- कांग्रेस इतरपक्षले पार्टी संस्थापक बिपी कोइरालाको सम्झनामा बुधबार गरेको कार्यक्रमबाटै आह्वान गर्यो २९ साउनमा राष्ट्रिय कार्यकर्ता भेला, फुटको जिम्मा सभापतिले लिनुपर्ने नेताहरूको चेतावनी
कांग्रेस संस्थापक विश्वेश्वरप्रसाद कोइरालाले अँगालेको मेलमिलाप नीतिलाई कांग्रेसमा मात्रै होइन, नेपाली राजनीतिमै सकारात्मक उदाहरणका रूपमा लिने गरिन्छ । तर, बिपीले जन्माएको कांग्रेसमै बिपीकै सम्झनामा गरिएको कार्यक्रमबाट पार्टी फुटको शंखघोष गरिएको छ । यसको औपचारिक प्रक्रियाका लागि इतरपक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेको छ ।
बिपीको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा पूर्वउपसभापति प्रकाशमान सिंहले २९ साउनमा राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरिएको घोषणा गरे । उनी कांग्रेसका अर्का संस्थापक लौहपुरुष गणेशमान सिंहका छोरा हुन् । नेताहरूका अनुसार राष्ट्रिय कार्यकर्ता भेला डाक्नुको अर्थ संस्थापनसँग एकताको सम्भावना समाप्त भएको निष्कर्ष हो ।
‘सबैले निर्णय गर्न ढिला गर्यौँ भनेर भन्नुहुन्छ । त्यो होइन नि, हामीले त सकेसम्म मिलेर जानका लागि समय लिएको हो,’ सिंहले भने, ‘आज हामीले निर्णय गरेका छौँ– २९ गते राष्ट्रिय भेला हुन्छ । यो भेलापछि हामी आफ्नो बाटो लिन्छौँ ।’
‘भेलापछि आफ्नो बाटो लिने’ नेता सिंहको घोषणालाई हलमा खचाखच नेता–कार्यकर्ताले गडगडाहट तालीले अनुमोदन गरेका थिए । विशेष र नियमित महाधिवेशनको कारण पार्टी विभाजित अवस्थामा रहेको बताएका उनले सभापति गगन थापाले पार्टी कब्जा गरेको आरोप लगाए । इतरपक्षले सातै प्रदेशमा यसअघि नै कार्यकर्ता भेला गरिसकेको छ ।
पार्टी नेतृत्वले सहमतिका लागि कुनै प्रयास नगरेको भन्दै कार्यकर्ता भेलाअघि सहमति नभए अर्को पार्टी घोषणा गर्ने इतरपक्षका अन्य नेताहरूले पनि बताएका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एक रहने सम्भावना कमजोर हुँदै गएको बताए । बरु मर्न तयार हुने, तर पार्टीको सिद्धान्तलाई तिलाञ्जली दिएर कसैसँग आत्मसमर्पण नगर्ने उनको भनाइ छ । खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमिति ‘मर्ज’ नभएसम्म एकता नहुने स्पष्ट पारे ।
‘हामीले १४औँ महाधिवेशनबाट आएको कार्यसमितिलाई समायोजन गर्नुस् भनेका हौँ । कुनै पदको बार्गेनिङ गरेका होइनौँ, कसैलाई पदको आकांक्षा पनि छैन । के सबैलाई एकै ठाउँमा राख्नुस् भन्दा पद मागेको हो ? हामीले यसअघि नै सबै पदहरू पाइसकेका छौँ, हामीलाई पद चाहिएको छैन,’ खड्काले भने, ‘सम्मान, स्वाभिमान समाप्त पारेर, पार्टीको सिद्धान्तलाई तिलाञ्जली दिएर कसैसँग समर्पण गर्न सकिँदैन, बरु मर्न तयार भइन्छ ।’ खड्काले विभाजनको जिम्मेवारी सभापति थापाले लिनुपर्नेसमेत बताए । एकताका लागि अन्तिमसम्म लडिरहने भन्दै खड्काले सभापति थापाले नचाहेसम्म एकता सम्भव नभएको बताए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको उदाहरण लिँदै उनले पार्टीको भविष्य र एकताको सम्पूर्ण साँचो सभापतिकै हातमा रहेको बताए ।
‘गिरिजाबाबुले नचाहँदासम्म विगतमा फुटेको नेपाली कांग्रेस एक भएको थिएन, अहिले गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन । मैले सभापतिजीलाई भेटमै भनेको छु— पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा तपाईंको हातमा छ । आज मिलाउने निर्णय तपाईंले गर्ने हो, त्यो बुझ्नुहोला,’ खड्काले भने ।
कार्यक्रममा नेता डा. शेखर कोइरालाले निरंकुशताको अन्त्यका लागि जन्मिएको पार्टीभित्र निरंकुशता बढ्दै गएको भन्दै पार्टी नेतृत्वको खुलेर आलोचना गरे । ‘अहिले पार्टीमै निरंकुशता जन्मिन लागेको छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘कांग्रेसको आदर्श बिपीले प्रतिपादन गरेको विचार प्रजातान्त्रिक समाजवाद हो, के कांग्रेसले यो विचार छोडेको हो ?’
