मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

सुनसरी घटनापछि शान्ति र सामाजिक सद्भाव कायम राख्न सरकारको आह्वान

सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो।

प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिअनुसार घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत गरिनेछ।

भेप तस्करीमा सघाउने सशस्त्रका इन्स्पेक्टर कारबाहीमा, नेपाल प्रहरी र भन्सारका कर्मचारीको भूमिकामाथि भने भएन छानबिन

चीनबाट हुँदै आएको विद्युतीय चुरोट (भेप) तस्करीमा सुरक्षा निकायकै मिलेमतो देखिएको छ । तस्करीमा सघाएको आरोपमा सशस्त्र प्रहरी बलले मुस्ताङको नेचुङ बिओपीका तत्कालीन प्रमुख रहेका इन्स्पेक्टर वैकुण्ठ घिमिरेलगायतका प्रहरीलाई कारबाही गरेको छ ।

गत १ जेठमा मुस्ताङमा बरामद भेप तस्करीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको मिलेमतो देखिएको हो । भन्सार नाकाबाट छुटेको गाडी पछि लोमाङथान– २, एक्लेभट्टीबाट बरामद भएको थियो । नक्कली प्रज्ञापनपत्रका आधारमा दुईवटा गाडीमा राखेर भेप तस्करीको प्रयास भएको थियो ।

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइएको बताएका छन्। प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा यो बताएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै प्रधानमन्त्री शाहलाई बधाई सन्देश पठाउने क्रममा भारत भ्रमणको निम्तो दिइसकेका थिए।

सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेको अपिल, सुनसरी घटनाका दोषीमाथि कारबाहीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीसहित नेपालका पूर्वी जिल्लामा हालै भएका संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टी सभापति रवि लामिछानेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।

श्रेष्ठको निधनले नेपाली कांग्रेससहित नेपाली राजनीतिक क्षेत्रमा एक अनुभवी नेताको अभाव भएको छ। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका श्रेष्ठलाई कांग्रेसले हालै मात्र वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो।

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, सुनसरी घटनाबारे छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपा सचिवालयका अनुसार बैठक बिहान ८ बजे सिंहदरबारस्थित प्रतिनिधिसभाको लेखा समितिको बैठक कक्षमा बस्नेछ। छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई समेत आमन्त्रण गरिएको छ।

सुक्खा पहिरो खस्दा मंगलबार मात्रै तेस्रोपटक अवरुद्ध भयो मुग्लिन–नारायणगढ सडक

देशकै सबैभन्दा व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा मंगलबार एकै दिन तीन पटक सुख्खा पहिरो खसेपछि रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मानवीय जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार कर्णालीको मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन्। उनी कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन्।

शाहीले नेकपा १४ र एमालेको १० सांसदको समर्थनसहित मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेको त्यहीअनुसार शाहीलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी मनमाया काउचाले बताइन्।

मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउँदै लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

लुम्बिनी प्रदेशमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका छन्। केन्द्रीय तहमा प्रदेश सरकार सञ्चालनका लागि एमाले र नेकपाबिच नयाँ समीकरण बनेपछि लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिएको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्।

चिकित्सक तथा स्वास्थ्यकर्मीको माग सम्बोधन गरी सेवा नियमित गर्न गगन थापाको आग्रह

नेपाली कांग्रेसका सभापति  गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह तत्काल नियमित गर्न सरकारसँग आग्रह गरेका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा साउन ९ गते कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पताल तोडफोडको घटना निन्दनीय भएको भन्दै थापाले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन्।

सुझावित समाचार