‘पुरानै प्रोटोकल’मा फर्के प्रधानमन्त्री

साढे चार महिनापछि एक्ला–एक्लै भेटे भारतीय र चिनियाँ राजदूत

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

कुनै पनि देशका राजदूतसँग एकल भेट नगर्ने पूर्ववत् अडानबाट पछि हट्दै प्रधानमन्त्री बालेन्द्र शाहले एकै दिन दुई छिमेकी देशका राजदूतसँग छुट्टाछुट्टै भेट गरेका छन् । विगतमा छिमेकी तथा नेपालका लागि महत्वपूर्ण मुलुकका राजदूतहरूले प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कूटनीतिक प्रचलन तोडेको बताएका प्रधानमन्त्री शाह अन्ततः उही प्रचलनमा आएका हुन् ।

पदभार सम्हालेको साढे चार महिनापछि प्रधानमन्त्री शाहले आफैँले सेट गरेको भनिएको प्रचलन तोडेर भारतीय राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत झाङ माओमिङलाई बेग्लाबेग्लै शिष्टाचार वार्तामा बोलाएका हुन् । प्रधानमन्त्री शाहको कदम सकारात्मक रहेको भन्दै पूर्वराजदूतले परिवर्तित ‘प्रोटोकल’बारे उनले स्पष्ट गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

गत २५ चैतमा प्रधानमन्त्रीले नेपालमा रहेका छिमेकी मुलुकसहितका राजदूतसँग सामूहिक वार्ता गरेका वेला उनका राजनीतिक सल्लाहकार असिम शाहले ‘सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने’ बताएका थिए । तर, चार महिनापछि पूर्ववत् अडानबाट पछि हटेर प्रधानमन्त्री शाहले सोमबार बेग्लाबेग्लै भेटवार्ता गरे ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरुमा भारतीय र त्यसपछि चिनियाँ राजदूत शिष्टाचार भेटका लागि पुगेका थिए । छिमेकी राजदूतहरूसँग उनले गरेको दोस्रो र तेस्रो द्विपक्षीय भेट हो । यसअघि उनले २३ असारमा एसियाली विकास बैंकका अध्यक्ष मासाको कान्दासँग पहिलो द्विपक्षीय भेट गरेका थिए ।

भारतीय राजदूतसँगको भेटमा प्रधानमन्त्रीसँगै भारत डेस्क हेर्ने दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी एवं भारतीय दूतावासका नियोग उपप्रमुख डा.राकेश पाण्डे थिए । यसैगरी, चिनियाँ राजदूतसँग प्रधानमन्त्रीको भेटमा चीन डेस्क हेर्ने उत्तरपूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना तथा चिनियाँ दूतावासका अधिकारी सहभागी थिए । प्रधानमन्त्रीको सचिवालयका सदस्य पनि भेटवार्तामा सहभागी थिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार भारतीय राजदूतसँगको भेटमा नेपाल–भारतबिचका द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ । यस्तै, चिनियाँ राजदूतसँगको भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले दुवै छिमेकीलाई नेपालमा लगानीका लागि थप अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताएका थिए । उनले दुवै छिमेकीसँग विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेकोसमेत उल्लेख गरेका थिए ।

प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन् । यस्तै, सरकार राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशा स्थिर बनाउन प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै नेपालले साझा समृद्धिको लक्ष्यद्वारा सरकारको बाह्य सम्बन्ध निर्देशित रहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले भारतका संवेदनशीलता सम्बोधन गर्न नेपाल सरकार तयार रहेको स्पष्ट पारेका थिए । साथै, उनले भारतसँग आर्थिक विकास र पूर्वाधारका क्षेत्रमा सहकार्य गर्न नेपालले चाहेको पनि बताएका थिए । जनताले देखिने गरी नेपाल–भारत सहकार्य हुनुपर्नेमा उनको जोड थिए ।

प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबिचको आपसी सम्बन्ध र सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए । राजदूत श्रीवास्तवले भारत भ्रमणको निमन्त्रणासमेत स्मरण गराएको स्रोतको भनाइ छ । प्रधानमन्त्री शाहले उपयुक्त समयमा भारत भ्रमणमा जाने जवाफ दिएका थिए ।

भेटपछि भारतीय राजदूत श्रीवास्तवले बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने विषयमा गहन तथा फलदायी विचार, विमर्श भएको बताए । ‘आज बिहान नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्न पाउँदा सम्मानित महसुस गरेको छु । प्रधानमनत्री मोदीजीका तर्फबाट उहाँलाई न्यानो शुभकामना व्यक्त गरेँ । भारत–नेपालबिचको सुदृढ बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने विषयमा गहन तथा फलदायी विचार, विमर्श भयो,’ उनले भनेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार चिनियाँ राजदूतसँगको भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको छ । भेटवार्ताको संयोजन परराष्ट्र मन्त्रालयले गरेको थियो ।

‘भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो,’ प्रधानमन्त्री कार्यालयद्वारा प्रेषित प्रेस नोटमा भनिएको छ । जानकार स्रोतका अनुसार प्रधानमन्त्री शाहले एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्‍याएका थिए । प्रधानमन्त्रीले ताइवानलगायतका विषयमा नेपालको पूर्ववत् नीति नै वर्तमान सरकारको पनि नीति रहेको स्पष्ट पारेका थिए ।

