कांग्रेसको लडाइँ राजनीतिक र कानुनी मोर्चामा

आधिकारिकता माग्दै देउवा पक्षको सर्वोच्चमा पुनरवलोकन निवेदन

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समानान्तर गतिविधि गरिरहेको कांग्रेसको शेरबहादुर देउवा पक्षले राजनीतिक र कानुनी दुवै मोर्चाबाट सक्रियता बढाएको छ । राजनीतिक रूपमा २९ साउनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता गराएर कानुनी लडाइँ पनि थालेको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्चको फैसलाविरुद्ध इतर (देउवा) पक्षले बिहीबार पुनरवलोकनको निवेदन दर्ता गरेको हो । अब कांग्रेसको आधिकारिकता विवादको अन्तिम टुंगो सर्वोच्चबाटै लाग्ने भएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट दर्ता गरिएको पुनरवलोकन निवेदनमाथि तीन न्यायाधीशको इजलासले प्रारम्भिक सुनुवाइ गर्नेछ । पुनरवलोकन निवेदन तीनजना न्यायाधीशको इजलासले हेर्ने व्यवस्था छ । इजलासले पुनरवलोकनका लागि ‘निस्सा’ दिने वा नदिने निर्णय गर्नेछ । निस्सा दिए मुद्दाको पुनः सुनुवाइ हुनेछ भने नदिए सर्वोच्चको अघिल्लो फैसला नै अन्तिम हुनेछ ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पुनरावलोकन निवेदन दर्ता भएको र पोशि तोक्न बाँकी रहेको बताए । ‘निवेदन दर्ता भएको छ, तर पेसी तोकिएको छैन । यस्ता निवेदनमा तीन जना न्यायाधीशले पुनः सुनुवाइ गर्ने वा नगर्ने चेम्बरमै बसेर निर्णय दिनुहुन्छ ।’

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि त्यसविरुद्ध देउवा र खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वोच्चले गत ४ वैशाखमा थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिँदै आयोगको निर्णयलाई सदर गरेको थियो । न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्‍याएको थियो ।

त्यसयता देउवा पक्षले राजनीतिक र कानुनी दुवै मोर्चाबाट सक्रियता बढाएको छ । देउवा पक्षले सर्वोच्चको अघिल्लो फैसलामा तथ्य, प्रमाण र कानुनी व्याख्यामा त्रुटि भएको दाबी गर्दै पुनरवलोकनको माग गरेको छ । ‘फैसलामा गम्भीर कानुनी त्रुटि छन् । त्यसैले पुनरवलोकन आवश्यक छ र न्याय पाउनेमा हामी विश्वस्त छौँ,’ इतरपक्षका एक नेताले भने ।

कांग्रेको ‘एनसी फर एनसी’ अभियान घोषणा
प्रमुख प्रतिपक्षी दल कांग्रेसले जरा अभियान समापन गरेसँगै नयाँ अभियान घोषणा गरेको छ । ४४औँ बिपी स्मृति दिवसको अवसरमा राष्ट्रिय सभागृहमा बिहीबार आयोजित कार्यक्रममा ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा गरिएको हो ।

अभियान घोषणा गर्दै सभापति गगन थापाले अभियानको उद्देश्य ‘नेपाली कांग्रेस, फर नेसनल कज’ (एनसी फर एनसी) हुने बताए । उक्त अभियान २४ भदौमा बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर सुरुवात गरिने उनले बताए ।

अभियानले चारवटा क्लस्टरमा काम गर्ने थापाले बताए । उनका अनुसार पहिलोमा पार्टीका सदस्यहरूले रक्तदान, श्रमदानलगायत हुनेछ । दोस्रोमा वैयक्तिक सहयोग, तेस्रोमा नागरिक अभियान र चौथोमा सुशासन अभियान हुनेछ । यी काम अनिवार्य नभइै स्वैच्छिक हुने थापाले घोषणा गरे ।

‘पार्टीलाई जीवित राख्न, जनविश्वास पुनर्स्थापित गर्न यो अभियान सुरु गर्न लागिएको हो । अभियानको साझा उद्देश्य नागरिकको हितमा काम गर्ने हो,’ उनले भने । कांग्रेसलाई सत्ताको खेलमा मात्र सीमित नराखी सामाजिक परिवर्तनको संवाहक बनाउनुपर्ने बताए । 

