पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार काठमाडौँ फर्किएका हुन्।
गत भदौमा जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरिएको थियो। उनको घरमा आगजनी गरिएको थियो।
त्यसपछि उपचारका लागि उनी सिंगापुर गएका थिए। पछिल्लो पटक फागुनमा थप उपचारका लागि सिंगापुरहुँदै हङकङ पुगेका थिए।
देउवा स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित उनको भव्य स्वागत गरिएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौँ आएका देशभरका कांग्रेस कार्यकर्तासमेत उनको स्वागतका लागि विमानस्थल पुगेका थिए।
देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुने संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ।