- कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा सुतिरहेका वेला मध्यरातमै खोला पसेर जलमग्न भएपछि सुकुमवासी परिवारका बालबालिकादेखि वृद्धवृद्धासम्म बल्लतल्ल बाहिर निस्किए, आश्रमबाहिर चिसोमा काँप्दै उभिएर रात कटाए, बिहान मात्रै पुग्यो प्रहरी
कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा शुक्रबार राति ६१ सुकुमवासी परिवारका करिब दुई सय सदस्य मस्त निद्रामा थिए । मध्यरातिदेखि ओइरिएको मुसलधारे पानीले बागमती उर्लियो, एक घण्टामै ‘होल्डिङ सेन्टर’ जलमग्न बन्यो । धन्न बालबालिकादेखि वृद्धवृद्धासम्म सबै वेलैमै बाहिर निस्किएर ज्यान जोगियो । भिजेका उनीहरू आश्रमको मूल गेटमा काँप्दै उभिएर रात कटाए । उद्धार गर्न भन्दै नेपाल प्रहरी र महानगर प्रहरीको टोली शनिबार बिहान मात्रै पुग्यो ।
सुकुमवासीलाई स्थायी बासको व्यवस्था मिलाउने आश्वासन दिएर सरकारले थापाथलीलगायत खोलाछेउका उनीहरूका टहरामा डोजर लगाएको थियो । स्थायी बासको व्यवस्था नगरुन्जेलका लागि भन्दै काठमाडौंका कीर्तिपुर र इचंगुनारायण, भक्तपुरको खरिपाटी र बोडे तथा काभ्रेको बनेपामा ‘होल्डिङ सेन्टर’मा राखेको थियो । तर, पछि प्रतिपरिवार २५ हजार एकमुस्ट र मासिक १५ हजारका दरले तीन महिनासम्म दिने निर्णय गरेर होल्डिङ सेन्टर छाड्न दबाब दिइरहेको थियो । कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका ६५ परिवारमध्ये पाँच परिवार कोही कोठा खोजेर, त कोही आफन्तकहाँ गएर बस्न थालेका थिए । कोठा नपाएका र सरकारी रकमले गुजारा चलाउन नसक्ने हालतका ६० परिवार खोलाछेउमै रात कटाउँदै थिए । सरकारले बस्तीमा डोजर लगाउँदा जोगाएका अलिअलि लत्ताकपडालगायत सरसामान पनि शुक्रबार रातिको बाढीले नास गर्यो ।
राधास्वामी सत्संग आश्रमका सेवक भीमप्रसाद पाण्डेका अुनसार रातभरि सुकुमवासी परिवारको बिचल्ली भएको र अधिकांशको सरसामान काम नलाग्ने गरी डुबेको जानकारी दिए । ‘यो आश्रम हरेक वर्ष यसैगरी डुबानमा पर्छ, यसपटक पनि दोहोरियो । मध्यरातदेखि नै सुकुमवासी परिवार र हामी आश्रम हेरचाह गर्नेहरू बाहिर सडकमा निस्किएर रात कटाउनुपर्यो,’ उनले भने, ‘खोलाछेउमा सुकुमवासी हरेक वर्ष डुबानमा परे भनेर स्थायी व्यवस्था गर्न हटाएको सरकारको भनाइ थियो । तर, उल्टै डुब्ने ठाउँमा ल्याएर एकपछि अर्को अमानवीय व्यवहार देखाएको छ, यो अति नै हो ।’ सुकुमवासीका टहरामा डोजर लगाएपछि चौतर्फी उठेका प्रश्नको १७ जेठमा संसद्को रोस्टमबाटै प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमवासीको स्थायी व्यवस्थापन गर्ने जवाफ दिएका थिए ।
सातजनाको परिवारसहित होल्डिङ सेन्टरमा बस्दै आएका सुवासदेव पासवान राति पसेको बाढीले अलिअलि भएको लत्ताकपडा पनि बिगारिदिएको बताउँछन् । ‘अन्त सर्छु भनेर कोठा खोज्दै हिँडेको दुई महिना भइसक्यो, तर भेटाइनँ । सातजनाको परिवार छ, महँगो डेरामा बस्न सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘राति बाढी आएर लुगाफाटो पनि सबै डुबायो । सरकारले स्थायी व्यवस्थापन नगरेर किन हामीमाथि अन्याय गरिरहेको छ ?’
