राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विद्यमान घटनाक्रमका विषयमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले जिम्मेवार ढंगले भूमिका निर्वाह गरिरहेको बताएका छन्।सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले नै घटनाको समीक्षा गरी कुनै अवधारणा बनाउने निष्कर्षमा राजनीतिक दलहरू नपुगेको बताए। आवश्यक परे सरकारलाई ध्यानाकर्षण गराउने पनि उनले स्पष्ट पारे।
लामिछानेले राजनीतिक दलहरूको प्रतिस्पर्धाको मैदान फरक भए पनि राष्ट्रिय महत्त्वका विषयमा शीर्ष नेताहरूले साझा रूपमा छलफल गरिरहेको उल्लेख गरे। उनले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भन्दै घटनाको सुरुवातमै अन्तिम निष्कर्षमा पुग्न नहुने धारणा राखे।
उनले सामाजिक सदभाव कायम राख्ने गरी सबै पक्षले संयमित भूमिका खेल्नुपर्नेमा जोड दिए। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन भन्दै उनले नागरिकको ज्यान गएको घटनामा सरकार जिम्मेवार बन्नुपर्ने बताए। लामिछानेले अफवाहको पछि नलाग्न सबैलाई आग्रह गर्दै प्रशासनलाई निष्पक्ष रूपमा छानबिन गर्न दिनुपर्ने बताए। ‘अफवाह सत्य हो कि होइन भन्ने कुरा छानबिनबाट स्पष्ट हुन्छ,’ उनले भने।
उनले सामाजिक सदभाव कायम राख्न सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका अझ बढी जिम्मेवार र महत्त्वपूर्ण रहेको पनि उल्लेख गरे।