नेपाली रुट्स समिट : मुलुकको विकासमा डायस्पोराको नयाँ भूमिकाबारे बहस

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

जर्मनीको म्युनिखमा दोस्रो ‘नेपाली रुट्स समिट २०२६’ सम्पन्न भएको छ। जर्मनी तथा युरोपभर रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र समुदायका अगुवाबिच बलियो सञ्जाल निर्माण गर्दै उनीहरूको ज्ञान, सिप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यसहित नेपाली रूट्सले समिट आयोजना गरेको हो।

समिटमा जर्मनीका विभिन्न सहरबाट आएकाहरूको उल्लेख्य सहभागिता थियो। कार्यक्रमको अध्यक्षता नेपाली रुट्सका अध्यक्ष डा. कृतन गौतमले गरेका थिए।

जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले आर्थिक कूटनीतिलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा डायस्पोराको ज्ञान, सिप र अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्नुपर्नेमा जोड दिए। उनले नेपाली रुट्सलाई नेपाली डायस्पोराको साझा मञ्चका रूपमा महत्त्वपूर्ण संस्था भएको बताए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका अध्यक्ष लोकमणि ढकालले नेपाली रुट्स र एनआरएनएबिच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्ताको आवश्यकता बुझ्न यस्ता संस्थाबाट सिक्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाली रुट्सका सचिव जितेन्द्र कसौधनले सहभागीलाई स्वागत गर्दै ‘नेपाली रुट्स जर्नल’ सार्वजनिक गरेका थिए। उनले विश्वभर फैलिएको नेपाली डायस्पोराबिच बलियो व्यावसायिक सञ्जाल निर्माण गर्नु समयको आवश्यकता भएको उल्लेख गर्दै नेपालसँग ज्ञान, प्रविधि, अनुसन्धान, उद्यमशीलता र लगानीका क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्ने लक्ष्य रहेको बताए।

समिटमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, स्वच्छ ऊर्जा तथा डायस्पोरा नेतृत्वजस्ता समसामयिक विषयमा छलफल भएको थियो। वक्ताहरूले व्यक्तिगत सफलतालाई सामूहिक उपलब्धिमा रूपान्तरण गर्न बलियो व्यावसायिक सञ्जाल, मेन्टरसिप र सहकार्य अपरिहार्य रहेको धारणा राखे।

छलफलका क्रममा नेपाली डायस्पोराको भूमिका रेमिट्यान्समा मात्रै सीमित नरहेको उल्लेख गर्दै ज्ञान, अनुसन्धान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामार्फत नेपाललाई थप योगदान दिन सकिने निष्कर्ष निकालिएको थियो। साथै, रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता र डायस्पोरा फन्डको प्रभावकारी परिचालनजस्ता नीतिगत विषयमा पनि सरकारको सक्रिय पहल आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

नेपालमा उद्यमशीलताको ठुलो सम्भावना रहेको उल्लेख गर्दै त्यसको विकासका लागि सरकार र डायस्पोराबिच हातेमालो आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

सुझावित समाचार