चीनसँग बिआरआईअन्तर्गत सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले वर्तमान सरकारको प्राथमिकता सुशासन र विकास रहेको उल्लेख गर्दै छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग नेपालले विकास कूटनीति अवलम्बन गर्न चाहेको बताएका थिए ।

राजदूत झाङ माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबिचको आपसी सम्बन्ध र सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै राजदूत माओमिङले नेपालको विकासमा सक्दो सहयोग गर्न चीन तत्पर रहेको बताएका थिए ।

चिनियाँ राजदूत माओमिङले विन–विन सहकार्य थप गहिरो बनाउने तथा नेपाल र चीनका जनतालाई थप लाभ हासिल गर्ने दिशामा अघि बढ्न सहमति भएको बताए । ‘आज अपराह्न सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्न पाउँदा खुसी लाग्यो । हामीले साझा हितका द्विपक्षीय तथा व्यावहारिक सहकार्यमाथि मैत्रीपूर्ण वातावरणमा विचार आदनप्रदान गर्‍यौँ । हामी विन–विन सहकार्य थप गहिरो बनाउने तथा नेपाल र चीनका जनतालाई थप लाभ हासिल गर्ने दिशामा अघि बढ्न सहमति भयौँ,’ उनले भनेका छन् ।

भारतका लागि पूर्वराजदूत डा. लोकराज बरालले प्रधानमन्त्रीले थालेको कदम सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्रीले नेपालका महत्वपूर्ण छिमेकी भारत र चीन तथा देशका महत्वपूर्ण सम्बन्ध रहेका मुलुकका राजदूतहरूसँग पहिले नै भेट्नुपर्थ्यो । उनले चार महिनापछि भए पनि भेटको सुरुवात गरेका छन्, यो सकारात्मक छ । प्रधानमन्त्रीले ‘प्रोटोकल’को अमूर्त कुरा हेर्ने होइन, देशको बृहत् राष्ट्रिय हितका आधारमा वैदेशिक सम्बन्ध सञ्चालन गर्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

यस्तै, भारतका लागि अर्का पूर्वराजदूत दीपकुमार उपाध्यायले ‘युटर्न’भएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । ‘प्रोटोकल कायम राख्ने भेटघाट व्यवस्थित गर्छु भनेका प्रधानमन्त्री फेरि ‘युटर्न’ भएका छन् । उनले विगतमा किन भेटवार्ता गरेनन् र अहिले किन गरे भन्ने जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले के गर्न खोजेका हुन्, स्पष्ट पार्नुपर्छ । विदेश नीति सञ्चालन पपुलिज्ममा नभई राष्ट्रिय हितमा र परिपक्वता हुनुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

सरकार गठनपछि प्रधानमन्त्रीका कूटनीतिक भेटहरू

पहिलो, २५ चैतमा १७ राजदूतसँग सामूहिक भेट
प्रधानमन्त्री बालेन्द्र शाहले २५ चैतमा १७ देशका राजदूत एवं कूटनीतिक प्रतिनिधिलाई सामूहिक शिष्टाचार भेट दिए । १३ चैतमा राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण गरेलगत्तै प्रधानमन्त्री शाहलाई त्यहीँ बधाई ज्ञापन गरेका राजदूतहरूले १२ दिनपछि सामूहिक रूपमा शिष्टाचार भेटको अवसर पाएका थिए । कार्यभार सम्हालेपछि विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको त्यो नै पहिलो सामूहिक भेट थियो, जहाँ उनले ४ मिनेट सम्बोधन गरेका थिए । जहाँ भारत, चीन, अमेरिका, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबियाका राजदूत/मिसन प्रमुख एवं तथा संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि थिए ।

दोस्रो, १२ जेठ, इयूसम्बद्ध राजदूतहरूसँग सामूहिक भेट 
प्रधानमन्त्री शाहले १२ जेठमा नेपालमा रहेका तथा भारतबाट आएका युरोपेली संघआबद्ध देशका राजदूत तथा नेपालस्थित अन्य राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका थिए । प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञहरूसँग सामूहिक भेटवार्ता गरेको त्यो दोस्रोपटक थियो ।

तेस्रो, २३ असार, एडिबी अध्यक्ष मासातो कान्दासँग भेट
२३ असार, एडिबी अध्यक्ष मासातो कान्दासँग प्रधानन्त्री बालेन शाहले सिंहदरबारमा भेटवार्ता गरे । एकजना मात्रै विदेशी उच्चस्तरीय प्रतिनिधिसँग उनले गरेको यो पहिलो भेट थियो । बेग्लाबेग्लै समयमा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री पल कपुर, दक्षिण एसिया तथा मध्य एसिया हेर्ने अमेरिकी विशेष दूत सर्जिओ गोर तथा उपविदेशमन्त्री बी सारा बि रोजर्जलाई प्रधानमन्त्रीले भेटेनन् । नेपाल आएका चिनियाँ विदेश मन्त्रालयमा उपमन्त्री काओ जिङसँग पनि प्रधानमन्त्री बालेनले भेट गरेका थिएनन् । 
 

सुझावित समाचार