करेन्ट लागेका पुरुषको उपचारको क्रममा ज्यान गयो

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका रामेछापको उमाकुण्ड गाउँपालिका– १, गुम्देल लाह्छेवरका ४७ वर्षीय काजी कार्कीको उपचारको क्रममा मृत्यु भएको छ।

घरनजिकै रहेको नुप्चे जंगलमा गत चैत ३ गते घाँस काट्न गएका कार्कीलाई भुइँमा लत्रिएको राष्ट्रिय प्रसारणलाइनको तार छुँदा करेन्ट लागेको थियो। लिखु नदीस्थित भिजन हाइड्रोपावरको ३३ केभी प्रसारणलाइनको तार छुँदा विद्युतीय झट्काले कार्कीलाई करिब १५ मिटर तल भिरमा फालेको अवस्थामा फेला पारेको स्थानीयले बताएका छन्। 

उक्त स्थानबाट स्थानीयले घाइते कार्कीलाई तत्काल उद्धार गरी उपचारका लागि दोलखाको जिरी अस्पताल पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडाैंको केएमसी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए। 

राउतका अनुसार घाँस काट्न जंगल गएका कार्की लडेर अचेत अवस्थामा फेला परेको भनी स्थानीयले प्रहरीमा खबर गरेका थिए। पछि स्थानीयले कार्की आफैँ लडेको नभई विद्युतको करेन्ट लागी घाइते भएको भन्दै गत चैत ७ गते भिजन हाइड्रोपावरमा उचित क्षतिपूर्तिको माग राख्दै उत्पादन बन्द गराएका थिए।

सो घटनापछि स्थानीय र हाइड्रोपावरका कर्मचारीबिच गत चैत ९ गते घाइतेको उपचार र उचित क्षतिपूर्ति दिने सहमति भएपछि कार्कीको उपचार सुरु गरिएको थियो।

सुझावित समाचार