समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबिचको मर्जर सम्पन्न भएको छ । दुई कम्पनी एक–आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई शुक्रबारबाट पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल र वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले संयुक्त रूपमा मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ गरे ।
कार्यक्रममा कार्यकारी निर्देशकद्वय पौडेल र थापाले नियामक निकायले वित्तीय संस्थाहरूको यस प्रकारको कदममा सहयोग गर्ने र आगामी दिनमा समेत संस्थाहरूलाई उचित मार्गनिर्देशन दिने प्रतिबद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष अजयकुमार मिश्रले दुई संस्था मर्ज भई ठुलो भएको र अब सुदृढ एवं मजबुत संस्थागत सुशासन भएको बलियो वित्तीय संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता पेस गरे ।
पोखरा फाइनान्सका निवर्तमान अध्यक्ष राजकुमार गुरुङले वर्तमान आवश्यकता र राष्ट्र बैंकको नीतिअनुसार मर्जर गरिएको बताए । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव, नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष रजोजमान श्रेष्ठ, डेभलपमेन्ट बैंकर एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले समेत मर्जर सम्पन्न गरेकोमा दुवै संस्थालाई शुभकामना व्यक्त गरे ।