अर्का सुकुमवासी रामकुमार राई पनि सरकारले आफूहरूमाथि दुस्मनसरह व्यवहार गरेको दुःख पोख्छन् । ‘नदीकिनारबाट सुरक्षित ठाउँमा लैजाने भनेर यस्तो डुब्ने ठाउँमा ल्याएर राख्यो । चार महिना हुन थालिसक्यो, तर अझै लालपुर्जा दिने कि स्थायी बास दिने स्पष्ट भनेको छैन,’ उनले भने, ‘आफ्नै नागरिकलाई सरकारले दुस्मनसरह व्यवहार गरिरहेको छ, यस्तो ठाउँमा हामी रहरले बसेका छौँ होला र ?’
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा ६५ परिवार सुकुमवासी राखिएको थियो । चार परिवार यसअघि नै कोठा खोजेर तथा आफन्तको शरणमा गइसकेका छन् । डुबानपछि शनिबार साँझसम्म ५० परिवारलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको छ भने बाँकी ११ परिवार जान इन्कार गरिरहेका छन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख मचाकाजी महर्जनले बाँकी परिवारलाई पनि आइतबारसम्म खरिपाटी नै लैजाने बताए । तर, २५ हजार बुझिसकेका परिवारलाई खान दिन नसक्ने पनि उनको भनाइ छ ।
‘हामीले २५ हजार दिएर होल्डिङ सेन्टर छाड्न भनिरहेकै थियौँ । तर, उनीहरूले छाडेका थिएनन् । यही अवस्थामा पानी पसेर डुबानमा पर्यो । उनीहरूलाई कोठा नभेट्दासम्मका लागि खरिपाटी सारेर बस्ने व्यवस्थापन गरेका छौँ । तर, खाना भने दिन सक्दैनौँ,’ उनले भने ।
सरकारको दबाबमा निस्किए अन्य होल्डिङ सेन्टरका सुकुमवासी
उपत्यकाका नदीकिनार क्षेत्रबाट हटाएपछि सरकारले लगत संकलन गर्दा वास्तविक सुकुमवासी संख्या दुई हजार ६०८ रहेको पत्ता लागेको थियो । तर, सरकारले काठमाडौंका कीर्तिपुर र इचंगुनारायण, भक्तपुरको खरिपाटी र बोडे तथा काभ्रेको बनेपामा ‘होल्डिङ सेन्टर’मा ३८८ सुकुमवासी परिवार मात्रै बसेका थिए । अन्य सुकुमवासी आफैँ डेरा खोजेर तथा आफन्तको शरणमा गएका थिए । तर, सरकारले ३८८ सुकुमवासीलाई पनि सही व्यवस्थापन गर्नुको सट्टा प्रतिपरिवार एकमुस्ट २५ हजार र तीन महिनासम्म मासिक १५ हजार (पाँचभन्दा धेरै सदस्य हुनेलाई एक सदस्यबराबर थप दुई हजार) दिने भनेर होल्डिङ सेन्टर छाड्न उर्दी जारी गर्यो ।
खरिपाटी होल्डिङ सेन्टर खाली भइसकेकोमा शनिबार कीर्तिपुरबाट बाढीपीडित सुकुमवासीलाई लगेर राखिएको छ । इचंगुनारायणमा अपांगता भएका र वृद्धवृद्धाका गरी ३३ परिवार राखिएको छ । बोडेको यसअघि नै खाली भइसकेको छ भने बनेपास्थित रेडक्रस भवनमा अब पाँच परिवार मात्र छन् । होल्डिङ सेन्टरबाट हटाउन सरकारले पछिल्ला दिन सुकुमवासी परिवारलाई खाना दिन पनि बन्द गरेको थियो ।
सरकारले १६ असारदेखि शनिबारसम्म एक हजार ७११ परिवारलाई २५ हजार वितरण गरिसकेको छ । फारम भर्ने एक हजार ७४६ थिए । अन्य परिवार बेखबर छन् ।