कोइरालाले पनि सभापति थापाले पार्टी एकताको पहल नगरे त्यसपछि निम्तिने अवस्थाको जिम्मेवारी उनी स्वयंले लिनुपर्ने चेतावनी दिए । ‘कथंकदाचित सभापतिले पहल गर्नुभएन भने त्यसको सम्पूर्ण जिम्मेवारी उहाँ आफैँले लिनुपर्छ । सभापतिजी, बिपीको विचार सम्झिनुस्, व्यक्तिवादी नबन्नुस्,’ उनले भने ।
विशेष महाधिवेशनमा गगन थापाले सामाजिक लोकतन्त्रको कुरा गरेकोमा पनि कोइरालाले असन्तुष्टि जनाए । उनले कांग्रेसको आदर्श र सिद्धान्त बिपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नै भएको दाबी गरे । उनले वडा सभापतिहरूलाई विनास्पष्टीकरण हटाएकोमा पनि आपत्ति जनाए । ‘नेपाली कांग्रेस पनि हुकुमी शासनको हिसाबले चलिरहेको छ । वडा सभापतिहरूलाई विनास्पष्टीकरण निकालिएको छ । त्यो हामीलाई सैह्य हुन सक्दैन,’ उनले भने ।
पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टी एकताका लागि राखेको प्रस्तावमा बेवास्ता गरे नयाँ पार्टी बनाएर जाने चेतावनी दिए । ‘हामीले सहमतिका लागि ल्याएका एजेन्डालाई एकताको आधार बनाउनुपर्छ । त्योभन्दा तलमाथि हुन सक्दैन । हामीले अत्यन्तै सामान्य माग राखेका छौँ । तर, सहमति गर्न किन हिचकिचाइएको ?’ उनले भने, ‘हामीले घोषणा गरेको राष्ट्रिय भेलासम्म पनि सहमति भएन भने नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ ।’ सभापति थापामा नेतृत्वमा हुनुपर्ने दूरदर्शिता नदेखिएको उनको आरोप छ ।
त्यस्तै, पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टी मिलाउन नेतृत्वले छाती ठुलो बनाउनुपर्ने सुझाए । विगतमा अहिलेभन्दा ठुलो विवाद भएको वेला पनि कांग्रेस मिलेको स्मरण गरे । ‘मैले कांग्रेसमा धेरै सभापतिहरू देखेको छु र उहाँहरूले पार्टी कसरी मिलाउनुहुन्थ्यो भन्ने पनि नजिकबाट हेरेको छु,’ उनले सभापति थापालाई लक्षित गर्दै उनले भने, ‘कृष्णप्रसाद भट्टराईले त विषपान गरेर पनि पार्टी एक बनाउनुभएको थियो ।’ असहमत पक्षलाई सहमतिमा ल्याएर मात्र १५औँ महाधिवेशन गराउन गच्छदारको आग्रह छ । ‘अदालतबाट आधिकारिकता पाएपछि पुराना कांग्रेस, नयाँ कांग्रेस र तपाईंसँग असहमत भएका कांग्रेसलाई नमिलाई अगाडि बढ्न खोज्नुभएको हो ? सबैलाई मिलाएर अगाडि बढ्नुस् र बलियो कांग्रेसको सभापति बन्नुस्,’ थापालाई उनको सुझाव थियो ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आन्तरिक असन्तुष्टि समाधानका लागि राखेको माग निकै सामान्य भए पनि नेतृत्वले सम्बोधन गर्न नचाहेको भन्दै असन्तुष्टि जनाए । ‘विशेष महाधिवेशन गरेर विघटन गरिएका साथीहरूलाई सँगै जोडिदिनुस् मात्र भनेका हौँ । यति सानो माग पूरा गर्न नेतृत्व किन तयार भइरहेको छैन ?’ उनले प्रश्न गरे ‘मुलुक र लोकतन्त्र संकटमा परेको यो घडीमा पार्टीलाई एक बनाउन किन कन्जुस्याइँ गरिँदै छ ?
