ वर्षीय आलोक ठाकुरलाई पनि पक्राउ गरेको छ । होस्टेल सुरक्षामा लापरबाही देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मृतकका परिवार पक्षले उनीविरुद्ध पनि जाहेरी दिएको छ । पक्राउ परेका तीनैजनाविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिदिएको छ ।