म्युनिखमा साहित्य र भजनको संगम, सुर र शब्दमा जोडियो नेपाली समुदाय

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

परदेशमा नेपाली भाषा, साहित्य, संस्कृति र आध्यात्मिक परम्पराको अनुभूति गराउने उद्देश्यसहित शनिबार म्युनिखमा साहित्य र भजनका दुई विशेष कार्यक्रम सम्पन्न भएका छन्। 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्स इभीको सहकार्यमा आयोजित ‘साहित्य सार २०२६’ तथा मेन्स रुम रिलोडेड (एमआरआर)को आयोजनामा भएको ‘भजन जर्मनी’ कार्यक्रमले प्रवासी नेपाली समुदायलाई सिर्जना, संस्कृति र आस्थासँग जोडेको छ।

म्युनिखस्थित आइनेवेल्टहाउसमा आयोजित कार्यक्रममा अनेसास जर्मनीकी अध्यक्ष सीमा ढुंगानाले प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानलाई नयाँ पुस्तासँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। साहित्यले पुस्ता, समुदाय र विचारलाई जोड्ने भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा ‘प्रवासमा नेपाली भाषा र साहित्य : चुनौती, अवसर र नयाँ पुस्ता’ विषयमा प्यानल छलफल गरिएको थियो। छलफलमा विदेशमा नेपाली भाषा संरक्षणको अवस्था, नयाँ पुस्तामा मातृभाषा हस्तान्तरण, साहित्य सिर्जनाका अवसर तथा चुनौतीबारे विचार आदानप्रदान गरिएको थियो। 

साहित्यिक प्रस्तुतिका क्रममा कविता, गीत, गजल र मुक्तक वाचन गरिएको थियो। कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र नेपाली भाषामा योगदानबारे परिचर्चा गरिएको थियो। गजलकार कपिल अर्यालले गजलको संरचना र लेखनका आधारभूत पक्षबारे जानकारीमूलक प्रस्तुति दिए। साहित्यिक हाजिरीजवाफले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

त्यसै दिन साँझ एमआरआरको आयोजनामा भएको ‘भजन जर्मनी’ कार्यक्रममा नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराको झल्को देखिएको थियो। सामूहिक भजन, भेटघाट र संवादले समुदायबीच आत्मीयता र एकताको भावना थप बलियो बनाएको सहभागीहरूले बताएका थिए।

सुझावित समाचार