पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा बहस गरिरहेका नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले ‘आवारा र अनुशासनहीन व्यक्तिहरू’ भनेर टिप्पणी गरेका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सुझाव कार्यदलले तयार पारेको नेतृत्व पुनर्गठन र पद छाड्नुपर्ने विषय समेटिएको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै ‘होल्ड’ राखेका ओलीले पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।
२१ फागुनमा भएको निर्वाचनमा झापा ५ मा प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि पहिलोपटक गृहजिल्ला आएका ओलीले शनिबार इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधन गर्दै महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म नेतृत्व नछाड्ने जिकिर गरे । ओलीको विकल्प खोज्नुपर्ने बहस फराकिलो हुँदै गएका वेला ओलीले नेतृत्वमा आफ्नो निरन्तरता रहने स्पष्ट पारेका हुन् ।
एमालेभित्र ओलीको विकल्प खोजिँदै आएको छ । विगतमा उनीनिकट महासचिव शंकर पोखरेलसहितका नेता अहिले विपक्षमा छन् । उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा बनेको कार्यदललाई पनि ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव आएपछि ओली आफ्नै नेता–कार्यकर्तासँग आक्रोशित भए । उनले आफ्नै नेता–कार्यकर्तालाई आवाराको संज्ञा दिए ।
ओलीले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको र विरोधीको तीव्र प्रहार झेल्न मुस्किल भएकै वेला कतिपय नेता–कार्यकर्ता अध्यक्ष हटाउने भन्दै हिँडेको गुनासो गरे । ‘पार्टीमा अहिले अनुशासनहीनता र अराजकता बढेको छ । पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन् । अध्यक्ष हटाउने कुरा ठट्टा हो ? पार्टी सदस्य छ कि छैन ? उरन्ठेउलाहरू भेला भएका छन् । चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउन भनेका छन्,’ ओलीले भने, ‘के मजाक हो यो ? कोही अध्यक्ष हटाउन हस्ताक्षर गर्दै हिँडेको छ । त्यसका पछाडि केही दम छैन । कति वेला के गर्ने भन्ने पार्टीको विधि, प्रक्रिया र समय हुन्छ । अस्ति भर्खर पार्टीको महाधिवेशन भएको छ । हामीलाई पनि थाहा छ । कोही केन्द्रीय सदस्य बनेको होला । जति वेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भएको छ, पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा यतिवेला अध्यक्ष हटाउँछ भनेको छ । तर, केही हुनेवाला छैन । यी सबै बेकारका कुरा हुन् ।’
ओलीले पार्टीको केन्द्रीय समिति बैठकपछि पार्टीलाई एकताबद्ध र अनुशासित बनाएर अघि बढ्ने तथा पार्टीविरोधी गतिविधि गर्नेलाई कठोर कारबाही गर्ने चेतावनी दिए । ‘यो अराजकता, मनपरीतन्त्र, पार्टीको विरोध गरेर हिँड्न पाइने, जे पायो त्यही स्टाटस लेख्न पाइने, यस्तो खालको हुँदैन,’ ओलीले भने, ‘पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यो पार्टीको अनुशासन के–के छ गरे हुन्छ । पार्टीमा नबस्ने चुप लागेर घरमै बस्ने हो भने बसे हुन्छ । पार्टीमा काम गर्ने हो भने पार्टीको अनुशासन मान्नुपर्छ ।’ उनले पार्टी नफुट्ने, नबिग्रिने बताए ।
ओलीले एमाले नफुट्ने र नबिग्रिने दाबी गर्दै कार्यकर्तालाई इमानदार बन्न पनि आग्रह गरे । अध्यक्ष ओलीले पार्टी फुट्दा पनि विगतको निर्वाचनमा सर्वाधिक लोकप्रिय मत ल्याएको बताउँदै यसपटक पार्टी नफुट्दा पनि २८ लाखबाट १४ लाखमा मत खुम्चिएको बताए । ‘पार्टी नबदल्ने रे, भोट अन्त हाल्ने रे । अन्त भोट हाल्ने यस पार्टीको कार्यकर्ता हुन्छ ? अन्त भोट हाल्ने कार्यकर्ता यस पार्टीको हुने ?’ ओलीले भने, ‘हलो अर्काको जोत्ने, भात यहाँ खाने ? पद यहाँ चाहिने, काम अर्काको गर्ने ?’
