राष्ट्रिय एकता र सामाजिक सदभाव जोगाउने कुरामा उच्च सतर्कता अपनाउन सांसद परियारकाे आग्रह

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

रास्वपा सांसद प्रकाशचन्द्र परियारले  पछिल्लो समय सुनसरीमा भएका घटनाक्रम र सामाजिक सदभाव भड्काउने तथा सहिष्णुतामाथि असर पार्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सामाजिक सदभाव जोगाउने कुरामा सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई विभिन्न धर्म र संस्कृतिले एक–अर्काको सम्मान गर्दै आएको देशका रूपमा चित्रण गर्दै पशुपतिनाथदेखि हलेसी त्रिधाम र छठ पर्वसम्मका उदाहरण प्रस्तुत गरे। नेपालको पहिचान धार्मिक सहअस्तित्व भएकाले त्यसैले समाजमा विभाजन ल्याउने कुनै पनि प्रयासप्रति सबैले सतर्क हुनुपर्नेमा उनले जोड दिए। 

सुनसरीमा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थ्यलाभको कामना तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरे। साथै घटनापछि सरकारको सक्रियताप्रति आभार व्यक्त गर्दै सामाजिक सदभाव बिगार्ने गतिविधिमाथि कडा निगरानी आवश्यक रहेको बताए।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता देशको शक्ति भएको उल्लेख गर्दै त्यसलाई विभेद र विभाजनको हतियार बन्न नदिन सबै राजनीतिक दल, सरोकारवाला निकाय र नागरिक एकजुट हुनुपर्नेमा उनले जोड दिए । 

सुझावित समाचार