तरकारी तथा फलफूलमा विषादी जाँच प्रभावकारी नहुँदा उपभोक्ताको भान्सासम्मै विषादी पुग्ने गरेको छ । तराईका जिल्ला मात्रै होइन, पहाडी जिल्लाबाट विषादीयुक्त तरकारी तथा फलफूल बजारमा पुग्न थालेको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा गरिएका विभिन्न नमुना जाँचमा पहाडी जिल्लाबाट आउने तरकारीमा समेत विषादीको मात्रा बढी प्रयोग भएको पाइएको हो ।
प्रयोगशालाका नायब प्रविधिक सहायक राजीव भण्डारीका अनुसार मंगलबार मात्रै पाल्पाबाट भित्रिएको डल्ले खुर्सानीको नमुना जाँच गर्दा विषादीको मात्र धेरै भेटिएको हो । अर्गानोफस्फेटको मात्र ४९.९१ प्रतिशत भेटिएपछि खुर्सानी विसर्जन गरिएको थियो । सो विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म रहेमा चार–पाँच दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गरी ३५ प्रतिशतभन्दा कम आएमा उपभोग्ययोग्य मानिन्छ । तर, ४५ प्रतिशतभन्दा धेरै भेटिएमा खान अयोग्य हुने हुँदा विसर्जन गनुपर्ने हुन्छ ।
यसअघि ५ साउनमा सल्यान कपुरकोटबाट ल्याइएको खुर्सानीमा पनि विषादीको मात्रा धेरै भेटिएपछि विसर्जन गरिएको थियो । सल्यानबाट ल्याइएको खुर्सानीमा अर्गानोफस्फेटको मात्रा ५९.५२ प्रतिशत भेटिएको थियो । बुटवलमा गत आर्थिक वर्षमा विषादी जाँच गर्दा नौवटा नमुनामा विषादीको मात्रा अत्यधिक भेटिएको थियो । चालू आर्थिक वर्षमा पनि चेकजाँच गरिएका नमुनामध्ये साउनमा दुई दिन विषादीको मात्रा धेरै प्रयोग भएका विषदीयुक्त तरकारी फेला परेका छन् ।
बुटवलमा २७ जिल्लाका तरकारी
बुटवल कृषिउपज थोक बजार केन्द्रमा गत आर्थिक वर्षमा नेपालका २७ जिल्लाका अतिरिक्त भारत र चीनबाट समेत भित्रिएको तरकारी तथा फलफूलका नमुना चेकजाँच गरिएको थियो । भित्रिएका तरकारी तथा फलफूलमध्ये गत आर्थिक वर्षमा तीन हजार एक सय नमुना परीक्षण गरिएको थियो । जसमा राष्ट्रिय उपज दुई हजार ८६७ र अन्तर्राष्ट्रिय उपज २३३ थिए । भारतका २२१ र चीनका १२ वटा थिए । यीमध्ये तरकारी तीन हजार एक र फलफूल ९९ वटा रहेको तथ्यांक छ ।
तीन जिल्लाबाट भित्रिए विषादी धेरै भएका तरकारी तथा फलफूल
बुटवलमा गत वर्ष विभिन्न जिल्लाबाट भित्रिएका तरकारी तथा फलफूलमध्ये तीन जिल्लाका केही तरकारी तथा फलफूल नष्ट गर्नुपरेको थियो । जसमा रुपन्देहीका ६ वटा थिए । रुपन्देहीको मर्चवारीबाट भित्रिएका चार र शुद्धोधन गाउँपालिकाबाट भित्रिएका दुईवटा नमुना जाँचमा धेरै विषदी भेटिएपछि नष्ट गरिएको थियो ।
त्यस्तै, चितवनको भरतपुरका दुई र मकवानपुरको थाहा नगरपालिकाको एउटा नमुनामा विषादीको मात्रा धेरै पाइएपछि नष्ट गरिएको थियो । नष्ट गरिएका तरकारीमा ब्रोकाउली, रायोसाग, तने बोडी, काउली, काँक्रो छन् । सहायक प्रविधिक भण्डारीका अनुसार गत आर्थिक वर्षमा ९३५ किलो तरकारी नष्ट गरिएको थियो । यीमध्ये सबैभन्दा धेरै विषादी रायोसागमा प्रयोग भएको पाइएको थियो । अर्गानोफस्फेटको मात्रा ४५ प्रतिशतभन्दा धेरै प्रयोग भएको तरकारी खान अयोग्य मानिन्छ, तर मानपकडीबाट भित्रिएको रायोसागमा ९८.९४ प्रतिशत प्रयोग भएको पाइएको थियो ।
बुटवलमा सल्यान, चितवन, धादिङ, रुपन्देही, बारा जिल्लाबाट ल्याइएका विभिन्न तरकारीमा विषादीको मात्रा धेरै पाइएपछि क्वारेन्टिन गरिएको थियो । त्यस्तै, भारतबाट ल्यायएको काँक्रोमा पनि विषादीको मात्रा धेरै पाइएपछि क्वारेन्टिन गरिएको थियो । काँक्रा, केरा, खुर्सानी, घिरौला, रायोसागलगायत तरकारी तथा फलफूल गरी दुई हजार दुई सय किलो क्वारेन्टिन गरिएको थियो । यीमध्ये कुनै कुनै तरकारीमा कार्बामेट ४४.६५ प्रतिशतसम्म पाइएको थियो । त्यस्तै, अर्गानोफस्फेट ४३.८ प्रतिशतसम्म पाइएको थियो ।
चेकजाँच र कारबाही प्रक्रिया फितलो
तरकारी तथा फलफूलमा विषादीको मात्रा धेर हुने पाइए पनि चेकजाँच र कारबाही प्रक्रिया भने फितलो छ । फलफूल तथा तरकारी उत्पादन हुने सम्बन्धित पालिकामा यसको चेकजाँच नगर्ने तथा बुटवलमा भित्रिएपछि पनि चेकजाँच प्रभावकारी नरहेको गुनासो बढ्दो छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका नायब प्रविधिक सहायक राजीव भण्डारी बिहान साढे ४ बजेबाट नमुना संकलन थालिने र चेकजाँच गरेको रिपोर्ट ६ बजेपछि मात्रै आउने बताउँछन् । तर, रिपोर्ट नआउँदै तरकारी तथा फलफूल बजारबाट बाहिरिने गर्दछ ।
लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका पूर्वअध्यक्ष वजिर शाह नमुना संकलन समयमै नहुने र रिपोर्ट पनि समयमै नआउने गर्नाले विषादी भान्सासम्मै पुग्ने गरेको बताउँछन् । बिहान ३ बजेबाटै विक्री वितरण सुरु हुने, तर नमुना संकलन ढिला सुरु हुने र रिपोर्ट आउन ८–९ सम्म बज्ने भन्दै उनले रिपोर्ट आउने वेलासम्ममा उपभोक्ताले विषादी खाइसक्ने अवस्था रहेको बताए । ‘विभिन्न कार्यालयमा काम गर्नेहरूको बिहान ८ बजे खाना खाने समय हुन्छ, यहाँबाट किनेर लगेको तरकारी पकाएर खाइसकेपछि मात्रै रिपोर्ट आउने परिपाटीले उपभोक्ताले विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता छ,’ उनी भन्छन् ।