आस्थासँग सम्झौता नगर्ने
कांग्रेस सभापति गगन थापाले चुनावमा हारिएला भन्ने डरले आस्थासँग सम्झौता नगर्ने बताएका छन् । राजधानीमा बिहीबार आयोजित विचार गोष्ठीमा थापाले एउटा चुनावबाट आत्तिने र मात्तिने पार्टी कांग्रेस नभएको बताए ।

विगतमा पार्टी इलेक्सन मेसिनजस्तो भएको स्मरण गर्दै थापाले अब नयाँ ढंगबाट अगाडि बढ्ने बताए । ‘कहिलेकाहीँ नेताले तर्साउन खोज्नुहुन्छ । हेरौँला चुनावमा भन्नुहुन्छ । हामी बिपी कोइरालाका कार्यकर्ता हौँ । हामी एउटा चुनावबाट मात्तिहाल्ने, एउटा चुनावबाट आत्तिइहाल्ने होइनौँ । हामी चुनाव हारिएला, तर आस्थासँग सम्झौता गर्दैनौँ,’ थापाले भने ।

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले युवाको भावनासँग बिपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने संकल्प गर्नुपर्नेमा जोड दिए । इतरपक्षले आलोचना गरेको विषयतर्फ इंगित गर्दै शर्माले कसैको आलोचना गरेर गन्तव्यमा पुग्न नसकिने बताए । ‘कसैले कतै भेला भएर एकदमै धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुंगा हानिराखेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ । मनाउनु छ बिपी कोइरालाको पुण्यतिथि, बिपीकै कुरा गरौँ । बिपीको विचार र संस्कारको,’ शर्माले भने । शर्माले विशेष महाधिवेशनबाट गगन थापालाई कांग्रेसको सभापति र देशको प्रधानमन्त्री बनाएर देशलाई बदल्ने संकल्प गरेर हिँडेको पनि बताए ।

महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई मुलुककै सबैभन्दा बढी सदस्य भएको र पूर्ण रूपमा डिजिटल नेटवर्कमा जोडिएको पार्टी बनाउने अभियान सुरु भएको बताए । सदस्यता वितरण र व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन गरिएको उनले बताए । विगतमा कांग्रेसभित्र सदस्यता वितरणलाई लिएर हुने विवाद अब अन्त्य भएको उनले दाबी गरे ।

अब नयाँ सदस्यता पूर्ण रूपमा डिजिटल माध्यमबाट लिने व्यवस्था गरिएको पनि उनले बताए । ‘अब कांग्रेसका हरेक सदस्यसँग आफ्नै डिजिटल आइडी हुनेछ । नेपाली कांग्रेसका सबै सदस्य एउटै डिजिटल नेटवर्कमा जोडिनेछन्,’ उनले भने, ‘१८ वर्ष पुगेका र राजनीतिक दलको सदस्य बन्न योग्य सबै नेपालीका लागि कांग्रेसको ढोका खुला रहेको छ ।’

श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा
सभापति गगन थापाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन् । केही दिनमा बस्ने केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउने गरी वरिष्ठ नेता बनाउने निर्णय भएको थापाले बताए । श्रेष्ठ क्यान्सरको उपचारका लागि अस्पतालमा छन् । अस्पतालमै गएर श्रेष्ठलाई वरिष्ठ नेता बनाउने वचन दिएको थापाले बताए ।

‘इलेक्सन ब्युरो’मा परियार 
कांग्रेसले ‘इलेक्सन ब्युरो’को उपसंयोजकको जिम्मेवारी पूर्वसहमहामन्त्री एवं केन्द्रीय सदस्य जीवन परियारलाई दिएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उपसभापति एवं ब्युरो संयोजक पुष्पा भुसालले सभापति गगन थापाको परिकल्पनाअनुसार इलेक्सन ब्युरो गठन गरिएको र उपसंयोजक परियारलाई बनाइएको बताइन् । इतरपक्षका नेता डा. शेखर कोइरालानिकट मानिएका परियारलाई सभापति थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । सम्बन्धित विषयका विज्ञ केन्द्रीय सदस्य र प्रविधिसँग जोडिएका युवालाई ब्युरोमा राखिने बताइएको छ ।
 

सुझावित समाचार