मलामी नहुँदा खोलाकिनारमै गाडियो लालमतीलाई

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण
मलामी नहुँदा खोलाकिनारमै गाडियो लालमतीलाई

बैतडीको पाटन नगरपालिका– ५, सिमपानीस्थित लालमती कोलीको घर

  • बैतडीको पाटन नगरपालिका– ५, सिमपानी गाउँमा पुरुषका नाममा दुई वृद्ध र तीन बालक मात्र थिए । अन्ततः तिनै दुई वृद्ध र तीन बालक गरी पाँचजनाको टोलीले जसोतसो शव घाटसम्म पुर्‍यायो । शव जलाउन दाउरा बोक्ने र चिता बनाउने मानिस थिएनन् । पर्याप्त मलामी नभएपछि उनीहरू संस्कार बदल्न बाध्य भए, शव जलाउनुको साटो खोलाको किनारमा खाल्डो खनेर गाडे । र, फर्किए ।

मानिस जीवनभर जुन धर्म, संस्कृति र परम्परामा हुर्कन्छ, मृत्युपछि त्यसैअनुसार उसको अन्तिम बिदाइ होस् भन्ने चाहन्छ । तर, सुदूरपश्चिमका पहाडी गाउँमा तीव्र रूपमा बढेको वैदेशिक रोजगार र बसाइँसराइले मृत्युपछि रीतिअनुसार दाहसंस्कार पाउने अधिकारसमेत खोस्न थालेको छ ।

यस्तै एउटा हृदयविदारक घटना बैतडीको पाटन नगरपालिका– ५, सिमपानी गाउँमा घट्यो । गत ५ साउनमा ६० वर्षीया लालमती कोलीको घरमै ज्यान गयो । सनातन हिन्दु धर्म र स्थानीय रीतिअनुसार लालमतीको शव जलाएर अन्त्येष्टि गरिनुपर्थ्यो । तर, १५ परिवार रहेको सिमपानी गाउँका १३ परिवारका पुरुष रोजगारीका लागि सीमापारि भारतमा थिए । गाउँमा पुरुषका नाममा दुई वृद्ध र तीन बालक मात्र थिए ।

दिन ढल्दै थियो, पानी दर्किरहेको थियो । शव जलाउन दाउरा बोक्ने र चिता बनाउने मानिस थिएनन् । अन्ततः तिनै दुई वृद्ध र तीन बालक गरी पाँचजनाको टोलीले जसोतसो शव घाटसम्म पुर्‍यायो । तर, पर्याप्त मलामी नभएपछि उनीहरू संस्कार बदल्न बाध्य भए, शव जलाउनुको साटो खोलाको किनारमा खाल्डो खनेर गाडे । र, फर्किए ।

‘दिन ढल्दै थियो, पानी परिरहेको थियो,’ मृतकका आफन्त नरेश कोलीले दुःखेसो सुनाए, ‘मलामी पाँचजना मात्र भएपछि शव जलाउन सकिएन । हाम्रोमा गाड्ने चलन त थिएन, तर गाउँमा मान्छे नै नभएपछि परम्परा तोडेर खाल्डोमा पुर्न बाध्य भयौँ ।’

गाउँमा सिकर्मीको काम गर्ने नरेशका अनुसार उनी र लोकेन्द्र कोली गरी दुईजना वृद्ध मात्र गाउँमा छन् । दुवैजनाले स्थानीय केदारेश्वर मावि, दुर्गास्थानमा पढ्ने बालक रोशन, दिनेश र नरेन्द्रसमेतलाई लिएर पाँचजनाको टोली मलामी गएको थियो । 

तर, नियतिको क्रूरता यतिमा रोकिएन । खाल्डोमा पुरिएको शवलाई शनिबार परेको ठुलो पानीपछि आएको बाढीले बगाएर पुनः किनारमा निकालिदियो । नजिकै सानो खाल्डोमा पुरिएको शव बगेको खबर प्रहरीसम्म पुगेपछि इलाका प्रहरी कार्यालय पाटनको टोली पुगेर सोधपुछ गर्दा गाउँको कारुणिक यथार्थ बाहिर आएको हो ।

