नेपाली भाषा, साहित्य र नेपाली डायस्पोराबिच अर्थपूर्ण संवाद, ज्ञान आदानप्रदान तथा नेटवर्क विस्तार गर्ने उद्देश्यका साथ जर्मनीमा ‘साहित्य सार कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ।
नेपाली रुट्स इभी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीको संयुक्त आयोजनामा १ अगस्टमा सो कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाली भाषा, साहित्य, संस्कृति र साझा पहिचानलाई प्रवर्द्धन गर्दै जर्मनीसहित विभिन्न देशमा रहेका नेपाली समुदायबिच सम्बन्धलाई थप सुदृढ बनाउनु हो।
नेपाली रुट्सले लामो समयदेखि प्रोफेसनल नेटवर्किङ, करियर विकास तथा ज्ञान आदानप्रदानका माध्यमबाट विदेशस्थित नेपाली समुदायलाई जोड्ने र सशक्त बनाउने काम गर्दै आएको छ।
व्यावसायिक सफलतासँगै आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडिनु पनि उत्तिकै महत्त्वपूर्ण भएकाले साहित्यलाई साझा माध्यम बनाएर नेपाली समुदायलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा ‘साहित्य र डायस्पोरा’ विषयमा साहित्यिक प्यानल छलफल, कविता, गजल, गीत, मुक्तक र हाइकुलगायत विभिन्न साहित्यिक रचना वाचन, खुला अन्तर्क्रिया तथा सहभागीबिच नेटवर्किङको अवसर रहनेछ। साथै, सहभागीहरूबिच अनौपचारिक भेटघाट, अनुभव आदानप्रदान तथा सहकार्य विस्तार गर्ने वातावरण पनि तयार गरिने आयोजकले जनाएको छ।