नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित नेबिस २०२६ घोषणा

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

नेपाल र संयुक्त राज्य अमेरिकाबिच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली–अमेरिकन बिजनेस एन्ड इन्भेस्टमेन्ट समिट (नेबिस) २०२६ को औपचारिक घोषणा गरेको छ।

आगामी सेप्टेम्बर २५ देखि २७ सम्म न्युयोर्क जेएफके मेरियट होटेलमा आयोजना हुने तीनदिने समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीति–निर्माता तथा नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ। 

समिट घोषणा कार्यक्रममा ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले नेबिस एउटा साधारण सम्मेलन मात्र नभई नेपाल र अमेरिकाबिच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान भएको बताए। अमेरिकामा रहेका नेपाली मूलका सफल व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूको ज्ञान, अनुभव र पुँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले नेबिस आयोजना गर्न लागिएको उनले बताए।

सम्मेलनमा नेपालका लगानी सम्भावना, अन्तर्राष्ट्रिय व्यापार तथा पुँजी साझेदारी, प्रविधि र एआई आधारित नवप्रवर्तन तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा विशेष छलफल हुनेछ।

कार्यक्रममा नेबिस २०२६ को आधिकारिक वेबसाइट सार्वजनिक गर्नुका साथै दर्ता प्रक्रिया पनि सुरु गरिएको छ। स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न स्टार्टअप साेकेस एन्ड प्रोडक्ट लन्चका लागि आवेदन दिन सक्नेछन्। आयोजकले प्रायोजन, प्रदर्शनी तथा रणनीतिक साझेदारीका लागि पनि अवसर खुला गरेको जनाएको छ।

सुझावित समाचार