रित्तिँदै गाउँ, हराउँदै सहकार्य : १५ घर रहेको सिमपानीमा १३ घरका पुरुष कालापहाड
सिमपानी गाउँको यो घटना कुनै अपवाद होइन, बरु सुदूरपश्चिमका पहाडी बस्ती खण्डहर बन्दै गएको रित्तोपनको प्रतिनिधि चित्र हो । सिमपानीमा हाल दुई परिवारबाहेक अधिकांश सपरिवार भारत भासिएका छन् । गाउँमा बाँकी रहेका घरमा पनि बुढापाका, महिला र बालबालिका मात्रै छन् ।

पाटन नगरपालिका– ५ का वडाध्यक्ष फुनी बोहरा गाउँमा मलामी नभएर शव जलाउन नसकेको खबरले दु:खी छन् । ‘समयमै वडा कार्यालयमा खबर भएको भए कुनै उपाय खोज्न सकिन्थ्यो,’ उनले भने ।

यस्तै घटना गत वर्ष सिगास गाउँपालिका– १ मा पनि घटेको थियो । ६१ वर्षीया माना दमाईंको निधन हुँदा गाउँमा शव उठाउनेसम्म मानिस थिएनन् । अन्ततः २५० किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर र दोधारा–चाँदनीबाट आफन्त आएपछि दुई दिनपछि मात्रै उनको शवयात्रा सुरु भएको थियो ।

खण्डहर बस्ती र सामाजिक असन्तुलन
पहिले पुरुष मात्र कमाउन भारत (कालापहाड) जाने गर्थे । तर, पछिल्लो समय सिंगो परिवार नै गाउँ छाडेर हिँड्ने क्रम बढेको छ । यसले दुर्गम गाउँ मात्र होइन, सदरमुकामआसपासका बस्तीलाई समेत खण्डहर बनाउँदै लगेको छ ।

दशरथचन्द नगरपालिका– ८ को धौल्याली गाउँका ६८ परिवारमध्ये ४० परिवार गाउँ छाडेर गइसकेका छन् । तोली गाउँका १५ घरमध्ये पाँच घरमा मात्रै मानिस बस्छन् । छिमेकी भटाला गाउँका ७० परिवारमध्ये २५ परिवार, तल्लीआयत गाउँका ५१ मध्ये ३७ परिवारले घर छोडेको स्थानीय युवा हिम्मत चन्दले बताए । 

मानिसहरूले बस्ती छाडेपछि खेतबारी बाँझो छ । नयाँ बनेका घरवरिपरि झाडी पलाएका छन् भने पुराना घरका छाना भत्किएर माकुराको जालो मात्रै बाँकी छ ।

सडकको पहुँच भएको ठाउँमा मलामी थोरै हुँदा पनि शववाहन वा गाडीको प्रयोग गरेर आर्यघाटसम्म शव लैजान सजिलो भएको स्थानीयहरू बताउँछन् । तर, दुर्गममा बोकेर शव घाटसम्म लग्नुपर्ने अवस्था रहेको पुर्चौडी– ७ का दिनेश नागारीले बताए । ऐरी गाउँका ४५ परिवारमध्ये अधिकांश सपरिवार रोजगारीका लागि भारत पसेको र गाउँमा वृद्धवृद्धा तथा बालबालिका मात्र रहेको बताए । ‘कतिपय गाउँमा युवा नै छैनन् । महिला, वृद्धवृद्धा र बालबालिका मात्र छन्,’ नागारी भन्छन् ‘गाउँ रित्तिँदै गएपछि परम्परामा असर परेको छ, सामाजिक असन्तुलनको अवस्था सिर्जना भएको छ ।’ 

स्थानीय सामाजिक अभियन्ता करन दयाल भन्छन्, ‘पहिला पुरुष मात्र जान्थे, अहिले महिला र बालबालिकासहित सिंगो परिवार कालापहाड पस्न थालेका छन् । गाउँ शून्य बन्दै गएका छन् । चाडपर्व खल्लो भएका छन् । मानिसको अन्तिम संस्कारजस्तो संवेदनशील काममा समेत सामाजिक असन्तुलनको असर देखिन थालेको छ ।’
 

See More On

सुझावित समाचार