बिहान घाँसेमैदानमा हात्तीसँगै चर्दै रमाउने र साँझ आफैँ इन्क्लोजर (खोर) नजिकै बास बस्ने कोशी टप्पु वन्यजन्तु आरक्षका दुई एकसिंगे पोथी गैँडा अहिले जवान भइसकेका छन् । तर, भाले गैँडाको अभावले कोशी टप्पुमा गैँडाको वंश विस्तार गर्ने सरकारी योजना रोकिएको अवस्थामा छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट स्तानान्तरण गरेर असोज ०८० मा कोशी टप्पु ल्याइएका ‘पुष्पा’ सात र ‘अञ्जली’ ६ वर्षकी भइन् । दुवै प्रजननयोग्य उमेरमा पुगेका छन् । संरक्षणकर्मीका अनुसार उनीहरूको व्यवहारमै प्रजननको संकेत देखिन थालेको छ । तर, आरक्षमा एउटा पनि भाले गैँडा नहुँदा प्रजनन सम्भव हुन सकेको छैन ।
आरक्षको सप्तरीको कञ्चनपुर नगरपालिकामा रहेको पथरी सेक्टरमा दुवै गैँडा राखिएका छन् । सोही सेक्टरका निमित्त प्रमुख रेन्जर रामजीवन साह भन्छन्, ‘दुवै गैँडा पूर्ण रूपमा जवान भइसकेका छन् । वेला–वेला भाले खोजेजस्तो व्यवहार गर्छन् । उमेर बढेसँगै निकै सक्रिय पनि भएका छन् । दुःख पनि दिन थालेका छन् । गैँडाले आफू बस्ने खोर पनि भत्काएका छन् । यहाँ भाले गैँडा नै छैन, झनै दुःख दिने भयो ।’
साहका अनुसार पछिल्लो समय दुवै गैँडा घेराबेरा नाघेर बाहिर निस्कन खोज्ने, वरपर डुल्ने र असामान्य रूपमा चञ्चल हुने, घेराबेरा तोडेर किसानको धानखेत नष्ट गरिदिने गरेका छन् । गैँडाको यसै क्रियाकलापलाई उनीहरूले प्रजनन उमेरसँग जोडेर हेरेका छन् ।
स्थानान्तरण गरेर पुष्पा र अञ्जलीलाई चितवनबाट ल्याउँदा नयाँ वातावरणमा अभ्यस्त बनाउन निकै चुनौती थियो । तर, अहिले उनीहरू कोशी टप्पुको प्राकृतिक परिवेशसँग पूर्ण रूपमा घुलमिल भइसकेका छन् । उनले भने, ‘यहाँ स्थानान्तरण भएका दुवै गैँडा अब हुर्केका छन् ।’
कोशी प्रदेशका सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सप्तरीमा फैलिएको १७५ वर्गकिलोमिटर क्षेत्रफलको कोशी टप्पु वन्यजन्तु आरक्षको वेटल्यान्ड र विशाल घाँसेमैदान गैँडाका लागि अत्यन्त उपयुक्त रहेको आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादव बताउँछन् । उनी भन्छन्, ‘दुवै गैँडा प्रजननका लागि उपयुक्त भइसकेका छन्, तर भाले गैँडा छैन । अब ल्याउने तयारीमा छौँ ।’ आरक्षको पथरी सेक्टरमा उनीहरूका लागि १६ फिट अग्लो र ८५ फिट लामो सुरक्षित इन्क्लोजर निर्माण गरिएको छ । दैनिक चरिचरणपछि त्यहीँ विश्राम गराइन्छ । तर, अहिले जवान दुवै पोथी गैँडा इन्क्लोजर तोडेर बाहिर निस्कने गरेका छन् ।
प्रमुख साहका अनुसार भाले गैँडाका लागि अर्को इन्क्लोजर पनि तयारी अवस्थामा राखिएको र नयाँ अर्को थप इन्क्लोजर पनि निर्माण गर्ने तयारी भएको छ । उनले भने, ‘केही समयअघि कोशी टप्पुमा स्थानान्तरण गरिएको भाले गैँडा ‘मेघौली’लाई भने पुनः फर्काइएको छ । पश्चिम चितवनको मेघौलीबाट ०७४ मा उद्धार गरिएको मेघौली आरक्षको घाँसेमैदानभन्दा गाउँतिर डुल्न रुचाउने भएपछि पुनः चितवन लगिएको हो । प्राकृतिक वासस्थानभन्दा मानव बस्तीमा बस्न रुचाएको भन्दै मेघौलीलाई फर्काइएपछि नयाँ ल्याउने तयारी रहेको छ ।’
दुवै गैँडाको दिनचर्या अहिले लगभग निश्चित छ । बिहानदेखि बेलुकीसम्मै घाँसेमैदानमा चरिरहन्छन् । साहका अनुसार पोथी गैँडा चार वर्ष र भाले गैँडा करिब ६ वर्ष पुगेपछि प्रजननका लागि योग्य हुन्छन् । पुष्पा र अञ्जली दुवै अहिले प्रजननयोग्य छन् । अब भाले गैँडा ल्याएर प्रजनन प्रक्रिया सुरु गर्ने योजना रहेको साहको भनाइ छ ।
कोशी टप्पुलाई अर्ना मात्र होइन, गैँडा र हात्ती अवलोकनको प्रमुख गन्तव्य बनाउने दीर्घकालीन योजनाअनुसार गैँडा स्थानान्तरण गरिएको थियो । त्यसका लागि अहिलेको भन्दा ठुलो घाँसेमैदानलाई घेराबेरा गरेर सुरक्षित वासस्थान तयार पार्ने तयारी भइरहेको छ । पुष्पा र अञ्जली दुवै टुहुरा अवस्थामा उद्धार गरिएका गैँडा हुन् । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा मानिसको स्याहारमा हुर्किएपछि उनीहरूलाई कोशी टप्पु सारिएको थियो । बर्दिया र शुक्लाफाँटामा स्थानान्तरण गरिएका गैँडाबाट अपेक्षित प्रजनन सफलता नआइरहेका वेला कोशी टप्पुमा भने संरक्षणकर्मीहरू आशावादी छन् ।