बिपीपुत्रसमेत रहेका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक र नैतिक जिम्मेवारी सभापतिले लिनुपर्ने चेतावनी दिए । ‘पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ,’ उनले भने, ‘कांग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्न हुँदैन ।’ उनले बिपी कोइरालाको विचारलाई जीवन्त राख्नु आफ्नो पहिलो र अन्तिम दायित्व रहेको भन्दै इतरपक्षबाट नेतृत्वको जिम्मेवारी दिन पनि घुमाउरो प्रस्ताव गरे । ‘मलाई विश्वास गर्नुस्, म बिपीलाई जीवन्त राख्नेछु । कहिल्यै मर्न दिनेछैन,’ उनले भने । मुलुकले जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै कोइरालाले लामो निर्वासनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्केको स्मरण गरे ।
पूर्वसहमहामन्त्री प्रकाशशरण महतले पार्टीमा आफूहरूले बृहत्तर एकता खोजेको र त्यसका लागि १५औँ महाधिवेशन निष्पक्ष हुने वातावरण निर्माण गर्नुपर्ने बताए । त्यस्तै, नेता एनपी साउदले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकताबद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको बताए । पार्टी निर्माणमा लामो समय योगदान दिएका, जेलनेल भोगेका र संघर्ष गरेका पुराना नेता तथा कार्यकर्तालाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने उनको दाबी छ । नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन गरेर कांग्रेसमा विभाजन ल्याइएको दाबी गरे । थापाको नेतृत्वमा चुनावमा गएकाले पार्टी खरानी भएको उनको दाबी छ । नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले गगन थापा अन्यत्र कतैबाट सञ्चालित छन् भन्ने तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाको भनाइ अहिले आएर पुष्टि भइरहेको दाबी गरे ।
सदस्यता अद्यावधिकमा छुट्यो इतरपक्ष
१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकको कामसमेत संस्थापन पक्षले सम्पन्न गरेको छ । सदस्यता अद्यावधिकमा इतरपक्ष छुटेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, विजयकुमार गच्छदार, शशांक कोइराला, प्रकाशशरण महत, एनपी साउदलगायत नेताहरूले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् । यद्यपि, १५औँ महाधिवेशनका लागि उनीहरूले गत पुसअघि नै सदस्यता नवीकरण गरिसकेका थिए । बुधबार मध्यराति १२ बजेसम्म सदस्यता अद्यावधिक गरेकाहरू मात्रै १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने संस्थापन पक्षले स्पष्ट पारेको छ ।
सबै जिल्लामा संस्थापनको कार्यक्रम
बिपी स्मृति दिवसको अवसरमा संस्थापन पक्षले ७७ वटै जिल्लामा कार्यक्रम गरेको छ । राजधानीमा बुधबार ‘ग्रिन रन’ प्रतियोगिता गरेको छ भने बिहीबार विचार गोष्ठी गर्दै छ । ‘ग्रिन रन’ प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम, नरेन्द्रसिंह रावत द्वितीय, सञ्जय श्रेष्ठ तृतीय भएका छन् । यस्तै, गणेश सिंह चौथो, अमृत ठकुरी पाँचौँ र नागेश्वर अहिर छैटौँ भएका छन् ।
संस्थापनको जवाफ विधि, विधान नमान्ने छुट्दै जान्छन्, रोक्न सक्दैनौँ
१४औँ महाधिवेशनबाट निर्वाचित र विशेष महाधिवेशनबाट आएको कार्यसमिति मर्ज गर्नुपर्ने इतरपक्षको मागलाई संस्थापन पक्षले अस्वीकार गरेको छ । इतरपक्षले प्रज्ञा भवनमा गरेको कार्यक्रम गालीबाहेक केही नभएको संस्थापन पक्षको बुझाइ छ ।
‘त्यो कार्यक्रममा गालीबाहेक अरू केही देखिएन । मर्जको कुरा यो जुनीमा सम्भव छैन । पार्टीको विधान प्रतिगमनतिर फर्किँदैन । विधानको सर्वोच्चताभन्दा दायाँबायाँ केही पनि हुँदैन । विधानभन्दा बाहिर जाने अधिकार सभापतिलाई छैन । सबै विधि र विधानको सर्वोच्चतामा चल्नुपर्छ,’ कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले भने, ‘हामी विभाजित भएको पार्टीलाई एकता गर्दै छैनौँ । पार्टीको सत्ता चाहियो, हामी विधानभन्दा माथि छौँ भन्ने कुरालाई कसरी जायज मान्न सकिन्छ ? जसले विधान मानेन, निर्वाचन आयोगको निर्णय मानेन, सर्वोच्चको फैसला पनि मानेन र पार्टी विभाजनको धम्की दिइरहेको छ । यदि, विभाजित भयो भने सोही पक्षले जिम्मेवारी लिनुपर्छ । विधि, विधान र प्रक्रिया नमान्नेहरू छुट्दै जान्छन्, हामी रोक्न सक्दैनौँ ।’
बिपी स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा ‘ग्रिन रन’ प्रतियोगितासहित ७७ वटै जिल्लामा कार्यक्रम गरेको संस्थापन पक्षले बिहीबार प्रज्ञा प्रतिष्ठानमा विचार गोष्ठी गर्दै छ ।