फुटको सँघारमा कांग्रेस : नयाँ पार्टी गठनको गृहकार्यमा इतर पक्ष

साउन अन्तिमतिर राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

औपचारिक संवादहीनतामै पुगिसकेका संस्थापन र इतर पक्षका गतिविधिले कांग्रेसलाई फुटको सँघारमा पुर्‍याएको छ । ६ साउनमा बिपी स्मृति दिवस नै छुट्टै मनाउने घोषणा गरिसकेको इतर पक्षले आन्तरिक एकताको सम्भावना पनि करिब समाप्त भएको निष्कर्ष निकालेको छ ।

चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा गत शुक्रबार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति (इतर पक्षका पदाधिकारी र पूर्वपदाधिकारी)को विस्तारित बैठक बसेको थियो । उक्त बैठकमा नेताहरूले एकताप्रति आशा मारेको बताएका थिए ।

इतर पक्षका नेता मीन विश्वकर्माले भने, ‘अब कुनै त्यस्तो चमत्कार भयो भने मात्रै पार्टीभित्र मेलमिलाप र एकता होला । तर, अहिलेसम्मको स्थितिमा त्यो सम्भावना ९९ प्रतिशत समाप्त भएको अनुभव नेताहरूले सुनाउनुभएको छ । संस्थापनले हामीलाई पर्खाउनेबाहेक केही काम गरेन ।’

शुक्रबारको बैठकले ६ साउनमा बिपी स्मृति दिवस पारेर देशव्यापी कार्यक्रम गर्ने र सोही दिन कार्यकर्ता भेलाको मिति घोषणा गर्ने निर्णय गरेको छ । ‘राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय भएको छ, मिति भने तय हुन बाँकी छ,’ नेता विश्वकर्माले भने, ‘राष्ट्रिय भेलाले भावी नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, दर्शनका साथै सांगठनिक संरचना, वैधानिक व्यवस्थालगायत सबै तयारी गरेर जान्छ । उक्त भेलाले दिने म्यान्डेट हामीलाई सर्वोपरि हुन्छ, त्यसैअनुसार अघि बढ्छौँ ।’

इतर पक्षका अर्का एक नेताले साउनभित्रै राष्ट्रिय कार्यकर्ता भेला डाक्ने निर्णय भएको र उक्त भेलाले छुट्टै महाधिवेशनको निर्णय गरेर अघि बढ्ने बताए । ‘एक पक्ष छुट्टै हिँडेपछि अर्को पक्ष चुप बस्ने कुरा हुँदैन । हामी पार्टीभित्र आन्तरिक एकताको विषयमा धेरै लचिलो बन्यौँ । तर, अर्को पक्ष (संस्थापन)ले त्यसैलाई कमजोरी ठान्यो,’ ती नेताले भने, ‘अब राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निष्कर्षमा पुगेका छौँ । त्यो भेलाले बोल्ड डिसिजन लिन्छ । कांग्रेस एक रहने सम्भावना करिब–करिब सकियो भन्दा हुन्छ ।’

संस्थापनले १६–१९ असोजमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । हाल सदस्यता अद्यावधिक गरिरहेको संस्थापनले २ भदौमा वडा अधिवेशन गर्ने कार्यतालिका छ । आइतबारसम्म सदस्यता अद्यावधिकको समय रहेकामा त्यसपछि छानबिनलगायत काम हुने र महाधिवेशन प्रक्रिया अघि बढ्ने सहमहामन्त्री एवं क्रियाशिल सदस्यता व्यवस्थापन समिति सदस्य प्रकाश स्नेही बाउँछन् । तर, इतर पक्षबाट निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइराला, पूर्वसहमहामन्त्रीहरू डा. प्रकाशशरण महत, बद्री पाण्डे, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्यायलगायत नेता तथा कार्यकर्ताले सदस्यता अद्यावधिक नै गरेका छैनन् । इतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका १११ सदस्य बाहिरै रहेकाले विनासर्त हालको कार्यसमितिमा समायोजन हुनुपर्ने र १५औँ महाधिवेशनका लागि गत पुस मसान्तसम्मै क्रियाशील सदस्यता नवीकरण भइसकेकाले दोहोर्‍याएर अद्यावधिक गर्न नपर्ने बताउँदै आएको छ ।

तर, संस्थापनले विधान देखाउँदै त्यसलाई इन्कार गरेको छ । सदस्यता अद्यावधिक पनि अनिवार्य गर्नुपर्नेमा संस्थापनको कडाइ छ । यही विवादबिच सभापति गगन थापाले देउवा र कोइराला पक्षधर १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि विवाद झन् चर्किएको छ । संस्थापनले थप केही नेतालाई पनि मनोनयन गर्न सकिने भन्दै इतर पक्षलाई छलफलमा आउन भनेको छ । 

‘विधि–विधानमा टेकेर जे–जे गर्न सकिन्छ, त्यसका लागि तयार छौँ । विधानभन्दा बाहिर जाने कुरा हुँदैन । दुई कार्यसमिति समायोजन गर्नुपर्ने र सदस्यता अद्यावधिक नगरे पनि हुने भन्ने मागबाहेक अन्य विषय सम्बोधन गर्न सकिन्छ,’ सहमहामन्त्री स्नेहीले भने, ‘एकताको नाममा विधि–विधानलाई मिचेर जान सकिँदैन । मिल्न चाहने हो भने मिल्न नसक्ने अवस्था छैन । बहाना मात्रै खोज्ने हो भने त जति गर्दा पनि सकिँदैन ।’

