नयाँ सुविधासहित नेपाल टेलिकमले ल्यायो मनसुन अफर

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

नेपाल टेलिकमले मनसुन अफर ०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधा सार्वजनिक गरेको छ । टेलिकमले केही थप सुविधासहितका नयाँ प्याकेज सञ्चालनमा ल्याएको छ भने पहिलेदेखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजहरूलाई निरन्तरता दिएको जनाएको छ । यो अफर मंगलबारबाट लागू भएको छ । 

टेलिकमका अनुसार पोस्टपेड ३७३ र ४९९ रुपैयाँका प्याक उपलब्ध हुनेछन् । ३७३ मा ३० दिन समयावधि भएको प्याकमा ६ जिबी डेटा, चार सय मिनेट अल–नेट भ्वाइस कल र ५० वटा अल–नेट एसएमएस पठाउन सकिनेछ । त्यसैगरी, ४९९ मा १० जिबी डेटा, ५०० मिनेट अल–नेट भ्वाइस कल र १०० वटा अल–नेट एसएमएस पठाउन सकिने टेलिकमले जानकारी दिएको छ । 

पोस्टपेडका सजिलो अनलिमिटेड प्याकअन्तर्गत थप सुविधासहित ६९९, ७९९, ९९९ रुपैयाँका प्याक पनि उपलब्ध हुनेछन् । यी प्याकमा क्रमशः २, १० र १५ जिबी डेटा पाइनेछ । यी सबैमा अनलिमिटेड कल, एसएमएस सुविधा पनि समावेश छ । 

त्यसैगरी, अलि बढी डेटा प्रयोग गर्ने ग्राहकका लागि १,४९९ मा अनलिमिटेड भ्वाइस, ५०० जिबी डेटा र ३५० एसएमएस तथा १,९९९ रुपैयाँमा उपलब्ध हुने एक्जिक्युटिभ प्याकअन्तर्गत अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा र ५०० एसएमएस सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ । 

प्रिपेड ग्राहकले ९९ रुपैयाँमा एक दिन समयावधिको ८ जिबी र १९९ मा सात दिन समयावधि भएको २० जिबी डेटा पाउनेछन् । यस्तै, सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई थप आकर्षक बनाइएको टेलिमकमो दाबी छ । जसअनुसार ९९९ र १,४९९ का प्याकमा मासिक ४५० र ५०० जिबी डेटा प्राप्त गर्न सकिनेछ । कल र एसएमएसका सुविधा पनि रहनेछन् । 

सुझावित समाचार