निरन्तर ओरालो लागिरहेको सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.१७ अंकले बढेर २,६२९.४० विन्दुमा पुगेको हो।
यस दिन चार अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको छ। कुल ९५ लाख कित्ता सेयर ४७ हजार ९१९ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
कारोबार रकममा एग्रिकल्चरल बन्ड र रिलायन्स स्पिनिङ मिल्सको उल्लेख्य योगदान रह्यो। एग्रिकल्चरल बन्डको ५० करोड तथा रिलायन्स स्पिनिङ मिल्सको ३० करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस्तै, सोलु हाइड्रोपावरको २२ करोड, साहस ऊर्जा र सुपर मादी हाइड्रोपावरको समान १६ करोड रुपैयाँको कारोबार भयो।
बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढेको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सका लगानीकर्ता सर्वाधिक लाभान्वित भए। दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। अन्य बढ्ने कम्पनीका लगानीकर्ताले अधिकतम ६.६३ प्रतिशतसम्म कमाएका छन्। यता १३२ कम्पनीकै सेयर मूल्य घटेको छ।