गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शनिबारबाट चीनको ग्वान्झाओमा सुरु भएको छ । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यतामा सुरु भएको सम्मेलनमा विभिन्न दलका सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली नियोगका प्रमुख र गैरआवासीय नेपालीको उपस्थिति छ ।
सम्मेलनमा नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबिचको सम्बन्ध थप सुदृढ गर्ने, नेपालको आर्थिक विकासमा डायस्पोराको पुँजी, ज्ञान, सिप र अनुभव परिचालन गर्ने तथा एनआरएनएको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल हुने संघले जनाएको छ ।
सम्मेलनअन्तर्गत व्यापार, लगानी तथा लजिस्टिक क्षेत्रका अवसर, एसिया प्यासिफिक क्षेत्रका राष्ट्रिय समन्वय परिषद्को सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार तथा पुनः एकीकरण, नेपाली नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकार, पर्यटन प्रवर्द्धन, महिला तथा युवा नेतृत्व र एनआरएनएको ब्रान्डिङलगायत विषयमा विभिन्न सत्र सञ्चालन हुने संघले जनाएको छ ।