गत १६ जेठमा उपसभापति विश्वप्रकाश शर्माले मिलेर अघि बढ्न भन्दै इतर पक्षलाई प्रस्ताव पठाएका थिए । त्यसपछि पूर्वकार्यवाहक सभापति खड्काले आठबुँदे र नेता शेखर कोइरालाले पाँचबुँदे प्रस्ताव पठाएका थिए । तर, संस्थापन पक्षले त्यसको कुनै औपचारिक जवाफ दिएको छैन ।

दुई पक्षको लामो संवादहीनताबिच दुवै पक्ष छुट्टाछुट्टै हिँड्ने आन्तरिक तयारीमा घनीभूत लागिरहेको एक नेताले बताए । उनका अनुसार विभाजनको अपजस आफूमा नआओस् भन्नेमा दुवै पक्ष सचेत हुँदै बाहिर एकतामै जोड दिँदै आएका छन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएर अघि बढेको अवस्थामा नयाँ दल बन्ने सम्भावनालाई नकार्न नसकिने बताउँछन् । ‘कांग्रेसमा विशेष महाधिवेशनबाट आएको नेतृत्वले खुला दिलले पहल नगर्दा समस्या देखिएको छ । संस्थापन पक्षले यो मान्छौँ, त्यो मान्दैनौँ भनेर सार्वजनिक रूपमा भन्ने होइन, संवादमा बसेर मिलाउने प्रयास गर्ने हो । अहिलेसम्मको स्थिति हेर्दा स्थानीय निर्वाचनसम्म कांग्रेस मिल्लाजस्तो देखिँदैन,’ उनले भने, ‘इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएर अघि बढेको स्थितिमा नयाँ दल बन्ने सम्भावनालाई नर्कान सकिँदैन ।’

‘पर्ख र हेर’को स्थितिमा शेखर
नेता डा. शेखर कोइराला ‘पर्ख र हेर’को रणनीतिमा छन् । पार्टी विभाजित हुने स्थितिमा आफू निरपेक्ष भूमिकामा रहने सन्देश उनले निकट नेताहरूलाई दिइसकेका छन् । पार्टी एकतामा सभापति थापाले आवश्यक पहल नलिएकोमा कोइरालाको असन्तुष्टि छ ।

‘डाक्टरसाब निरपेक्ष भूमिकामा हुनुहुन्छ । सभापतिले पहल गरे पार्टीलाई जोगाउन सकिन्छ भन्ने उहाँको भनाइ छ । तर, सभापतिले पहल नगरेकोमा उहाँ चिन्तित हुनुहुन्छ,’ कोइरालानिकट एक तेताले भने, ‘पार्टी विभाजित भए विराटनगरमै बस्नु भन्नुभएको छ ।’

६ साउनको बिपी स्मृति दिवसमा समानान्तर कार्यक्रम
कांग्रेसका संस्थापक बिपी कोइरालाको स्मृति दिवसको अवसर पारेर दुई पक्षले समानान्तर कार्यक्रम आयोजना गरेका छन् । संस्थापन पक्षले बिपी स्मृति दिवसकै अवसरमा ७७ वटै जिल्लामा जरा अभियानको समापन कार्यक्रम गर्दै छ । इतर पक्षले (देउवा र कोइराला)ले १६५ वटै निर्वाचन क्षेत्रमा बेग्लै बिपी स्मृति दिवस मनाउने घोषणा गरिसकेको छ ।

‘आइतबार (३ साउन)भित्र क्रियाशील सदस्यता वितरणलगायतका सम्बन्धित कार्य व्यापक रूपमा सम्पन्न गरी साउन ६ गते जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा व्यापक सहभागितासहित ‘जरा अभियान’को समापन कार्यक्रम जिल्ला कार्यसमितिको आयोजनामा गर्नुहुन अनुरोध गरिन्छ,’ कांग्रेस महामन्त्री प्रदीप पौडेलले जारी गरेको सर्कुलरमा भनिएको छ ।

बिपीको ६ साउन ०३९ मा निधन भएको थियो । कांग्रेसले हरेक वर्ष ६ साउनमा बिपी स्मृति दिवस मनाउँदै आएको छ । आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका बिपी ०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए । बिपीले अपनाएको मेलमिलाप नीतिको आज पनि चर्चा हुन्छ ।

इतर पक्षको निर्देशन– प्रज्ञा भवनमा एक हजार युवा उतार्नू
बिपी स्मृति दिवसका दिन प्रज्ञा भवनमा आयोजना गर्ने कार्यक्रममा एक हजार युवा उतार्ने इतर पक्षको तयारी छ । इतर पक्ष तरुण दलका नेताहरूसँगको छलफलमा नेता जितजंग बस्नेतले शक्ति प्रदर्शन आवश्यक भएको बताउँदै एक हजार युवा उतार्न निर्देशन दिएका हुन् । ‘मिल्दा पनि पार्टीमा वर्चस्व स्थापित गर्न सक्छौँ । नयाँ ढंगले जानुपर्ने अवस्थामा पनि युवा शक्तिकै बलमा जान्छौँ । ६ गतेको कार्यक्रममा एक हजार युवा उतार्नुस्,’ बस्नेतले भनेका छन् । विशेष महाविधेशनबाट सभापतिमा निर्वाचित गगन थापालाई अदालतले मान्यता दिएपछि तरुण दलका अध्यक्ष विद्वान गुरुङले राजीनामा दिएका थिए । त्यसपछि सभापति थापाले मनीष कोइरालालाई तरुण दलको अध्यक्षमा मनोनीत गरेका छन् । गुरुङ देउवा पक्षका हुन् ।

सुझावित समाचार