ओलीले वर्तमान सरकार भवितव्यले बनेको टिप्पणी गरे । उरन्ठेउलाहरूको सरकार भएको समेत उनले दाबी गरे । ‘देश अगाडि बढ्ने भयो भनेपछि आगो लगाइयो, तोडफोड गरियो । विदेशीहरूका एजेन्टले यहीँ आएर तालिम दिए । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, देशभर, नेताहरूको घर आगो लगायो भने आतंक मच्चाइयो भने सबै थर्कमान हुन्छन् । संविधान उल्ट्याउन सकिन्छ । एउटा कठपुतली सरकार बनाएर, नक्कली सरकार बनाएर, असंवैधानिक सरकार बनाएर, त्यसले चुनाव गराएर सबै कब्जा गरेर बोल्न नसक्ने बनाए,’ ओलीले भने, ‘नक्कली चुनावबाट सरकार बनाइयो । सरकारले जे गर्न सक्थ्यो त्यही गर्दै छ । एउटा बच्चालाई खाना बनाउन लगाउनुभयो भने के गर्छ ? अनि त्यो पुरानालाई हुँदैन नयाँले गर्नुपर्छ भनेपछि तरकारी काट्दा आफ्नै हात काट्छ । हरेक तरकारी काट्दा बेग्लै ढंगले काट्नुपर्छ । उसलाई के थाहा ? नयाँहरूले सरकार बनाएपछि यस्तै हुन्छ । कहिल्यै ननाचेको मान्छेलाई यसले राम्रो नाच्छ भनेर नाच्न लगाउँदा हुन्छ ? डान्सर नै चाहिन्छ । जानेकाले गर्ने ठाउँमा त्यस्ता उरन्ठेउला केटाहरू ल्याइयो । अहिले माननीय बनेका केहीका नाम सम्झिनुस् त कस्ता छन् ? देश बर्बाद हुँदै छ । संविधान मिचियो ।’
विमानस्थलबाट पूर्व आउने क्रममा भएको सुरक्षा जाँचप्रति पनि ओलीले आपत्ति जनाए । ‘मेटल डिटेक्टर लगाउँछ । के खोजेको हो ? के बरामद गर्न खोजेको ? अनि छाम्छ फेरि । के छामेको हो ? मेरो शरीरमा । शरीरमा बम बोकेर हिँड्छु ? गाजा बोकेर हिँड्छु ? काठमाडौंमा उदुमै गर्यो,’ ओलीले भने, ‘भद्रपुरमा आउँछु त्यहाँ पनि जाँच्छ । न मसँग १९० तोला सुन छ, न म गँजेडी हो । यिनीहरूको काम यस्तै हो गर्नुपर्ने काम गर्दैनन् । सिमानामा तस्करी भएको–भयै छ ।’
मुख्यमन्त्री कार्की गएनन् स्वागत गर्न
ओली आउँदा सधैँजसो स्वागत गर्न पुग्ने र ओलीसँगै कार्यक्रममा सहभागी हुने कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले सचिव हिक्मतकुमार कार्की भने यसपटक स्वागत गर्न पुगेनन् । ओली चुनावमा प्रतिस्पर्धा गर्दै आएको निर्वाचन क्षेत्र झापा ५ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) बाट दुईपटक निर्वाचित मुख्यमन्त्री कार्की र अध्यक्ष ओलीबिच पछिल्लो समय खटपट छ । पछिल्लो समय एमाले महासचिव शंकर पोखरेलसँग नजिक भएपछि अध्यक्ष ओली र कार्कीको सम्बन्ध चिसिएको चर्चा हुँदै आएको छ । नेकपासँगको सहकार्यमा प्रदेश सरकारमा गठबन्धन परिवर्तन हुँदा ओली कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन चाहन्थे । ओलीले उनलाई हटाउन कसरत पनि गरे । तर, अन्ततः ओली पछि हट्नुपर्ने बाध्यता आइपरेको थियो ।
ओली शनिबार भद्रपुर विमानस्थल हुँदै इलामको सूर्योदय नगरपालिकामा भएको एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधन गर्न पुगेका थिए । उनी आइतबार बिर्तामोडस्थित एमाले झापाको मिसन पार्टी जागरण अभियानमा सहभागी हुनेछन् ।