सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योग दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित परीक्षण उत्पादनको तयारी थालिएको छ । सुरुमा उद्योग र मेसिनरी मर्मत–सम्भार गरी परीक्षण उत्पादन गर्ने र त्यसपछि दीर्घकालीन सञ्चालनका लागि अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तयारी छ ।
अहिले नेपाली सेनाले दुई महिनाभित्रै उद्योगबाट परीक्षण उत्पादन गर्ने गरी मेसिनरी मर्मत तथा सरसफाइ, कच्चा पदार्थ खरिदलगायत कार्यलाई तीव्रता दिएको छ । त्यसका लागि सरकारले बजेट उपलब्ध गराएको छ । त्यस्तै, विद्युत्लगायत आवश्यक पूर्वाधार निर्माण तथा जडानको कामसमेत भइरहेको छ । नेपाली सेनाले परीक्षण उत्पादन गरेपछि हेटौँडा कपडा उद्योग दीर्घकालीन रूपमा सञ्चालन गर्ने सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने भएको छ ।
तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित दीर्घकालीन रूपमा पूर्ण क्षमतामा उत्पादन गर्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ । उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योगको परीक्षण उत्पादन र दीर्घकालीन सञ्चालनको स्पष्ट कार्यदिशासहितको प्रतिवेदन मंगलबार उद्योगमन्त्री यादवलाई बुझाएको हो । प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे विस्तृत खाका प्रस्तुत गरिएको छ ।
प्रारम्भिक कार्यका लागि ३३ लाख बजेट
सरकारले दिएको निर्देशनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नुपर्ने म्याद पाएको छ । सोही म्यादलाई ध्यानमा राखेर हाल तीव्र रूपमा काम अगाडि बढिरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ, जसले गर्दा प्रारम्भिक काम गर्न सहज भएको छ । नेपाली सेनाको प्राविधिक टोलीले परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकेको र सेनाको उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिन मर्मतको काम प्रारम्भ गरेको प्रतिवेदनमा उल्लेख छ ।
विद्युत् मर्मत सकियो, पूर्वाधार बन्दै
उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट ५० लाखको लागत अनुमान पेस भएको छ । सोही अनुमानका आधारमा पूर्वाधार मन्त्रालयले संरचनाहरू मर्मत गर्ने जिम्मेवारी लिएको छ । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हाल हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ र हालसम्म बिजुली मर्मतको कामसमेत सम्पन्न भइसकेको छ । तत्कालका लागि परीक्षण उत्पादनकै उद्देश्यले पुराना मेसिनलाई मर्मत गरेरै सञ्चालन गरिनेछ । परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ । प्रतिवेदन बुझ्दै उद्योगमन्त्री यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।